काठमाडौं । नेपाल तथा विश्वमा छरिएर रहेका मगर समुदायले आज उनीहरुको मुख्यपर्व भूमे पूजा मनाउँदैछन् । चर्चित पर्व भूमे १८ मगरात अन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा विषेशरुपमा मनाइन्छ भने दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ ।
रोजगारी तथा विविध कामका सिलसिलामा विदेशमा रहेका मगर समुदायका सदस्यले पनि आफ्ना पूर्खाको स्मरण गर्दै भूमे पर्व मनाउने गर्दछन् ।
रोजगारी तथा बसोबासका सिलसिलामा देशका विभिन्न भाग तथा शहरहरुमा रहेका मगरहरुले पनि सोही स्थानमा यो पर्व मनाउने गर्दछन् । कोरोना भाइरसको महामारीका कारण यसपल्टको भूमेपर्व भव्यतापूर्वक मनाउनेमा भने समस्या देखिएको छ ।
मगरहरु परापूर्वकादेखि नै प्रकृतिपूजक भएकोले उनीहरु पञ्चतत्व (वायु, जल, अग्नी, थल र सुर्य) बाट मानिसको शरिर बनेको भनी ठान्दछन् ।
भूमे पूजालाई खश नेपाली भाषीहरुले ‘बलपूजा’ भनेर पनि भन्ने गर्दछन् तर अधिकांश खाम मगरक्षेत्रमा यसलाई ‘भूमे पर्व’ नै भनेर चिनिन्छ । ‘भूमे’ भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रंस भएर आएको हो ।
खाममगर क्षेत्रका मगरहरु देवी देउताको भन्दा आफ्ना पूर्खा र प्रकृतिको बढी पूजा गर्दछन् वा उनीहरुलाई स्मरण गर्दछन् । भूमी बराह, सिद्ध बराह आदिको पूजा गर्नु यसका उदाहरणहरू हुन् ।
मगरहरुले मात्रै होइन मगरात क्षेत्रका अन्य समुदायका मानिसले पनि सिद्ध बराह र भूमे बराह पुज्ने गर्दछन् । त्यसकारण सो क्षेत्रका अन्य समुदाय पनि प्रकृति पूजक हुन् ।
हरेक वर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले वा वर्षे बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ र आफ्ना पूर्खा वा पूर्वजहरुले बाँच्नका लागि धर्तीमा गरेका संघर्षलाई स्मरण गरिन्छ । र मानव जाति तथा धर्तीका सारा प्राणी जगतलाई बाँच्ने आधार बनेका माथी उल्लेख गरिएका पञ्चतत्व (पानी, हावा, जमीन, आगो र सूर्य) लाई विषेशरुपमा पूजा गर्ने चलन रहिआएको छ ।
साथै अवसर पारेर साथै वर्षभरीको कामको थकान मेटाउने काम पनि हुन्छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्न र राम्रो खेतीपातीको कामना गर्दै भूमी (धर्ती) माताको असार मसान्तमा पूजा गरी करिब हप्ता दिनसम्म नाँचेर भूमे पर्व धुमधामसँग मनाइन्छ ।
मगरात क्षेत्रमा त्यसैबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लगाउने गरिन्छ । त्यसकारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् ।
अन्न जोगाउन प्रकृतिको पूजाः
असारमा खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ । मगर संघसँग सम्बद्ध कीर्तिमान पुन का अनुसार ‘खेतीपाती गर्दा केही कीरा–फट्यांग्रा पनि मरेका हुन सक्छन् ।
त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ ।’ बालीनालीमा कीरा नलागोस्, बाढीपहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन, जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ ।
असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको पाइन्छ । आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ । पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ ।
मगर संघसँग सम्बद्ध मनबहादुर पुनका अनुसार मगरहरुको मुख्य पर्व माघे संक्रान्ति हो र त्यसपछिको पर्व भूमे नै हो । पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको मानिँदै आएको छ । भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छन् ।
वर्षभरी अन्य पहिरन लगाउनेहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान दिने पटुकी, फेटा लगाउँछन् । मगर युवायुवतीदेखि वृद्धवद्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन् । नाच्दानाच्दै मगर खाम भाषामा दोहोरी पाि गाउँछन् ।
कसैले गत वर्ष भेटेको दिन सम्झना गर्छन् भने कसैले वर्षभरी भोगेका दुःखसुखका कुरा निकाल्छन् । पहाडी जिल्लाहरूमा महिलाले दुई दिन लगाएर जलजलाको बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ । पुरुषले पनि वनप्याज लिएर चौरमा छिल्ने र त्यही नाचगान गर्ने चलन छ ।
मगर खाम भाषामा वनप्याजलाई ‘नो’ भन्ने चलन छ । त्यसैले यसलाई खाम भाषामा ‘नोको बाङे नाच’ पनि भनिन्छ । नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम हुन्छ । जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनु पर्छ ।
नाचसँगै गाइने दोहोरीमा वर्षभरका दुःखसुखका कुरा आउने गरेको घोराही १० की पूर्णकुमारी पुन बताउँछिन् । यसरी नेपालको मगरात प्रदेशका मगर तथा अन्य समुदायले भूमे पर्व मनाउने गर्दछन् ।