घोराही, ६ जेष्ठ ।
‘आवश्यकताका आधारमा विकास निर्माणलाई थाती राखेर नगरबासीको जीवन रक्षाका लागि एकरत्ति पछि नहटी दत्तचित्त भएर लागिरहेका छौं र लागि रहनेछौं ।’ घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले आफ्नो फेसबुक पेजमा लेख्नुभयो ।
यसले धेरैलाई राहत दियो । केहि समय अघिदेखि घोराहीले महामारीमा नेतृत्व गर्न सकेन । नागरिकको जीवन रक्षाका लागि गम्भिर बनेन । नेतृत्व हरायो जस्ता टिप्पणी हुँदै आएका थिए । त्यसैले होला गरेर देखाऊ, हामीले कुन क्षेत्रमा साथ दिनुपर्ने हो तयार छौं भनेका छन् ।
गोरु खोज्न गएका घोराही–१८ मिलिजुलीका जीतबहादुर थापाको मंगलबार ढोडेनीमा मृत्यु भयो । घोराही–१८ का अध्यक्ष एवं घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्याल त्यहीँ पुग्नुभयो । साथमा घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी र अर्यालका वडासदस्य कृष्णबहादुर घर्ती हुनुहुन्थ्यो ।
बिहान १२ बजेतिर थापाको मृत्यु भएको घरबेटी जितबहादुर चौधरीले जानकारी दिनुभयो । दिउँसो चार बजेसम्म निकै ठूलो जनसमूह जम्मा भएको थियो । अबेर पुग्नुभएका वडा प्रहरी प्रमुख हृदेश सापकोटा मानिसहरु देखि आश्चर्य चकित हुनुभयो । ‘यत्रो मानिसको कामै छैन’ प्रमुख सापकोटाले भन्नुभयो,‘अलि परपर जानुस् ।’ उहाँ मानिस फटाउँदै हिँड्नुभयो । दुवै अध्यक्षहरु भने अघिदेखि नै त्यही भिडमा हुनुहुन्थ्यो । नागरिकसँग रहन डर थिएन तर रोगले आफन्त भन्दैन्थ्यो ।
उपस्थित सबैजना भावुक र आश्चर्य चकित थिए । परिवार र आफन्तले शोक व्यक्त गरिरहेका थिए । तिनलाई तिमाल्दै अध्यक्षहरु व्यवस्थापनमा लाग्नुभएको थियो । लाश बोक्ने एम्बुलेन्स, शव बोक्नेले लगाउने पिपिइ र जलाउने दाउराको जोहोसम्म गर्नुपरेको थियो । बिचरा गरिब छ, केहि सक्दो गरिदिनुस् भनेर याचना गर्नेहरुलाई जवाफ पनि दिनुपरेको थियो ।
घोराही उपमहानगरपालिकाको अक्सिजन आपूर्ति तथा व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका प्रवक्ता अनुगमनमा जाने तयारीमा हुनुहुन्थ्यो । त्यसै समितिका सदस्य एवम् १४ का अध्यक्ष शक्तिरामले अक्सिजन उद्योग, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बेल्झुण्डी कोरोना विशेष अस्पताल पुग्ने योजना बनाउनु भएको थियो । अर्का सदस्य घोराही–१५ का अध्यक्ष रमेशकुमार पाण्डेय उपस्थित नहुँदै थापा मृत्युको अर्को आकस्मिक घटना भयो । घोराही–१८ का थापाको घोराही–१४ मा आकस्मिक मृत्यु भयो । प्राथमिकताका आधारमा त्यहाँ गएर शोकमा रहेकालाई सान्त्वना र आवश्यक व्यवस्थापन गर्नुभयो ।
