• मंसिर १२ २०८१, बुधबार

छिनमै हराउने ‘साथी’ बन्ने की बाँचुञ्जेलको ‘मित्र’ ?

जेष्ठ ८ २०७८, शनिबार

पूर्वीय दर्शनमा साथी भन्दापनि मित्र शब्दको निकै नै धेरै महत्व, चर्चा र प्रसंशा गरेका थुप्रै कथाहरू सुन्न पाइन्छ । कृष्ण–सुदामाको मित्रता, कृष्ण–अर्जुनको मित्रता, दुर्योधन–कर्णको मित्रता लगायत यस्ता कैयौं उदाहरणहरु छन्, जहाँ मित्रताको लागि मानिसले हाँसी–हाँसी आफ्नो ज्यानको बाजी समेत थापेको सुनिन्छ । त्यति धेरै स्नीग्ध, पवित्र र आदर्श मित्रताको कल्पना र खोजि अहिलेको “चरम स्वार्थी” दुनियाँमा गर्यो भने ठूलो मुर्खता बाहेक केहि पनि नहोला ।

धेरै नजिकको रगतकै नातामा पनि पाउन मुस्किल आत्मियताको खोजी साथीको सम्बन्धमा गर्न थाल्यो भने त्यो एउटा अव्यवहारिक कार्य हुन जान्छ होला । तर कमसेकम जे–जस्तो परिवेश, उपलब्धता र सम्भावनाहरूको विद्यमानता भएपनि केहि कुराहरुप्रति चनाखो वा सचेत हुन सक्यो भने त्यो सबैको लागि हितकर नै हुनसक्छ ।

आजभोली ‘’मित्र’’ शब्दको प्रयोग निकै घटेर ‘’साथी’’ शब्दको प्रयोग बढ्दै गएको देखिन्छ । अझैं साथी शब्दलाई पनि अंग्रेजी भाषाको ‘friend’ शब्दले छिटोछिटो विस्थापन गर्दै लगेको देखिन्छ । ‘’मित्रता’’ शब्दको प्रयोग लोप हुँदै गएर ‘friendship’ शब्दको व्यापक प्रयोग हुने क्रमले तीव्रता पाएको महशुस हुन्छ । जसरी शब्दमा परिवर्तन हुँदै गएको छ, त्यसरी नै यो सम्बन्धको गुणस्तर पनि व्यापक परिवर्तन हुँदै गएको आभास हुन्छ । ‘friend’ शब्दको अन्तिम ३ वटा अक्षर मात्र हेर्ने हो भने “भलम’’ अर्थात् ‘’समाप्त हुनु’’, ‘’टुंगिनु’’, ‘’अन्त्य हुनु’’ आदि हुन जान्छ । यो अंग्रेजी शब्द आफैले आफ्नो अन्त्य पनि सँगै बोकेको देखिन्छ ।

अर्को शब्दमा भन्नुपर्दा अहिलेको जमानामा  ‘friendship’ निकै कमजोर, नक्कली र क्षणभरमै टुंगिन सक्ने खालको प्रतीत हुन्छ । शुरु हुन पनि बेर नलाग्ने र अन्त्य हुन पनि क्षणभर नलाग्ने यस्तो साथीत्वलाई अर्थात् अहिलेको जमानाको साथीहरू (कोहि कतै अपवादलाई छोडेर) लाई कत्तिको महत्व दिने, कति समय दिने र कति विश्वास गर्ने भन्ने कुरापनि आजको दुनियाँमा निकै सतर्क हुनुपर्ने एउटा विषय हुनसक्छ । अर्को शब्दमा भन्नुपर्दा साथी बन्न र भन्न निकै सजिलो देखिएपनि साँचो अर्थमा साथी बनिरहन र यो सम्बन्धको पवित्रता कायम राखिरहन भने निकै नै चुनौतिपूर्ण देखिन्छ ।

साथीको नाता जोडिने विभिन्न माध्ययम हुन सक्छन । सजिलोको लागि वास्तविक दुनियाँ र इन्टरनेटको माध्ययमलाई साथीको नाता जोडिने दुइवटा प्रमुख बाटो मान सकिन्छ । शुरुमा वास्तविक माध्ययम बारे हेरौं हिाम्रो नेपाली समाजमा निकै छिटो (भेट हुने बित्तिकै) बोलिने एउटा वाक्य हो “परिचय गरौँ न त” । गाडीको सिटमा सँगै बसेको कुनै मानिस होस् वा अरु कुनै प्रसंगमा भेट भएको मानिस होस् निकै नै छिटो यो वाक्यको प्रयोग हुन जान्छ ।

५-१० मिनेटकै भेटमा पनि ‘’नाम’’ बाट शुरु हुने यो यात्रा, ठेगाना, काम, घरपरिवार, बुबा–बाजे लगायत सबैको नालीबेलीको पोको फुकाउनेमा केन्द्रित हुन्छ । अक्सर त्यसको लगत्तैपछि सुरु हुने दोस्रो अध्याय भनेको “स्व चर्चा” हो । यस खण्डमा प्रायः मानिसहरुले आफ्नो अभिमानको पोको फुकाउने गरेको देखिन्छ । म यस्तो–उस्तो भन्दै आफूलाई निकै नै ठूलो देखाउने कसरत सुरु हुन्छ । हामीले बोलिरहेको कुरालाई अर्को मानिसले कसरी लिइरहेको हुन सक्छ वा यी कुराहरू सान्दर्भिक छन् कि छैनन् भन्नेमा प्रायः हामी बेखर नै हुन्छौं ।

