• मंसिर ११ २०८१, मंगलवार

सुदूरपश्चिममा काँग्रेस तटस्थ बस्नुको अन्तर्य

जेष्ठ २५ २०७८, मंगलवार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज (मंगलबार) प्रदेश सभामा भएको मतदानबाट मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

नेकपा (एमाले)को आन्तरिक विवादका कारण भट्टले विश्वासको मत लिनु परेको थियो । प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेश गरे पश्चात् सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा विश्वासको मत पुगेको छ ।

यद्यपि मुख्यमन्त्री भट्टको पक्षमा विश्वासको मत पुगे पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वासको मत नदिई तटस्थ बसेको छ । उसले विश्वासको मतको प्रस्तावमा पक्ष वा विपक्ष दुवैमा मतदान नगरी तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १२ जना प्रदेश सभा सदस्य छन् । ती १२ जनामध्ये कोहीँ कसैले मुख्यमन्त्री भट्टको पक्ष वा विपक्षमा मतदान गरेनन् ।

सुदूरपश्चिम प्रदेश सभामा भएको मतदानबाट मुख्यमन्त्री भट्टको पक्षमा ३० मत र विपक्षमा ९ मत परेको छ । मतदानका लागि सहभागी हुने भन्दै ५१ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित भए पनि काँग्रेसका १२ प्रदेश सभा सदस्यले भने मतदान नगरी तटस्थ बसे ।

सुदूपश्चिममा सभामुखसहित एमालेका २५ जना प्रदेश सभा सदस्य छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १८ जना प्रदेश सभा सदस्य छन् भने ओली पक्षका जम्मा ७ जना प्रदेश सभा सदस्य छन् । ओली पक्षका ७ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गरेका थिए । त्यहाँ ओली पक्षको भन्दा पनि नेपाल पक्षका प्रदेश सभा सदस्यको बाहुल्यता रहेको छ ।

५३ सदस्यीय प्रदेश सभामा सत्तारूढ दल माओवादी केन्द्रका १२ जना प्रदेश सभा सदस्य छन् । नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का दुई जना प्रदेश सभा सदस्य छन् । उनीहरूमध्ये दुवै जनाले विपक्षमा मतदान गरेका हुन् । प्रदेशमा बहुमतको सरकार जुटाउन २७ जना प्रदेश सभा सदस्यको आवश्यक थियो । मुख्यमन्त्री भट्टलाई एमाले वरिष्ठ नेता नेपाल पक्षका १८ जना प्रदेश सभा सदस्यले मतदान गरेपछि उनको सत्ताले थप निरन्तरता पाउने भएको छ ।

पुनःस्थापित संसद् पुनः विघटन भए पश्चात् केन्द्रमा विपक्षी दलहरूको ध्रुवीकरण भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई (उपेन्द्र–बाबुराम) र एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) पक्षको संयुक्त ध्रुवीकरण भएको हो ।

केन्द्रको उक्त ध्रुवीकरणले सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारले नै निरन्तरता पाउने पक्का भएको छ । किनकि एमाले वरिष्ठ नेता नेपाल पक्षका १८ जना प्रदेश सभा सदस्यले नै मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सभामा आज मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली काँग्रेस तटस्थ बसेको छ । अब उप्रान्त सुदूरपश्चिममा काँग्रेस प्रतिपक्षमा उभिने भएको छ । हुन त केन्द्रको ध्रुवीकरणलाई आधार मान्ने हो भन्ने काँग्रेस तटस्थ बस्नु हुँदैन्थ्यो । तर, यसअघि मुख्यमन्त्रीलाई माओवादीसहित एमाले नेता नेपाल पक्षले विश्वासको मत दिने औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने या नदिने दुवै निर्णय गरेको थियो ।

सोही बमोजिम आज भएको प्रदेश सभामा मुख्यमन्त्रीको पक्ष वा विपक्ष दुवैमा मतदान नगरी तटस्थ बसेको छ । यसैबीच हामीले नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावललाई फोन सम्पर्क गरि किन तपाईंहरू तटस्थ बस्नु भएको हो ? भनेर खोधेका थियौँ । जवाफमा उनले भने, ‘हामी प्रमुख प्रतिपक्षी दल काँग्रेस प्रतिपक्षमै बस्ने हो । यद्यपि मुख्यमन्त्रीज्यूले विश्वासको मत दिएर सहयोग गर्नुपर्छ भन्दै आग्रह गर्नु भएकै हो । तर, हामी अहिले तटस्थ नै बस्ने निर्णय गर्यौं ।’ उनले यो भन्दा बढी बोल्न चाहेनन् ।

तथापि केन्द्रमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनःस्थापित संसद् दोस्रो पटक भंग गरेपछि प्रतिपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र–बाबुराम पक्ष र एमाले वरिष्ठ नेता नेपाल–खनाल पक्षलगायत अन्य पार्टीले ध्रुवीकरण गरेका छन् ।

यसअघि नै केन्द्रमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि माओवादी केन्द्रलगायत अन्य विपक्षी दलको ध्रुवीकरणले प्रस्ताव गरेका छन् । सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई काँग्रेसले मत दिने आँकलन गरिएको थियो ।