• मंसिर ११ २०८१, मंगलवार

समाजवाद निर्माणका लागि हाम्रो चेतना बदल्नु आवश्यक छ

जेष्ठ २२ २०७८, शनिबार

संसारभरी कम्युनिष्टहरुले वीरता र बलिदान गरि समाजवाद ल्याए तर कहीँ पनि टिक्न सकेन । यसको कारण के हो ? नेपालमा पनि आज वैज्ञानिक समाजवादको खाँचो छ भनी हामीले आवाज उठाइरहेका छौं । हाम्रो पनि हालत पहिलेका कम्युनिस्टको झैं भयो भने के गर्ने ? संघीयता, गणतन्त्र र संविधान २–४ वर्षैमा धरापमा परिसक्यो भनेर आन्दोलन गर्ने हामीले झन् उन्नत समाजको रक्षा कसरी गर्न सक्छौं ?

के हामीले प्रतिक्रान्ति रोक्ने आधार विकास गर्यौं र विगतका कम्यूनिष्टहरुबाट भएको कमजोरीको संश्लेषण के गरेका छौं ? यो आजको महत्वपूर्ण प्रश्न हो । आज संसारभर सामाजिक र आर्थिक आधार निर्माण गरेर उपरिसंरचनामा परिवर्तन गर्ने कुरा र त्यसमा परिवर्तन गरेर राजनीतिक, सामाजिक र आर्थिक आधार निर्माण गर्ने बिचको द्धन्दात्मक सम्बन्धलाई ठीक ढंगले बुझ्न नसक्दा क्रान्ति पछि प्रतिक्रान्ति भयो ।

यो यथार्थ हो । तसर्थ आजका हामी नेपाली कम्युनिष्टहरुले समाजवाद प्राप्तिका लागि माथीका विषयहरुमा वस्तुवादी बुझाईका साथ जवाफ दिन सक्नु पर्छ । कार्ल मार्क्सको मृत्युपछि विशेषगरी लेनिन र माओले समग्र पक्षको संश्लेषण गरेर जवाफ दिनु र सत्ता प्राप्त गर्नु तर आफ्नै जीवनकालमा आधार र उपरिसंरचनामा उत्पन्न संकटको वस्तुवादी जवाफ खोज्दा खोज्दै राज्यसत्ता र कम्युनिष्ट पार्टीमा विघटन किन भयो ? यसको कारण आन्तरिक हो की बाह्य ? यी र यस्ता प्रश्नको जवाफ खोज्नै पर्छ ।

आजका हामी मनोगतवादी कम्युनिष्टबाट त्यसको जवाफ सम्भव छैन । लेनिन र माओले दिन बाँकी जवाफ हामीले दिएर मात्र नेपाली क्रान्तिको कार्यभार वैज्ञानिक समाजवाद प्राप्त गर्न सकिएला ? यो प्रश्न पनि गम्भीर नै छ । समाज विकासको प्रक्रियामा चीनमा मञ्चु वंशको अन्त्य सन यात सेनको अगुवाइमा भयो । उनको मृत्युपछि माओले कोमिन्ताङ र जापानी साम्राज्यवादलाई परास्त गरी नयाँ जनवाद प्राप्त गर्नु भयो ।

चीनलाई जापानी हस्तक्षेपबाट बचाउनु भयो । स्वदेशी सामन्तलाई पनि हराएर जनताको शासन स्थापना गर्नु भयो । नेपालमा पनि राणा, पञ्चायत र राजा फालियो तर राज्यको नयाँ रुपको संस्थागत विकास गर्न सकिएन । त्यसकारण राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक आधारमा परिवर्तन सहित उपरिसंरचनाको स्थापना गर्न सक्यौं भने मात्र समाजवादी व्यवसथमा समाज बदलिने सम्भावना हुन्छ ।

हामीले इमान्दारितापूर्वक आफ्नै समिक्षा गर्यौं भने हामी वैज्ञानिक समाजवादका लागि सामाजिक आधार र उपरिसंरचना तयार गर्न लायकका पात्रहरुमा पर्छौं त ? वैदेशिक गुलामी गरेर निजी सम्पत्तिको विस्तार र सुदृढीकरणका पक्षमा उद्धत आर्थिक आधारको जगमा नोकरशाही दलाल पूँजीवादी त्यसमा पनि विकृत संसदीय तानाशाही राजनीति र थाईल्याण्डको कैयौं ठूला शहरहरूमा संचालित खुल्लमखुल्ला यौन ब्यापारको संस्कृति उद्धत चरित्रबाट के हामीले अर्को संघर्ष गरेर ल्याउने समाजवाद यो आधार र उपरिसंरचनाले रक्षा गर्न सक्ला ?