तेस्रो अध्याय अरुको आलोचना वा राजनीतिको विषयमा केन्द्रित हुनसक्छ । अझ कहिलेकाहीँ त पहिलो भेट र परिचय नै वादविवाद र द्वन्द्वको कारण समेत बन्न सक्ने सम्भावना पनि रहन्छ । त्यसको केहि बेरपछी नै हामी एक–अर्काको मूल्यांकन सकेर आफ्नो मनको कापीमा उसको नतीजाको घोषणा गरि सक्छौं । अर्को मानिसको बारेमा निकै नै थोरै जानकारीको आधारमा हामी त्यो मानिसलाई या त ‘’राम्रो मानिस’’ या ‘’नराम्रो वा घमण्डी मानिस” आदि सोचेर उसको एकथरी चित्र आफ्नो मस्तिष्कमा कोरिसक्छौँ ।

उसैले व्यक्त गरेका केही शब्दहरुको भरमा उसको वास्तविक व्यवहारको परख नै नगरिकन, के यति छिट्टै र सजिलै अर्को मानिसलाई चिन्न-बुझ्न सकिन्छ होला त ? अर्थात् हामीले परिचित सम्झेको त्यो मानिसको सबै पाटो त्यही एउटा भेटले प्रष्ट पार्न सक्छ होला त ?

अब माथिको अध्यायमा चर्चा गरिएको वास्तविक दुनियाँको भेटघाट र परिचय अर्थात् चिनजानको कुरालाई एकछिन थाती राखेर  ‘virtual world’ अर्थात् सामाजिक भनिएका (तर सामाजिक भन्दापनि अलि धेरै असामाजिक देखिन थालेका) संजालहरुको भेटघाट वा  ‘friendship’ को पाटो तर्फ विचार गरौं । विभिन्न सामाजिक संजालहरू मध्ये ‘फेसबुक’ को लोकप्रियता नेपाली समाजमा ह्वात्तै बढेर गएको देखिन्छ । निकै ठूला मानिएका र भनिएका व्यक्तिदेखि विद्यालयमा पढिरहेका बालबालिका हुन् वा हाम्रो समाजका हरेक तह र तप्काका मानिसहरू प्रायः सबैजसो क्षेत्रका मानिस यसमा निकै नै व्यस्त हुन थालेको आभास हुन्छ ।

नजिक वा निकै टाढाको जुनसुकै भूगोलमा रहेका मानिसहरूबीच क्षणभरमै चिनजान र साथीको नाता जोडिदिने यो अर्को बलियो माध्यम बन्दै गएको छ । कहिल्यै नदेखेका मानिसहरु हुन् वा प्रत्यक्ष देख–भेट भएका मानिसहरू हुन्, उनीहरुबाट जुनसुकै बेला पनि  ‘friend request’ (अर्थात् साथीको प्रस्ताव) आउनु सामान्य कुरा भइहाल्यो । एकातिर फेसबुकमा नयाँ खाता खोलेका कतिपय मानिसहरूलाई छिटोछिटो धेरैको प्रस्ताव आएर साथीहरूको लामो सूची बनाउन रहर लागेको परिस्थति हुन सक्छ भने अर्कोतिर कतिपय मानिसलाई बेला न कुबेला ‘म्यासेज’ गरेर हैरान पार्ने मानिसहरूबाट कसरी छुटकारा पाउने भन्ने तनाव पनि हुन् सक्छ ।

अर्को एकथरी मानिस आफूले फेसबुकमा गरेको पोस्टमा आएको “लाइक” र “प्रतिक्रिया”(कमेन्ट) गर्दै आफ्नै नजरमा आफ्नो मूल्यवृद्धिको अभियानमा व्यस्त र मख्ख परेका हुन सक्छन् । हरेक नयाँ–नयाँ मानिसहरूलाई साथीको सूचीमा थपिदिने सशक्त माध्ययमको रुपमा सामाजिक संजालहरूले काम गरिरहेको देखिन्छ । हरेक मानिसले यसलाई बुझ्ने तरिका आ–आफ्नै भएपनि यो माध्ययमबाट जोडिने ‘साथी’ को नाता कति बलियो, भरपर्दो र विश्वसनीय हुन् सक्ला त ? भन्ने प्रश्न भने विचारणीय हुनसक्छ ।
इन्टरनेटको बढ्दो उपलब्धता र विस्तारसँगै यो अभ्यास अझैं बढ्दै जाने देखिन्छ ।

