• मंसिर १२ २०८१, बुधबार

चिकित्सकको हौसला र आत्मीय व्यवहारले बाँचेर आएँ

बैशाख २४ २०७८, शुक्रबार

घोराही २४, बैशाख ।
शोभा बिरामी भएपछि घोराही–१८ जलुकेटोलका केशरबहादुर रावतले मोटरसाइकलमा राखेर उपचार गर्न लैजानुभयो । अस्पतालले छातीमा समस्या भएको र श्वास फेर्न धौ हुने समस्याको उपचार गर्यो । अलि सजिलो भएपछि शोभालाई उहाँले दिउँसो अस्पतालबाट घर ल्याउनुभयो ।

साँझ घरमा सँगै बस्नुभयो । भोलिपल्ट फेरि गाह्रो भयो । केशरले शोभालाई पुनः मोटर साइकलमै अस्पताल लैजानुभयो । अस्पतालले कोरोनाको शंका गर्यो । गत १० गते शोभा भण्डारी रावतको स्वाब परीक्षण गर्दा भोलिपल्ट नेगेटिभ रिपोर्ट आयो । तर स्वास प्रश्वासमा समस्या झन् बढ्यो । केशर निरन्तर शोभाको उपचारमा खटिनुभयो । पर्सिपल्ट फेरि परिक्षण गरियो १३ गते कोरोना पोजेटिभ आयो । उहाँको अवस्था अनुसार कोरोना अस्पतालमै भर्ना गर्नुपर्ने भयो । त्यसै दिनदेखि आठदिन लामो अस्पताल उपार पछि २० गते फर्किनु भयो ।

उहाँलाई स्वास्थ्यमा अलि बढि समस्या देखियो । चिकित्सकको सल्लाह अनुसार औषधि चलाउँदा एक डोजको पाँच हजार लागेको रावत बताउनुहुन्छ । शुरुदेखि नै सहयोग गर्नुभएका कालिका मेडिकलका सञ्चालक बद्रि खड्काको सकृयतामा औषधि फेला परेको केशरको भनाई छ । सात डोज ३५ हजारको औषधिले शोभालाई सञ्चो बनायो । अब १५ दिन वेड रेष्ट गर्नुहोला भन्दै कोरोना विशेष अस्पताल बेल्झुण्डीले उहाँलाई घर पठायो ।

त्यस अवधिसम्म केशर होम क्वारेन्टाइनमा बस्नुभयो । अवगाल परिएला भनेर छरछिमेकमा पनि देखिनु भएन । यो समाचार तयार पार्दासम्म केशरमा कुनै समस्या अएको छैन । उहाँको घरमै पुगेर भेट गर्यौं । नमस्कार भन्यौं, भित्रैबाट नमस्कार फर्काउनु भयो । थोरै अनुहार देखाउनु भएको थियो । उहाँमा भय थियो । कसैलाई मेरै कारणले कोरोना सर्ला भन्ने आतंक थियो । त्यसकारण बाहिर देखिन चाहानु भएन । सिधा हेर्न हिच्किचाउनु हुन्थ्यो । त्यसैले अतिथि आउँदा पनि निस्कने आँट आएन । देख्दैमा कोरोना सरिहाल्छ कि जस्तो पिरमा हुनुहुन्छ उहाँ ।

‘यस्तो बेलामा हजुरहरुले बोलाउँदा पनि धेरै खुशी लाग्छ,’ रावतले भन्नुभयो, सन्चो गराउने आफन्त हुन भन्ने लाग्छ । आठ दिन लामो कोरोना विशेष अस्पताल बेल्झुण्डी, चार दिन बाहिर अस्पताल बस्नु भएकि रावत हल्का हाँस्नुभयो । बाहिर पेटीमा बसेर घामको स्वाद लिनुभयो । अनुभव सुनाउनु भयोे । आफन्त र चिनजानेकाले दिने हौसला निकै आवश्यक रहेछ । कसैले फोन गरेपनि म बाँच्नु पर्छ, मलाई माया गर्ने धेरै छन् भनेर हौसला बढ्ने उहाँको भनाई छ ।

बाहिरी संसार डराएपनि अस्पताल भित्र भने आत्मीय वातावरण छ । ‘अस्पतालमा आँशु पुच्छदिने रहेछन्,’ रावतले कोरोना अस्पतालको सेवा सुविधाका बारेमा भन्नुभयो, ‘मलाई कोरोना अस्पतालको सेवा निकै राम्रो लाग्यो ।’ उहाँका धेरै किसिमका अनुभव रहेका छन् । उहाँका अनुसार अनुसार फोन गर्दापनि कोरोना सर्ला जस्तो व्यवहार गर्ने आफन्त हुँदा पनि रहेछन् । त्यो अस्पतालका चिकित्सकलाई पनि थाहा छ । केही विरामीले पनि त्यत्रो न्यास्रो व्यक्त गर्छन् । उहाँका अनुसार अस्पतालमा उपचार गर्न आएका विरामीहरु रुन्थे, त्यस्तो बेलामा चिकित्सकले आँशु पुछिदिएर हौसला थपेर सहारा दिन्थे । त्यो आत्मीय व्यवहार र सबै बाँच्नुपर्छ भन्ने उत्साह सबै विरामीलाई सँधै दिन जरुरी छ ।

यसरी उहाँलाई पोजेटिभ रिपोर्ट नआउँदा सम्म उहाँका श्रीमान केशरले मरिमेटेर स्याहार गर्नुभयो । रिपोर्टपछि रावत आवश्यक पहलमा लाग्नुभयो । त्यस अवधिमा कालिका मेडिकलका सञ्चालक बद्री खड्का अविस्मरणीय पात्र बन्नुभएको छ । अस्पतालमा भर्ना गराउँदा र वेड पाउँदा उहाँकै भूमिका छ । मेडिकलहरुमा खोजेर औषधि भेट्न पनि उहाँकै सकृयताले सफल भएको छ । सबै व्यवस्थापन गरेर केशर घर क्वारेन्टाइनमा फर्किनु भयो । शोभा एक्लै अस्पताल भर्ना हुनुभयो ।

उहाँका अनुसार आफन्तले किन नसम्झिएको होला भन्ने लागि रहन्थ्यो । अस्पतालमा भने निकै सौहाद्र्रपूर्ण वातावरण थियो । अशक्त विरामीलाई ट्वाईलेट जाँदा पनि अक्सिजन लगाइदिन्छन् । लुला र ठूला जिउ भएकालाई तिन चारजनाले अड्याउँछन्, घिन मान्दैनन् । झर्किने कोही छैनन् । बरु डिउटी फेरिने बेलामा नयाँले नाम केहो ? भनेर सोधिरहन्छन् ।
अस्पतलामा बिरामीहरु थपिने क्रमले वेड नपाएर मानिसहरु रेल स्टेसनमा सुतिरहेको यात्रुहरु जस्तै लाग्थे । धेरैको विजोग थियो । कयौं तड्पिरहेका थिए । सास फेर्न गारो भएपछि डाक्टरले पछाडीबाट ढाडमा डुमडुम पारेर सास फेर्ने बनाउँथे । ‘लापर्वाही गर्छन् भनेर बाहिर हल्ला गरेजस्तो कोरोना विशेष अस्पतालमा छैन ।’ रावतले भन्नुभयोे, ‘भित्र एकदमै राम्रो छ ।’

उहाँका अनुसार चारपटक खान दिन्छन् । उठ्न नसक्नेलाई दिसा पिसाव गर्ने व्यवस्था त्यहीँ हुन्छ । ‘हिँत्ती गर्नुस् भन्छन्, बाल्टीमा दिसा गर्न दिन्छन् । खानै नसक्नेलाई आफै खाना खुवाइदिन्छन् । तर मरिसकेकोलाई गरेको व्यवहार देख्दा भने डरले आत्म थर्थरी काँप्थ्यो । स्टेचरबाट गुडाएर स्वाठ्ठै फालिदिन्थे । त्यसरी हुत्याएको दृश्य देख्दा हे प्रभु मर्नु नपरोस् भन्ने लाग्थ्यो । दिनहुँ मानिस मरिरहन्थे । त्यसरी नै स्टेचरबाट गुडाउँथे ।’

आठ दिन बसेपछि डाक्टरहरुले तपाईंमा भाको कोरोनाले अब हजुर आफैलाई पनि असर गर्दैन । अरुलाई पनि असर गर्दैन । घर जानुस् । १५ दिन वेड रेष्ट गर्नुस् । यो वेड छोडिदिनु भयो भने अर्को बाँच्न पाउला भनेर अस्पतालले अनुरोध गरेपछि शोभा फर्किनुभयो । भुईंमा लद्बद्यान ढलेका विरामी देखेर मनमा दया पलायो । म त ठिक छु । आईसियूमा जानु परेन । म भन्दा कति हो कति गाह्रो परेका विरामी छन् र मैले छोड्नुपर्छ भन्ने लाग्यो । त्यहाँ बस्दासम्म फोक्सोको दिनदिनै एक्सरे गर्ने। धड्कन नाप्ने, चारपाँच चोटी अक्सिजनको स्तर नाप्ने लगायतका सम्पूर्ण सेवा दिएर बचाउँछन् । बाँच्नको लागि मनोबल चाहिन्छ । ठूलो मन गर्ने र आफन्तले माया देखाउने हो भने चाँडै सन्चो हुन्छ भन्ने शोभाको भनाई छ ।