बुटवल । बुटवलमा जुलोजिकल पार्क निर्माणको थालनी गरिने भएको छ । लुम्बिनी प्रदेशको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले बुटवलको रामापिथेकस जुलाोजिकल पार्कको प्रारम्भिक निर्माणको काम सकेर आगामी आर्थिक बर्षदेखि सञ्चालनमा ल्याइने बताएका हुन् ।
यस्तै उनले दिवा तथा रात्रीकालीन पर्यटन विकास गर्न प्रदेशका तीन सहरलाई टुरिज्म जोन अर्थात् पर्यटन क्षेत्र घोषणा गरी पर्यटन गन्तव्यको रुपमा विकास गरिने बताएका हुन् । उनले बुटवल, लुम्बिनी र नेपालगञ्जलाई पर्यटन क्षेत्रको रुपमा घोषणा गर्ने बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रमा ल्याएका कार्यक्रम यस्ता छन्ः
पर्यटन क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आर्थिक क्रियाकलापको माध्यमका रुपमा विकास गर्दै निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र एवम् सिमसार क्षेत्रमा पर्यापर्यटनको विकास गरिनेछ ।साहसिक, माइस, धार्मिक, सांस्कृतिक, कृषि, शैक्षिक, ग्रामीण लगायतका पर्यटन व्यवसायको विकास र विविधीकरण गरी प्रदेशमा रोजगारीको अवसर वृद्धि गरिनेछ। प्रदेशमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई आन्तरिक पर्यटनसँग जोड्नका लागि बिदा पर्यटन कार्यक्रम सञ्चालन गरिनेछ। पर्यटकीय सूचनालाई विद्युतीय सूचनामा आवद्ध गरी पर्यटन प्रवर्द्धन गरिनेछ।
रुपन्देहीको बुटवलमा अवस्थित रामापिथेकस जुलोजिकल पार्कू को प्रारम्भिक निर्माणको कार्य सम्पन्न गरी यसै वर्ष देखि आंशिकरुपमा सञ्चालनमा ल्याइनेछ। यस जुलोजिकल पार्कलाई आगामी ५ वर्षभित्र राष्ट्रको महत्वपूर्ण प्राणी उद्यान र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ।
नेपाल पर्यटन बोर्डसँग समन्वय गरी नयाँ पर्यटकीय उपजहरू सहितको पर्यटन विकासको प्याकेज तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारको माध्यमबाट प्रदेशमा परिमाणात्मक तथा गुणात्मक रुपमा पर्यटक आकर्षण गर्ने नीति लिइनेछ।
विश्व सम्पदा सूचीमा परेका र प्रसिद्ध धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा जैविक विविधता समेतका दृष्टिले मनोरम प्राकृतिक क्षेत्रहरू, हिलस्टेशन, गुफा, पाटन, तालतलैया, झरना, गढी, दरबार जस्ता महत्वपूर्ण स्थानहरुको पर्यटन प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिईनेछ। यस्ता महत्वपूर्ण सम्पदाहरूको जिर्णोद्बार तथा संरक्षण एवम् अध्ययन, अनुसन्धान र अभिलेखीकरणका कार्यक्रम सञ्चालन गरिनेछ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पाल्पाको श्रीनगर, रोल्पाको होलेरी र अर्घाखाँचीको नरपानीमा हिलस्टेशनको आवश्यक पूर्वाधार निर्माण कार्य आरम्भ गरिनेछ ।
होमस्टेको विकास मार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गरिनेछ।होमस्टेलाई स्थानीय संस्कृति, भेषभूषा, मौलिकता र परम्परागत पेशा, अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गर्न होमस्टे संचालकहरूको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
प्रदेशमा सहरी पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायी, स्थानीय तहको समन्वयमा दिवा तथा रात्रीकालीन पर्यटन गतिविधिलाई व्यवस्थापन गर्न “टुरिज्म जोन” घोषणा गरी लुम्बिनी, बुटवल र नेपालगञ्जलाई राष्ट्रिय स्तरको पर्यटन गन्तव्यको रुपमा विकास गरिनेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी क्षेत्र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने सम्भावनालाई दृष्टिगत गरी पर्यटन पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।
साहित्य, कला, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै संग्रहालयहरूलाई जानकारीमूलक र व्यवस्थित बनाउँदै लगिनेछ। प्रादेशिक कला, साहित्य र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि कानूनी तथा संस्थागत व्यवस्था गरी प्रादेशिक भाषा, साहित्य तथा कला प्रतिष्ठान स्थापना गरिनेछ ।
संग्रहालयहरूको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गर्दै लगिनेछ। साथै थारु र मगर भाषा एवम् संस्कृतिको जगेर्ना गर्न प्रदेशमा स्थापित थिएटरहरुमा सम्बन्धित समुदायको संस्कृति झल्काउने चलचित्र, वृत्तचित्र, नृत्य एवम् नाटक प्रदर्शन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
थारु संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्याउने उद्देश्यले दाङ जिल्लामा “वड घर” स्थापना गरिनेछ ।