नेपालका कम्युनिष्ट भनिने सबै पार्टी, नेता तथा कार्यकर्ता वैज्ञानिक समाजवादको विषय अलि परको विषय भयो तर समाजवाद उन्मुख आधार र उपरिसंरचना उन्मुख बनेको, बन्ने र बनाउने के कति कार्यदिशा तथा कार्यक्रम तयार बनाएका छौं । हुन त उन्मुख भनेको त्यता फर्किने भनेको हो । फर्किन त जहिलेसम्म फर्किए पनि भैहाल्यो नी हनेइन र ? जबकी वैज्ञानिक समाजवादतिर फर्कन नै समय लाग्ने हो भने त्यहाँ पुग्ने कहिले होला ? हामी आफै समाजले विश्वास गर्न कति लायक छौं ? प्रश्न यता पनि त छ ।

के मालेमावादमा उल्लेख गरिएको दर्शन भन्दा अरुलाई पर गएको देख्ने संसदीय र संशोधनवादी भन्नेहरुको आफ्नै सामाजिक आधार र उपरिसंरचना समाजवाद उन्मुख छ त ? कडा प्रश्न खडा छ । आज यो अवस्था थोरैको होला तर धेरैको छैन । त्यसैले जो जतिको छ, थोरै मात्रै पनि हुनेहरुबाटै यो महान अभियानको सुरुवात र कार्यान्वयन हुनसक्छ । त्यसैमा हाम्रो विश्वास पनि छ ।

सही बुझाई र व्यवहारका धनी मानिसहरु नै समाजवादी क्रान्तिका चालक शक्ति र अगुवा हुन् । जनता र कार्यकर्ताले आज खोजिरहेको पार्टी र नेतृत्व त्यही हो । त्यो नेतृत्व र पार्टी बनाउनका लागि हामी सबै बन्ने, बनाउने र पुरानोलाई रुपान्तरित हुन पाउने अधिकार सुनिश्चित राखिनु पर्दछ यसैमा हाम्रो भविष्य छ । किन की मानिसको मन नयाँ कार्ययोजनामा जान पनि सक्छ र लागु गर्न पनि सक्छ ।

नोकरशाही दलाल पूँजीवादी आधार सहितको संसदीय व्यवस्था र विकृत उपरिसंरचनालाई सुधार गरेर समाजवाद बन्दैन । त्यो सुधारिएको संसदीय व्यवस्था र विकृत पूँजीवाद नै हुन्छ । हामी नेपाली जनतालाई राणा, पञ्चे, राजा र आजको विकृत संसदीय व्यवस्थाले जस्तो सुधारबाट चित्त बुझिनरहेको अवस्थामा गुणात्मक परिवर्तन चाहिएको छ । परिवर्तन प्राकृतिकरुपमा भइरहेको हुन्छ र मानिसको सचेत पहलमा त्यसलाई गति दिनु क्रान्ति हो ।

साँच्चै समाज विकासको गति अवरुद्ध नै भएको निस्कर्षमा पुग्ने हो भने त्यसलाई अघि बढाउन हामीले थप बल किन नगर्ने ? हामीलाई चाहिएको त्यस्तो व्यवस्था हो जहाँ मानवले मानवमाथी गरिएका सम्पूर्ण शोषण र दमनबाट मुक्त र समुन्नत समाज होस् । त्यो प्राप्तिका लागि उत्पीडित वर्ग र समुदाय नै एकताबद्ध भएर अगाडी बढौं त्यसैमा हामी सबैको भविष्य छ ।