२००७ सालमा राजा त्रिभुवन राजगद्धी छोडेर लैनचौरस्थित भारतीय दूतावासमा शरण लिन पुगे । भारतीय सेनाको जहाजबाटै दिल्ली पुगे । यता प्रधानमन्त्री श्री ३ मोहन शमसेर राणाले राजा त्रिभुवनलाई राष्ट्रघाति भन्दै राजगद्धी च्युतगरी उनै राजा त्रिभुवनका नाति ज्ञानेन्द्र शाहलाई राजगद्धीमा बसाले ।
मोहन शमसेर १०४ वर्षे जहाँनिया हुकुमी शासनका अन्तिम प्रधानमन्त्री थिए । राजा त्रिभुवनलाई राणा शाषणको अन्त्य गर्ने प्रमुख कमान्डरको रुपमा स्थापित गर्न खोजिएको छ । यद्यपि मोहन शमसेरले राजा त्रिभुवनलाई अराष्ट्रिय तत्व ठाने । विदेशी हरुससँग साँठगाठगरी देशको विरुद्ध षड्यन्त्र गरेको भन्दै दण्डित नै गरे ।
अर्थात् मोहन शमसेरले आफ्नो हुकुमी शासन हल्लिएको देखे । विदेशीले चलाएको नेपाली राष्ट्रियताको विरुद्धको षडयन्त्रको चाल ठाने । जनताका अधिकारसँग उनलाई कुनै मतलव थिएन । बरु तथाकथित राष्ट्रियताको कुराले भ्रम छर्न खोज, जुन पछिल्ला शाषक हरुले पनि पछ्याइरहेका छन् । नेपालको हावापानी र माटो सुहाउँदो नेपाली मौलिकता को शाणण व्यवस्थाको सिद्धान्त प्रतिपादान गर्दै जननिर्वाचित सरकारलाई अपदस्तगरी उदाएका राजा महेन्द्रको पञ्चायती व्यवस्था को जग नै राष्ट्रवाद थियो ।
एउटै भाषा, एउटै भेष, एउटै राजा एउटै देश भन्ने मुलमन्त्रका साथ महेन्द्रले शाषण गरे । पञ्चायत विरोधीहरु सबै अराष्ट्रिय तत्वमा गनिए । पञ्चायतले ३० वर्ष सम्म एकछत्र राज गर्यो । राष्ट्रियताको नारामा नै त्यो एकलौटी शाषण चलेको हो । २०४६ सालको परिवर्तन पछाडी पनि राष्ट्रवादको नारा चल्यो । नागरिकता सम्वन्धी विधेयक, टनकपुर सन्धी लगायत मुद्धाहरुमा राजनीतिक पार्टीहरु भित्र आन्तरिक रुपमा र पार्टीहरुका बिचमा राष्ट्रवादको बहस चलि नै रह्यो । माओवादीले त झन जनतन्त्र र राष्ट्रियताको लागि भनेर १० वर्ष जनयुद्ध नै लड्यो ।
विडम्बना ज्ञानेन्द्र शाहको कु र राजतन्त्र विरोधी आन्दोलन कै क्रममा माओवादी र संसदवादीहरुको १२ बुँदे समझदारी दिल्लीमा हुन पुग्यो । राजाको निरकुंश शासनले १२ बुँदेलाई विदेशी चलखेल देख्न थाल्यो । ऐतिहासिक २०६२र२०६३ को जनआन्दोलन माओवादी जनयुद्धका कारण सफल भयो । परिणाम स्वरुप ज्ञानेन्द्र शाह र २४० वर्षे शाहवंशीय राजतन्त्रको नै अन्त्य भयो ।
ज्ञानेन्द्र शाह र उनका अनुयायीलाई लागिरहेको छ की यो सबै विदेशी चलखेलले भएको हो । २०६४ सालमा गठन भएको ऐतिहासिक संविधानसभा संविधान जारी नगरिकन विघटन भयो । यस घटनालाई कतिपयले विदेशी षडयन्त्रको रुपमा बुझे । चुनाब मार्फत् २०७० सालमा दोस्रो पटक संविधानसभा गठन गरियो । एक जुगमा एक्चोटी आउने संविधान सभा नेपालमा ६ वर्ष पछि फेरि आयो ।
