• मंसिर ११ २०८१, मंगलवार

जसपा नेतृत्वको वैकल्पिक सरकार गठन होला ?

जेष्ठ ४ २०७८, मंगलवार

काठमाडौं । वैकल्पिक सरकार गठनको निर्णायक दल जनता समाजवादी पार्टी (जसपा)ले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताएसँगै उसको चर्चा चुलिएको छ । फुटको सम्मुखमा पुगेको जसपा एकाएक यस्तो निर्णयमा पुगेसँगै राष्ट्रिय राजनीतिमा चर्चा चुलिएको हो । केही महिनायता सत्ता समीकरणलाई लिएर जसपा दुई कित्तामा उभिएको थियो ।

पार्टी अध्यक्ष महन्थ ठाकुर-वरिष्ठ नेता राजेन्द्र महतो (महन्थ-राजेन्द्र) र अर्का अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई (उपेन्द्र–बाबुराम)पक्ष सत्ता समीकरणलाई नै लिएर विवादमा उत्रिएको थियो । यी दुई पक्षको विवादका कारण पार्टी फुट्न सक्ने आकलन गरिएको थियो । महन्थ–राजेन्द्रले सत्तापक्ष प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै साझेदार गर्ने बताएका थिए । उपेन्द्र–बाबुरामले विपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र अन्य साना दलहरूसँग सत्ता साझेदार गर्ने पक्षमा उभिएका थिए ।

यी पक्षहरूको सत्ता समीकरणबारे कुरा नमिल्दा पार्टी फुट्न सक्ने भन्दै नेता, कार्यकर्तामा निराशा छाएको थियो । तथापि उसले आज (मंगलबार) संयुक्त वक्तव्यमार्फत आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भए सरकार गठन गर्न अगाडि बढ्ने बताएको छ । फुटको हल्ला चलिरहेकै बेला पार्टीको एकीकरणलाई बलियो र सुदृढ बनाउन आफूहरू यस्तो निर्णयमा पुगेको जसपाका नेता गंगानारायण श्रेष्ठले बताए ।

उनले भने, –‘पार्टीभित्र देखिएको विवाद समाधान र एकीकरण पूरा गर्न गुट, उपगुटले थप बाधा पुर्याउने भएकोले हामी यस्तो निर्णयमा पुगेका हौँ, अब उप्रान्त हामी पार्टीभित्र कुनै गुट, उपगुट बन्न दिने छैनौँ र पार्टीलाई थप मजबुत बनाउँछौँ ।’ अध्यक्षद्वय महन्थ–उपेन्द्रले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् । बरु जसपाले आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भए सरकार गठन गर्ने बताएको छ ।

उसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न अगाडि बढ्ने बताए पनि यो तत्काल सम्भव भने देखिदैन । जसपा एक्लैले सरकार गठन गर्न सक्ने अवस्था छैन । अन्य ठूला पार्टीहरू जसपासँग साझेदार गर्ने पक्षमा छैनन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, –‘जसपासँगको सत्ता समीकरणबारे पार्टीभित्र छलफल भएको छैन, यस्तो अवस्थामा तत्काललै पार्टीको धारणा राख्न मिल्दैन । यदि भोलिका दिनमा निर्णय भएका बताउँने छौँ । सकभर हाम्रो पार्टीको नेतृत्वमा सत्ता गठनबन्धन गरेर अगाडि बढ्न सकिन्छ ।’

त्यस्तै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, –‘सके एमाले बाहेकका अन्य पार्टीहरू मिलेर सत्ता गठन गर्न सके राम्रो हुन्छ । यद्यपि जसपाको आजको निर्णय पनि अन्यथा होइन । तर, हाम्रो पार्टीभित्र यस बारेमा छलफल भएको छैन । सकभर काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर वैकल्पिक सत्ता गठन गर्न सके रामो हुन्छ ।’ देशका ठूला राजनैतिक दलका प्रवक्ताको अभिव्यक्ति सुन्दा जसपाको निर्णयअनुसार जसपाकै नेतृत्वमा सरकार गठन हुन सक्ने सम्भावना न्यून छ ।

तथापि जसपाले काँग्रेस र माओवादी केन्द्रलाई मनाउन सकेमा उसकै नेतृत्वमा सरकार गठन हुन सक्छ । तर, कुनै पनि दलले एक्लै सरकार गठन गर्न सक्ने अवस्था भने तत्कालाई छैन । किनकि संविधानको धारा ७६(१) अनुसार एकल बहुमतको सरकार बन्ने सम्भावना छैन । संसदमा कुनै पनि दलको एक्लो बहुमत पुग्दैन । यसर्थ धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको संयुक्त सरकार बनाउनु पर्ने हुन्छ । त्यसका लागि राष्ट्रपतिले दलहरूलाई आह्वान गर्नुपर्छ ।

राष्ट्रपतिले दलहरूलाई गरेको आह्वानअनुसार सरकार गठन गर्न १३६ जना सांसदको समर्थन प्राप्त हुनैपर्छ । वर्तमान सन्दर्भमा संसदमा प्रतिनिधि सभा सदस्य २७१ छन् । जसअनुसार एमालेका १२१, काँग्रेसका ६३ जना प्रतिनिधि सभा सदस्य छन् । माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टी (जसपा)का ३४, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका १–१ जना प्रतिनिधि सभा सदस्य छन् ।

संसद्को संसदीय अंकगणितअनुसार १३६ मत पुर्याउन जसपाले ३४ सांसद एकै ठाउँमा उभ्याए पनि अरू कुनै दलको सहारा लिनैपर्छ । यसका लागि जसपा नेतृतवको सरकार गठन गर्न १०२ सांसद आवश्यक पर्छ । यदि १०२ सांसद पुर्याउन सकेमा उसले सरकार गठन गर्न सक्छ । अन्यथा जसपा नेतृत्वको सरकार गठन हुन सम्भव छैन ।