चीनबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ कोरोना भाइरस रोग कोरोना संक्रमणले विभिन्न छालसहित हालसम्म विश्वमा करिब १४ करोड ५४ लाख संक्रमित गराएको छ भने ३० लाख व्यक्तिको ज्यान लिइसकेको छ । कोरोना कहरले विश्वकै आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको छ । पछिल्लो २४ घण्टामा विश्वमा लाखौँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्ला दिनहरूमा सबैभन्दा धेरै दैनिक संक्रमण देखिएको मुलुकमा भारत पहिलो स्थानमा उक्लिएको छ । भारतमा पछिल्लो २ दिनदेखिको आधिकारिक रिपोर्टले दैनिक संक्रमित ३ लाख भन्दा माथि निदान भएको छ, यसले के प्रस्ट पारेको छ भने कोरोना संक्रमणको दोस्रो छालको कर्व रकेट झैं प्रक्षेपण भएको छ र जनस्वास्थ्य संकट ग्रस्त बनेको छ ।
नेपालमा २०७६ माघ दोस्रो हप्ताको शुरूमा चीनबाट आएका एक व्यक्तिमा कोरोना पुष्टि भएपश्चात करिब १५ महिनामा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार भन्दा बढी छ भने ३१०० भन्दा बढी व्यक्तिहरूको ज्यान गएको नेपालको आधिकारिक तथ्यांकले देखाएको छ । नेपालको हालसम्मको परीक्षणमा कोभिड–१९ को मृत्युदर करिब १ प्रतिशत रहेको छ । तर विश्वमा हालसम्मको कोभिड–१९ को मृत्युदर करिव २.१५ प्रतिशत रहेको आधिकारिक आँकडाले देखाएको छ ।
विगतचार दिनदेखि लगातार नेपालको दैनिक कोरोना संक्रमण दर भारतको भन्दा तुलनात्मक हिसाबले उच्च देखिनुले नेपालमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको र अब यो भारत झैं नियन्त्रण बाहिर जान सक्ने अड्कल गर्न सकिन्छ । यदि नेपालको कोरोना संक्रमणले ट्रेण्ड भारत, जर्मनी र बेलायतझैं पछ्याउने हो भने दोस्रो छाल धेरै आक्रामक र विध्वंसकारी हुने निश्चित प्रायः छ । नेपालको हालको कोरोना संक्रमणको तीव्र वृद्घिको संकेतले दोस्रो छालले नेपालको वर्तमानको स्वास्थ्य प्रणालीलाई कडा चुनौती दिने प्रष्ट छ ।
अझ, यस्तै द्रुत गतिमा संक्रमण वृद्घि हुँदै गएमा अबको दुई–तीन हप्तामा नेपालमा दैनिक ६ हजार माथि संक्रमित थपिने, परीक्षणमा ३०–४० प्रतिशत संक्रमण दर हुने र पहिलेको भन्दा उल्लेखनीय मृत्युका घटनाहरू घट्ने अनुमान गर्न सकिन्छ, जसले नेपालको हालको जनजीवन, सामाजिक र आर्थिक स्थिति र स्वास्थ्य प्रणालीमा नकारात्मक असर पर्ने आँकलन गर्न सकिन्छ ।
चीनको वुहानमा देखिएको सार्स–कोरोना भाइरस–२ को स्वरुप निरन्तर आनुवंशिक परिवर्तन हुँदै सयौं भेरियन्ट देखिएका छन् । शुरुको एल नामको भेरियन्ट एस, भी र जी भेरियन्टमा समय अन्तरालमा क्रमशः परिवर्तन हुँदै गए । जी भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक प्रोटिनमा आनुवंशिक उत्परिवर्तन भएर युके भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतमा डबल म्युटेन्ट भेरियन्टको उत्पत्ति भएका छन् ।
स्पाइकप्रोटिनमा भएको आनुवंशिक उत्परिवर्तनले भाइरसमा जेनेटिक संरचना परिमार्जित भई मानिसको कोषिकामा बाँधिने र भित्र छिर्ने क्षमता वृद्घि हुने भएकाले अधिक संक्रमण गराउन सक्ने प्रारम्भिक वैज्ञानिक तथ्य र प्रमाणले उल्लेख गरेका छन् । तुलनात्मक रूपमा पहिलो छालभन्दा बढी बेलायत, इटाली र इजरायलमा बालबालिकामा कोरोना भाइरसका नयाँ भेरियन्टको संक्रमणले यी तथ्यलाई पुष्टि गरेको छ ।
दोस्रो छालमा वैज्ञानिक अध्ययनले आनुवंशिक उत्परिवर्तन भई स्वरूप परिवर्तन भएका सार्स– कोभ–२ का यी नयाँ भेरियन्टहरू छिटो सर्न सक्ने (साविकको कोरोनाभाइरस भन्दा ३०–७० प्रतिशत तीव्र प्रसारण) क्षमता पुष्टि भएको साथै बालबालिकालाई अधिक संक्रमण गराउन सक्ने हुँदा कोरोनाको थप जोखिमय यथावत् नै छ ।
कोरोना भाइरसका नयाँ भेरियन्टले पहिलो छालभन्दा आक्रामक भएर संक्रमण गराउँदै वर्तमानमा दक्षिण एशियाका देश बंगलादेश, पाकिस्तान, भारत र नेपालमा उल्लेखनीय संक्रमण वृद्धिले दक्षिण एशियालाई कोरोनाको ‘हटस्पट’बनाएको छ । साथै कोभिड–१९ का गम्भीर अवस्थाका बिरामीहरूको उचित व्यवस्थापनमा यस महामारीले कडा प्रहार गरेको छ ।
चीनले केही महत्वपूर्ण रणनीतिका साथ कोरोना महामारीलाई पूर्णरूपमा नियन्त्रणमा राखेको छ । जस्तै, अनुशासित राज्य व्यवस्था र नैतिक अभ्यास पालना, उचित जनस्वास्थ्यका नियम, मापदण्ड पालना गर्न हर समय स्वयम् नागरिक प्रतिवद्ध र जिम्मेवारी बहन, दु्रत परीक्षण र भेरियन्ट पहिचान प्रणाली उन्नत प्राविधिक डिजिटल सम्पर्क ट्रेसिङ र ट्रयाकिङ प्रणाली अत्यधिक व्यवस्थित र प्राविधिक रूपमा विशिष्ट कोरोना प्रसारण र संक्रमणको प्रारम्भिक चेतावनी प्रणाली कोरोना सम्बन्धित व्यवस्थित अध्ययन र अनुसन्धान कार्यहरूले नयाँ आयाम र मार्ग प्रस्तुत, वैज्ञानिक मूल्य मान्यतामा आधारित उपचार र व्यवस्थापन उत्तम र द्रुत खोप जनअभियान आपत्कालिन अवस्था प्रकोप र रोगसँग लड्न यथाशीघ्र तयारी र उदाहरणीय सामूहिक सहकार्य महामारी पूर्ण नियन्त्रणमा बहुपक्षीय दृष्टिकोणसहित उचित आर्थिक संशाधनको प्रबन्ध प्राथमिकता गतिविधिमा सूचित गरिएको चीनले जसरी कोरोनाको संक्रमणलाई पूर्णरूपमा नियन्त्रणमा लिन सफल भएको छ, यसलाई महत्वपूर्ण उपलब्धि तथा उदाहरणको रूपमा लिनुपर्ने र यसबाट अरू देश र नेपालले पनि महामारी नियन्त्रणमा पाठ सिक्नुपर्ने हुन्छ । जुन वर्तमान परिस्थितिको अपरिहार्य कदम हो ।