दुईतिन जना कोरोनाका बिरामी मैले ठिक बनाएँ, प्रवक्ता अर्यालले बैशाख २९ गते भन्नुभएको थियो । ‘अक्सिजन खोज्नेलाई नलगाएरै हिँड्ने बनाएँ’ उहाँले घोराही–१४ को कोरोना भाइरस परामर्श समितिको बैठकमा उक्त कुरा बताउनु भएको थियो । उहाँले नागरिकमा भय र त्रास ज्यादा भएको टिप्पणी गर्नुभयो । आत्तिएर धेरैले अनाहकका ज्यान गुमाएको उहाँ भनाई थियो ।
आफ्नो फेसबुक पेजमा युगराज पोख्रेलले बैशाख १८ गते लेख्नुभएको थियो, ‘काठमाडौंमा व्यक्तिहरुले निःशुल्कमा एम्बुलेन्स सेवा दिन्छन् तर दाङ यस्तो ठाउँ हो, जहाँ घोराहीदेखि मज्गै सम्मको एम्बुलेन्स भाडा पाँच हजार लिन्छन् । यो सेवा हो कि लुट बुझ्न गाह्रो भयो ।’
यो समाचार तयार पार्दाका बखतसम्म त्यस स्टाटसमा ४९ टिप्पणी आएका छन् । सबैले लुट हो भनेका छन् । एम्बुलेन्सहरुले मनपरी भाडा असुलेकोप्रति सबैले तिब्र विरोध जनाएका छन् । सरकार नभएको जस्तो, नियम कानुन नरहेको जस्तो भनि गुनासो गरेका छन् ।
त्यसको लगतै बैशाख २५ गते प्रवक्ता अर्यालको संयोजकत्वमा १५ नम्बर वडाका अध्यक्ष पाण्डेय, १४ का अध्यक्ष डाँगी र संयुक्त एम्बुलेन्स चालक समिति घोराहीका पदाधिकारी बिच बैठक बस्यो । त्यसै बैठकमा चालक समितिका अध्यक्ष महेश चौधरीले काठमाडौं पुगेको ६५ हजार असुलेको सुनेको स्विकार्नु भयो । मनपरी भाडा असुल्दा किरामीलाई मर्का परेकोमा समिति सहमत भयो । विपदको घडीमा सेवा गर्न आफुहरु तयार रहेको कोषाध्यक्ष कृष्ण चौधरी लगायतले प्रतिकृया दिनुभयो । चालकहरुका समस्या सम्वोधन गरिने वचन दिइयो ।
त्यसैबैठकबाट गत २०७० सालकै भाडा दर कायम गर्ने निर्णय भयो । एम्बुलेन्सहरु कवर्डहलमा पार्किङ गर्ने सहमति गरियो । त्यहाँ बस्नका लागि बेडको व्यवस्था उपमहानगरले जिम्मा लियो । केहि पिपिई सेट, मास्क र सेनिटाइजर उपलब्ध गराउनेपनि बचन दिइयो । आठ वर्ष अघि भाडा निर्धारण गर्दा तेलको मूल्य ६८ रुपैयाँ थियो, अहिले एकसय चार रुपैयाँ प्रतिलिटर पुगेको छ । तर, पनि घोराही क्षेत्रका एम्बुलेन्स पुरानै रेटमा सेवागर्न सहमत भए । यसलाई नागरिकहरुले महत्वपूर्ण कदमका रुपमा प्रशंसा गरे ।
धेरैले अहिले सम्मकै लामो भनेर टिप्पणी गरेको र समर्थन दिएको प्रवक्ता अर्यालको मंगलबार सार्वजनिक स्टाटसमा सबैलाई संवेदनशिल हुन आव्हान गरिएको छ । घोराही उपमहानगरपालिकाको तर्फबाट हार्दिक अनुरोध गरिएको उक्त स्टाटसमा महत्वपूर्ण टिप्पणी गरिएका छन् ।
यसले नगरबासीलाई नयाँ उर्जा दियो । केहि टिप्पनीहरुले थप उपाएहरु पनि बताएको देख्न सकिन्छ । जसमा नारदमणि पोख्रेलले लेख्नुभएको छ,‘बेड र अक्सिजनको लागि जनताले सात लाख जति त हेलिकोप्टरमा खर्च गर्न र ठूला हस्पिटलमा दैनिक एक लाखका दरले खर्चेर जीवन बचाउन खोजेको छ भने नगरपालिकाले साझेदारीको योजना ल्याएमा जनता तयार छ, लौ न केजरिवालले १५ दिनमा एक हजार बेडको हस्पिटल तयार गरे जसरी गरौं न ।’ यसरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई समेत छुने गरी लेख्नुभयो ।
