काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसले सत्तारोहण गरेको छ । आज (आइबार) उक्त प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएसँगै पहिलो पटक काँग्रेसले सत्तारोहण गरेको हो ।
सत्तारोहण गरेका नवनियुक्त दुई जना मन्त्रीलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । माओवादी केन्द्र तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार सत्तारोहणमा सहभागी काँग्रेसका दुई मन्त्रीमध्ये सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी र उर्जा तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन् ।
मन्त्रीद्धय बिसी र श्रेष्ठले सपथ खाएसँगै कर्णाली प्रदेश सरकारले आजबाट पूर्णता पाएको छ । योसँगै कर्णाली सरकारको मन्त्रालयको संख्या आठ पुगेको छ । गत बैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको काँग्रेसले पार्टीभित्र गृहकार्य भैरहेको भन्दै सरकारमा सहभागीता जनाएको थिएन । तर, आजबाट काँग्रेस पनि पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । २०७४ सालयता कुनै पनि प्रदेश सरकारमा नेपाली काँग्रेसले सत्तारोहण गरेको छैन । तथापि कर्णालीबाट पहिलो पटक सत्तारोहण सुरु गरेको हो ।
विश्वासको मत दिए लगत्तै काँग्रेस सरकारमा सहभागी हुने बताए पनि मुख्यमन्त्री शाहीले एउटामात्रै मन्त्रालय दिने बताएका थिए । त्यसपछि उसले एउटामात्रै मन्त्रालय दिएमा काँग्रेस सरकारमा सहभागी नहुने अडान राखेको थियो । त्यसपछि काँग्रेसले उक्त अडान राखेपछि माओवादी केन्द्रले मन्त्रीमा सिफारिस गराएका विन्दमान बिष्टलाई रोकेर काँग्रेसलाई नै दुईवटा मन्त्रालय दिइएको छ ।
कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित ३ जना र नेकपा (एमाले)बाट फ्लोर क्रश गरि मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् भने आज नेपाली काँग्रेसबाट दुई जना मन्त्री थपिएका छन् । योसँगै कर्णाली सरकारमा आठवटा मन्त्रालय र आठ जना मन्त्री हुनेछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्र सरकारमा सहभागी छैन । यसअघि देशका सातवटै प्रदेश सरकारमा पनि काँग्रेस सहभागी भएको थिएन । यद्यपि केन्द्र सरकारको पुनर्गठन भएसँगै प्रदेश सरकारमा पनि यसको प्रत्यक्ष वा परोक्ष प्रभाव परेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उनका अनुसार पहिलो पटक संसद् विघटन भएयता केन्द्रदेखि प्रदेश सरकारमा अस्थिरता छाएको छ । अब उप्रान्त केन्द्र र प्रदेश सरकारमा स्थिरता कायम गर्न कठिन भए पनि काँग्रेसले सकेजति सबै प्रदेश सरकारमा सहभागीता जनाउने छ ।