स्वभाविकरुपमा संविधानसभाबाट बन्ने नयाँ संविधानमा आफ्ना आफ्ना अधिकारको लागि सबै जाति, क्षेत्र, लिङ्ग, समुदायहरु उठे । सदियौंदेखि थिचिएका आवाजहरु निस्किन थाले । राज्यको पुनः संरचना गरेर ती आवाजहरुलाई सम्बोधन गर्ने नाटकको मञ्चन पनि गरियो । २०७२ संविधान सभाबाट नयाँ संविधान २०७२ जारी पनि गरियो । यो संविधानको समर्थनमा देशको कुनै कुनामा दिप प्रज्वलन गरियो भने विरोधमा कतै कफ्र्यु लगाइयो, मशाल जुलुस बालियो र ब्ल्याक आउट गरियो ।
भारतले नेपालको संविधान माथी असहमती राख्दै नाकाबन्दी गर्यो । भारतीय नाकाबन्दी राष्ट्रियता माथी भएको हस्तक्षेप लाग्यो भने कतिलाई कतिलाई आन्दोलन माथीको सद्भाव । नाकाबन्दीकारी शक्तिको विरुद्ध तत्कालिन नेकपा एमालेका अध्यक्ष खरोरुपमा उत्रिए । उनको राष्ट्रवादले २०७४ को चुनवमा झण्डै दुइतिहाई बहुमत ल्याउन सफल पनि भयो । यद्धपी यसमा ठूला दुई कम्युनिस्ट नामधारी पार्टीको चुनावी गठबन्धनले पनि काम गरेको थियो ।
आज नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रियता सम्वन्धीको दृष्टिकोणमा पूरा बद्लाव आएको छ । मुलत यहाँ राष्ट्रवादले सत्ता प्रप्त हुन्छ । राष्ट्रवादले नै सत्ता खोसिन्छ । अब राष्ट्रवादलाई कसरी बुज्ने ? मोहन शमसेरले देखेका राष्ट्रघाति त्रिभुवनलाई यो देशका राष्ट्रपिता भनियो । महान राष्ट्रवादी महेन्द्रको २०१७ सालको कदम पनि देखियो । भारतका तत्कालीन धानमन्त्री जवाहरलाल नेहरुले रमेशनाथ पाण्डेको दिल्ली भ्रमणको क्रममा वीपीलाई मात्रै हटाउने कुरा भएको थियो, व्यवस्था नै किन हटाएको ? भनी सोधेको थिए भनेर आफ्नो पुस्तक ‘राजनीति तथा कुटनीती’ मा उल्लेख गरेको घटनाले महेन्द्रको राष्ट्रियता झल्किन्छ ।
के सत्ता प्राप्त गर्ने र सत्ता गुमाउने साधन हो राष्ट्रवाद ? जुन कुरा आजपर्यन्त जारी छ । के हिजो माओवादीको सुरुङ युद्ध र केपीको नाकाबन्दीको विरोध सत्तामा जानकै लागि थियो ? प्रश्न उठेको छ । आज केपी ओली र राजेन्द्र महतोको कुरा पनि त्यही नै हो । राष्ट्रवाद के हो त ? के राष्ट्रवाद एउटा भाषा संस्कृति, नश्ल, जाति मात्रै हो ? नेपाल त विविधतता युक्त छ नी ।
पञ्चायतकालिन नारा अहिले पनि कार्यान्वयन गर्न खोज्ने ? राष्ट्र भूगोल हो, सिमाना हो तर राष्ट्रियता सबै संस्कृति, सबै जाति, सबै भाषा हो र सबै भेषभूषा हो । सबैको आत्मसम्मान हो, सबैको पहिचानलाई सम्मान गर्नु हो । इतिहासमा अरु भाषा, संस्कृति, जाति समुदाय लिङ्ग, क्षेत्रप्रति बर्बर दमन भएको छ । उनीहरुको आत्मसम्मानमा चोट पुगेको छ ।
क्षतिपूर्ती सहित आजको पुस्ताले इतिहासको गल्तीलाई सुधारी दबाइएका राष्ट्रियताहरुलाई वर्ग, लिङ्ग र समुदायहरुलाई न्याय गर्नुपर्छ । यसो गर्न सकिए मात्रै समग्र राष्ट्रियता एकीकृत हुन्छ । र आजको समयमा महेन्द्रको एकल जातीय राष्ट्रवाद काम लाग्दैन ।