• मंसिर १२ २०८१, बुधबार

एमाले शक्ति संघर्ष : नेपालको बटम लाइनमा ओली फर्किने सम्भावना न्यून

जेष्ठ ३ २०७८, सोमबार

काठमाडौं/

संसद् विघटन पश्चात् प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि चिढिएका वरिष्ठ नेता माधवकुमार नेपाल समूह विवादको उत्कर्षमै छ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना, नेकपा बदरको फैसला र तत्कालिन ठूला राजनीतिक दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ब्युँताएपछि पनि ओली र नेपाल समूहबीच विवाद समाधान हुन सकेको छैन ।

नेपाल समूहले प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र अन्य साना दलहरूसँग मिलेर प्रधानमन्त्री ओलीको चर्को विरोध गरेको थियो । झन्डै दुई महिना लामो समय ओलीविरुद्ध सडक संघर्ष गरेको नेपाल समूह यतिबेला ओलीसँगै मिल्ने प्रयत्न गरिरहेको छ । आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीसँग बोली बारेका नेपालले बैशाख ८ गते एक्कासी भेटवार्ता गरेका थिए।

उक्त भेटवार्ताका क्रममा यी दुई नेताबीच लामो समयदेखिको संवादहीनता तोडिने बाहेक अर्को गाँठी कुरा केही हुन सकेन । यद्यपि उनीहरूको भेटले एमाले नेता, कार्यकर्ताको अपेक्षामाथि केवल उपेक्षामात्रै गर्यो । त्यसयता यी दुई समूहका नेताहरूबीच गोप्य, एकल र सामूहिक भेटवार्ता हुँदै आएका छन् । तर, उनीहरूको भेटवार्ताले पार्टी भित्रको विवाद समाधान गर्ने कोसिस भने गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसद्को विशेष अधिवेशनबाट विश्वासको मत लिने क्रममा नेपाल समूहका नेताहरूसँग भेटवार्ता गरेका थिए । उनले विश्वासको मत लिनका लागि नेपाल समूहका प्रत्येक नेतालाई ओलीले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । तथापि ओलीले नेपाल समूहका नेताहरूसँग गरेको भेटवार्ताले सार्थकता पाउन भने सकेन ।

किनकि नेपाल समूहले उनलाई विश्वासको मत दिएन । ओलीले नेपाल समूहका नेताहरूलाई बारम्बार भेटेर आफ्नो समूहमा लाग्न आग्रह गरेको नेपाल समूहका एक नेताले बताए । यसका साथै उनले विश्वासको मत दिनसमेत आग्रह गरेको ती नेताले बताएका थिए । उनका अनुसार,  ‘पार्टी भित्रको विवादीत गाँठो फुकाउने विषयमा छलफल गर्नुको साटो ओलीले आफ्नो समूहमा लाग्न बारम्बार आग्रह गर्नुले आजसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन तर, यतिबेला पार्टी एकता हुने सम्भावना कम देखिएकोले दुवै समूह आपसमा छलफल गरिरहेका छौं ।’

यसअघि ओलीले नेपाल समूहका नेताहरू एक/एक जनालाई भेटेर आफ्नो समूहमा लाग्न आग्रह गरेका थिए । तर, केही समययता दुवै समूहले विभिन्न चरणमा भेटवार्ता गर्दै आएका छन । ओलीले बैशाख २४ गते गोकर्ण विष्टलाई सरकारी निवास बालुवाटारमै बोलाएर छलफल गरेका थिए । छलफल झन्डै एकडेढ घण्टा लामो समय भएको बालुवाटार स्रोतले बतायो । उनीहरूबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल भएको थियो ।

त्यस्तै अर्का नेता घनश्याम भुषाल र योगेश भट्टराईसँग बैशाख २३ गते ओलीले बालुवाटारमै बोलाएर लामो समय छलफल गरेका थिए । उक्त छलफलमा पार्टी भित्रकै विवाद समाधानका बारेमा ओलीले कुनै प्रस्ताव नल्याएको बताइएको थियो । समसामयिक राजनीतिक विषयमा छलफल भए पनि पार्टी भित्रको राजनीतिक विवाद समाधानको विषयमा कुनै छलफल नै नभएको नेपाल समूहका केही नेताले बताए ।

