आज २५२६औँ बुद्ध जयन्ती हो र आजको दिनलाई पूर्णिमा पनि भनिन्छ । आजको दिन त्याग, तपस्या, सेवा–समर्पण, शान्ति–मुक्ति र ज्ञानगुनका प्रतिमूर्तीको शुभागमन भएको ऐतिहासिक दिन हो । यस अवसरमा गौतम बुद्धप्रति हार्दिक स्मरण र श्रद्धासुमन तथा समस्त बुद्धप्रेमी अर्थात् बुद्धका विचार, भावना र कार्यहरुको अवलम्बन र कार्यान्वयन गर्ने जनमनहरुप्रति बुद्ध जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गौतम बुद्धको व्यक्तित्व र कृतित्व पनि पूर्णिमाको चन्द्रमाको जस्तै उज्यालो, चहकिलो, शीतल, शान्त र सौम्य थियो । उनका उपदेश र शिक्षाहरु जीवन र जगतका लागि धेरै हदसम्म उपयोगी, अनुकरणीय र अवलम्बनीय नै छन् ।
उनी मूर्ति पूजाका कट्टर विरोधी र अनिश्वरवादी दर्शनका प्रवर्तक पनि हुन् । साथै संघका प्रणेता पनि भएकाले ‘बुद्धम् शरणम् गच्छामी’ सँगै ‘संघम् शरणम् गच्छामी’ भन्ने भावधारा र अभियान नै संचालन भयो । जो अद्यापी भजनीय मात्र नभएर मननीय र अनुकरणीय समेत भई सर्वत्र संघ–संस्था र संगठनका रुपमा कार्यान्वयनमा छन् ।
समग्रमा भन्नुपर्दा बुद्धका जीवनदर्शन र कार्यहरु समस्त मानवजाति, जीवजन्तु र प्रकृतिको संरक्षण र सम्बद्र्धनका लागि अलगअलग र इकोसिस्टमका रुपमा स्थायी मार्गदर्शन नै हुन् । त्यसैले बुद्ध धर्मको रुपमा बुद्धका विचार, भावना र योगदानहरु आज उनको जन्म भएको २६ सय वर्षजति पछि पनि संसार भरीका मानवजातिका लागि अनुपम नमूना र आदर्शकै रुपमा स्तुत्य र ग्राह्य छन् ।
फलतः बुद्धका यिनै विचार, जीवनदर्शन, उपदेश र कार्यहरुका कारण नै बुद्धवाद आज बुद्ध धर्मका रुपमा संसारव्यापी छ र विश्वको सबैभन्दा ठूलो संख्याले बुद्ध धर्म अवलम्बन गर्दै बुद्धलाई महामानव र भगवानको रुपमा मानमर्यादा र पूजाअर्चना गर्दै आएका छन् ।
बुद्धको प्रथम र अहम महत्वको उपदेश शान्ति र अहिंसा हो भने क्रान्तिकारी महत्वको विचार अनिश्वरवाद हो र युगान्तकारी कार्य मूर्तिपूजाको विरोध हो । तर एउटा विचित्र र विपरीत विडम्बना आज यो भैरहेको छ कि धर्म, राजनीति, विज्ञान र सभ्यताका नाममा संसारमा यतिबेला मानवीय द्वन्द्व र हिंसा समेत अत्यधिक हुँदै आएको छ । यसैगरी अनिश्वरवादी अर्थात् ईश्वर छैनन् भन्ने मान्यताका क्रान्तिकारी युगपुरुष बुद्धलाई नै आज उनका अनुयायीहरुले जानीनजानी ईश्वर नै बनाएका छन् ।
उनका अनुयायीहरुले संसारमै सबैभन्दा धेरै र ठूला मूर्ति पनि बुद्धकै बनाएर पूजा गरिरहेका छन् । धार्मिक रुढिवादी र कठमुल्लावादीहरुले आज आफूलाई जतिसुकै बुद्धका भक्त र बुद्ध धर्मका अनुयायी बताएर जेजे गरेपनि बुद्धलाई इश्वर बनाउने र उनका मूर्ती बनाएर पूजा गर्ने कार्य, परम्परा र प्रचलनले गर्दा प्रकारान्तरले बुद्धको मान भन्दा अपमान र यथार्थमा उनको पूजा नभएर उनका विचार, मूल्यमान्यता, मर्म र भावनालाई धुजाधुजा पार्नु हुनजान्छ ।
तसर्थ आज बुद्ध जयन्तीको यस पुनित र पावन अवसरमा बुद्धका सही र युगीन विचारहरुलाई शान्त र प्रसन्न अनि स्वच्छ र समुन्नत चिन्तन र चेतनाले अनि चित्त र चरित्रले अवलम्बन र कार्यान्वयन गर्नु गराउनु नै वास्तवमा बुद्ध जयन्ती मनाउनु, बुद्धको स्मरण गर्नु, श्रद्धा गर्नु र बुद्धवादलाई संरक्षण, सम्बद्र्धन र संप्रेषण गर्नु हो र हुने छ भन्ने लाग्दछ । चेतना भया ।