त्यसैमा गञ्जबहादुर एमसीले अर्को प्रस्ताव ल्याउनु भएको छ । उहाँले निःशुल्क वा स्थानीय सरकारले खर्च व्यहोर्नेगरी पिसिआर जाँच गरिदिने व्यवस्थाग र्न सकियो भने स्थानीय सरकारप्रति नगरबासीको सकारात्मक सोच आउने छ ।
उहाँले भनेजस्तै यति बेला धेरैजना बिरामी पर्नु भएको छ । बस्तिहरु कुनैपनि अछुतो छैन । एकजनाको एकहजार एकसय तिर्ने, कथंकदाचित पोजेटिभ आयो भने पुरै परिवारको पिसिआर गर्नुपर्छ । त्यसो गर्दा पाँच सात जनाको परिवारले धान्दैन । त्यसैले रोग लुकाएर सार्नेहरुको संख्या अधिक छ ।
गत बैशाख २८ गते नारायणप्रसाद भुसालले प्रवक्ता अर्यालसित सेल्फी खिचेर सामाजिक सञ्जालमा हाल्दै लेख्नुभएको छ, ‘हाम्रो दाङमा बिरामीको उपचारका लागि खेलबाड गर्न दिँदैनौं र मान्दैनौ । हाम्रो बिरामीका उपचारका लागि अहोरात्र खटिन्छौँ ।’ ज्यानको बाजि थाप्ने भरत अर्याल दाई सहित अक्सिजन उद्योगमा समय रातको १ः११बजे लेख्नुभएको छ ।
त्यसकै अघिल्लो दिन भुसालले लेख्नुभएको छ,‘आज रातको धर्ना अक्सिजन उद्योगमा । घोराहीमा रहेको राप्ती विज्ञान प्रतिष्ठानका कोभिड बिरामी बचाउन घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरत अर्याल सहित फिल्डमा ।’ यसरी उहाँको त्याग र समर्पणलाई सम्मान गरिएको छ । यो महामारीमा घोराही उपमहानगरपालिका खोज्नु परेमा भरत अर्याल बुझ्नेको संख्या अधिक हुँदै गएको छ ।
अक्सिजन व्यवस्थापन तथा बेडहरु उपलब्धताका लागि स्वास्थयकर्मिहरु बेल्झुण्डीमा भरत चौधरी र प्रतिष्ठानमा माधव गौतमलाई खटाइएको प्रवक्ता अर्यालको भनाई छ । उहाँले आफू कुद्नुका साथै अह्राउन चलाउन मिल्ने र सकिनेलाई खटाउनु भएको छ । स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती उहाँको साथमा देखिनुहुन्छ । पुरै शक्ति भने परिचालित छैन ।
उहाँले घोराही उपमहानगरको अस्तित्व बचाइरहनुभएको छ । तर योजनाबद्ध ढंगले काम गर्ने मेहनतीमा भने गनिनुहुन्न । आइपरेको समस्यमामा हुन्न गर्दैन भन्ने केहि पनि छैन । लागेपुगे जतिगर्ने । मन बुझाइदिने । उपस्थिति जनाउने । कसैलाई पिराउन नचाहने उहाँको स्वभाव भनि आलोचकहरु टिप्पणी गर्छन् । धेरैजना घरभित्रै लुकेको छन् । मुखमा मास्कको सहायताले प्रवक्ता अर्याल भने यतिबेला दिनरात फिल्डमै भेटिनुहुन्छ । उहाँले नै सिंगो उपमहानगरपालिकाको इज्जत बचाउनुका साथै प्रतिनिधित्व गर्नुभएको छ ।