हरेक कुराको सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छ भने झैं यसको पनि दुबै पाटो हुने नै भयो । मुख्यतः यो एउटा मानिसहरूसँग जोडिने साधन हो र यसले कस्तो प्रतिफल दिन्छ भन्ने कुरा यसको उपयोगकर्तामा भर पर्छ । जसरी हामी बजारबाट चक्कु किन्दा तरकारी काट्नको लागि किन्छौं तर कहिले हाम्रै असावधानीको कारण त्यो चक्कुले हात पनि काटिदिन सक्छ ।

दोष कसलाई दिने ? चक्कुलाई कि हातलाई ? कि आफ्नो असावधानीलाई ? भने झैं आजभोलीको सामाजिक संजालहरूको गुण-दोष को जिम्मेवारी कसलाई दिने ? आफूलाई कि अरुलाई ? संजालको रुपमा देखिएका यी साधनहरू आफ्नो लागि “जाल”, “काल” वा ‘’जन्जाल’’ पनि बन्न सक्छन् भन्ने कुरामा हामीले आफूले सचेत हुनुपर्छ कि अरुबाट प्रयाप्त इमान्दारी, समझदारी र वफादारी खोज्दै आफू चाहीँ पानी माथिको ओभानो बन्नु उपयुक्त हुन्छ ? यी र यस्तै तमाम अन्य प्रश्नहरूको जवाफ खोज्न हामी जति–जति ढिलो गर्छौं, त्यति–त्यति नै यी सामाजिक संजालहरू “संजाल” भन्दा बढी “जाल” को रुपमा परिणत हुन बेर लाग्दैन ।

वास्तविक वा अवास्तविक (प्रविधिको माध्ययमबाट) जुनसुकै तरिकाले साथीको नाता जोडिन सक्छ । माध्ययम जे–जस्तो भएपनि साथी र साथित्वको गुणस्तर बारे भने हरेकले विचार गर्नैपर्ने हुन्छ, साथी किन बनाउने ? कसरी बनाउने ? कति बनाउने ?कस्तो बनाउने ? जस्ता प्रश्नको साथै आजको जमानामा ‘’साथित्व’’ को उदय कसरी हुन्छ त ? भन्ने बारे पनि सोच्नु सान्दर्भिक नै हुन्छ । सामन्यतया कुनै मानिसले हामीलाई साथीको प्रस्ताव किन गर्छ त ? यस प्रश्नको सोझो र अलि साँघुरो जवाफ हुन् सक्छ, आफ्नो निहित स्वार्थ परिपूर्तिको लागि ।

के कुनैपनि स्वार्थ नभएको मानिस भेटिनु सम्भव छ त ? भनेर प्रश्न गर्ने हो भने उत्तरले प्रायः असम्भवता तर्फ संकेत गर्छ । सबै स्वार्थी मात्र छन भने, के कसैलाई पनि साथीको रुपमा स्वीकार नगरी सधैं एक्लै बसिरहन सकिन्छ त ? अहँ, यो कुरा पनि अव्यावहारिक र असम्भव नै हुन्छ । त्यसो भए के गर्ने त ? अर्थात् यो साथीको पाटो र बाटोलाई कसरी व्यवस्थित गर्ने ?

साथी वा आफन्त, इष्टमित्र जो सुकैसँगको सम्बन्ध व्यवस्थापनको लागि पनि सबैभन्दा मुख्य कुरा आफू र अर्को पक्षलाई राम्रोसँग चिन्ने÷बुझ्ने नै हो । यसमा हामीले बुझ्नु पर्ने धेरै पाटोहरू हुन् सक्छन । जस्तो कि आफ्नो र अर्काको रुची, आनी–बानी, मूल्य–मान्यता, उद्देश्य, विश्वास, धारणा, पृष्ठभूमि (पारिवारिक, साँस्कृतिक, शैक्षिक आदि) लगायतका थुप्रै कुराहरूको जानकारी आवश्यक पर्न सक्छ । सबै कुरा पूर्णरुपमा जान्न र सम्पूर्ण रुपमा प्रायः कसैलाई चिन्न लगभग असम्भव जस्तै हुनसक्ने भएपनि कमसेकम सचेततापूर्वक जोडिने साथीको नाता दिगो हुन सक्छ ।

आफूले अरु कसैलाई साथीको रुपमा प्रस्ताव राख्नु अघि होस् वा अरुले राखेको प्रस्ताव स्वीकार गर्नु अघि होस् कम्तिमा एउटा प्रश्न आफैंसँग सोध्नु उपयोगी हुनसक्छ । त्यो प्रश्न हो, “किन ?” अर्थात् तपाईं त्यो मानिसलाई किन साथी बनाउन प्रेरित हुनुहुन्छ ? अर्कोतिर त्यो मानिसले तपाईंसँग साथीको नाता जोड्न चाहनुको पछाडी के–कस्तो सम्भावित कारणहरू हुन सक्छन ? समग्रमा भन्नुपर्दा ‘साथी’ को नाता हरेक मानिसको जीवनमा निकै नै अपरिहार्य र महत्वपूर्ण हुने भएकोले यो नाता जोड्न अघि, जोडी सकेपछी र तोड्न अघि प्रयाप्त सचेतता अपनाउन सक्यो भने “साथित्व” मा प्राप्त हुन् सक्ने तीतोपना को अनुभवमा कमी ल्याउन सकिन्छ ।