• बैशाख १३ २०८३, आईतवार

५१ कम्पनीको सेयर लगानी जोखिममा (सूचीसहित)

असार १ २०७८, मंगलवार

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएका ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएइको छ।

हाल ती कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले जनाएको छ।

बोर्डले विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको मूल्यवृद्धि तीन सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा कम्पनीहरु छनोट गरेको थियो।

बोर्डबाट गरिएको प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाका सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक-वितरण लगानीकर्ताहरुलाई जानकारी गराउनका लागि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ।