• मंसिर ११ २०८१, मंगलवार

मार्मिक गीत ‘रेलको बाटो’ महिलाको आवाजमा पनि भिडियो सहित बजारमा

बैशाख २४ २०७८, शुक्रबार

काठमाडौँ /

चर्चित तथा मार्मिक गीत ‘रेलको बाटो’ महिलाको आवाजमा पनि रेकर्ड भएको छ l पुरुष भर्सनमा एकदमै रुचाइएको सो लोकप्रिय गीतलाई महिलाको आवाजमा पनि रेकर्ड गरी भिडियो सहित हालै सार्वजनिक गरिएको हो। ‘रेलको बाटो’ बोलको सो गीत समयसापेक्ष समेत रहेको छ। नेपालको विकट ठाउँ हुम्ला र काठमाडौँलाई तुलना गरी सिर्जना गरिएको सो गीतमा विकट हुम्लाका दु:खका कथा, व्यथा र काठमाडौँका सुख सुविधालाई शब्दमा उनिएको छ।

‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा, हुम्ला कैले मोटर आउला बसेको छु हेर्ने रहरैमा भन्दै’ भन्दै काठमाडौँमा रेल कुदाउने कुरा गर्ने सरकारले आफ्नै देशको विकट हुम्लामा एउटा मोटर जस्तो आधारभूत सुविधा समेत पुर्याउन नसकेको यथार्थलाई गीतमा जस्ताको तस्तै व्यक्त गरिएको छ। देश विकास गर्छौं भनेर जनताको भोटबाट चुनिएर काठमाडौँ आइसकेपछि जनप्रतिनिधि भनिएकाहरुले जनतालाई भुलेर सुविधा सम्पन्न ठाउँमा नै रमाउने र नेपालका विकट गाउँका मानिस सिटामोलको अभावमै मर्नुपर्ने कुरा गीतमा देखाइएको छ l चोट लागेपनि भोक लागेपनि जनता रोई बस्नु परेको वास्तविकतालाई गीतको शब्दमा उनिएको छ।

महिला भर्सनमा स्मृती शाहीले स्वर दिएको सो गीतका शब्द लेखराज गिरीले सिर्जना गरेका हुन। सुरज पंडितले संगीत सिर्जना गरेको गीतलाई कमल सौरागले संगीत संयोजन र कुमार रानाले मिक्सिङ्ग गरेका छन्।

चिरन्जीवी सापकोटा ‘जीवी चिरन’, सरस्वती खत्री, लक्ष्मण देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेको सो गीतको भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् भने पदम सुवेदीले सम्पादन गरेका छन् ।  भिडियोका दृश्यहरुलाई भीमसेन कल्यान ठकुरीले  क्यामरामा कैद गरेका छन्। अविनाश घर्तीले ड्रोनबाट भिडियोलाई थप रोचक बनाएका छन्।

हेरौं भिडियो