नेपाल समूहले ओलीसँग विगत केही महिना यता २०७५ जेठ २ गतेको अवस्थामै फर्कनुपर्ने अडान राख्दै आएको छ । त्यो अडान भने ओली कुनै हालतमा मान्न तयार देखिएका छैनन् । उनले यो कुरा नमानेपछि ओली र नेपाल समूहका नेताहरू आपसमा छलफल गर्दै आएका छन् ।

तथापि प्रधानमन्त्री ओलीले उप-प्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललाई पार्टी विवाद समाधानका लागि परिचालन गरेका छन् । बैशाख २४ गते नेपाल समूहका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेले उनीहरूसँग भेट गरेका थिए । भेटका क्रममा पार्टीभित्र बल्झिएको विवाद समाधानका विषयमा थप छलफल भएको उनीहरूले बताए ।

नेपाल समूहका नेताहरू यतिबेला पार्टीको विवाद मिलाउन निकै लचिलो भएर प्रस्तुत भएका छन् । दुवै समूहका दोस्रो तहका नेताहरू आपसमा भेटवार्ता र छलफल गरिरहेका छन् । पार्टीका दुवै समूहका नेताहरू जतिसक्यो भेटवार्तालाई गति दिने ध्याउन्नमा छन् भने विवाद समाधान गर्ने पक्षमा अहोरात्र खटिरहेका छन् ।

पछिल्लो समय नेपाल समूह हदैसम्म लचिलो भएपछि प्रधानमन्त्री ओलीले पार्टीको विवाद मिलाउने, जेठ ६ गते राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने भन्दै भेटवार्ता तयारी तीव्र पारेको स्रोत बताउँछ । ओलीले आफ्ना यी स्वार्थसिद्धका लागि आफ्ना नेताहरूसँग छलफल र भेटवार्तालाई गति दिएपछि नेपाल कडा रूपमा प्रस्तुत हुँदै आएको एक नेताले बताए । तर पार्टी फुटको सम्मुखमा पुगेको बेला नेपाललाई कडा नहुन नेताहरूले आग्रह गर्दै आएका छन् । तथापि उनी पक्षका नेताहरू भने लचिलो बनेका छन् ।

आसन्न जेठ ६ गते हुने राष्ट्रिय सभा उप-निर्वाचनका लागि नेपाल समूहले विपक्षी दलहरूसँग कार्यगत एकता गरेर आफ्नो तर्फबाट डा.खिमलाल देवकोटाको उम्मेदवारी दर्ता गराएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)बाट देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल समूहसँग कुरा नमिलेपछि एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उम्मेदवारी दर्ता गराएको छ । यदि पार्टी भित्रको विवाद समाधान भएको खण्डमा कुनै एकको उम्मेदवारी फिर्ता लिएर पनि जान सक्ने सम्भावना रहेको दुवै समूहका नेताहरूले बताएका छन् ।

यति हुँदाहुँदै पनि एमाले एकता हुनसक्ने सम्भावना पछि हट्दै गएको छ । हुन त पार्टी एकताका लागि भनेर ओली र नेपाल दुवै समूहले कार्यदल गठन गरेका छन । ओली समूहबाट सुवास नेम्वाङ र नेपाल समूहबाट भीम रावलको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

यस बीचमा प्रधानमन्त्रीका सल्लाहकारहरूले विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा नेपालले अघि सारेको बटम लाइन २०७५ जेठ २ मा फर्किन नहुने भन्दै टिप्पणी गरेका छन् । पार्टी एकताको निकास जतिसक्यो चाँडो टुंगोमा पुर्याउने ध्याउन्नमा नेपाल समूह रहेको छ ।
तर, ओली समूहले नेपाल समूहको बटम लाइनमा तत्काल जान नसकिने संकेत गर्दै आएको छ ।

यद्यपि पछिल्ला केही दिन यता ओली र नेपालबीच भेटवार्ता हुँदै आएको छ । तर, उक्त वार्ताले कुनै निष्कर्षमा भने पुर्याउन सकेको छैन । यसरी हेर्दा, एमाले भित्रको शक्ति संघर्ष र नेपाल समूहको बटमलाइनमा ओली फर्किने सम्भावना न्यून देखिन्छ ।