काठमाडौँ/
नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणमा भारतीय अभिनेता अनुराग कश्यपले आफ्नो अनुभव शेयर गर्ने भएका छन्। चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको महोत्सव कोभिड-१९ महामारीको चपेटाले गर्दा यसवर्ष केही समय ढिलोगरी आयोजना हुन लागेको हो। यसपाली निफको चौथो संस्करण यही बैशाख २३-२७ (May 6-10,2021) सम्म आयोजना हुन लागेको छ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ हुन लागेको सो महोत्सव नेपालमा फिल्म संस्कृतीको विकास गर्ने उद्देश्य सहित शुरु भएको र यस महोत्सवले नेपाली चलचित्र र चलचित्रकर्मीहरुलाई विश्व चलचित्र र चलचित्रकर्मीहरु माझ परिचित गराउने आयोजकको दावि रहेको छ। आयोजकका अनुसार यो महोत्सव चलचित्र मार्फत नेपाली कला, संस्कृती र पर्यटनलाई विश्वभरि फैलाउने अन्तरराष्ट्रिय चलचित्र महोत्सव हो।
निफले यसवर्ष विश्वभरि फैलिएको कोभिड-१९ महामारीका कारण देश लकडाउनमा भएकोले महोत्सवको आयोजना भौतिक रुपमा नगरी भर्चुवल रुपमा आयोजना गर्न लागेको छ। भोलिबाट शुरु हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले गोलमिडीया न्युजलाई बतायो। महोत्सवमा प्रस्तूत गरिने चलचित्रहरु नेट टिभीबाट साथै महोत्सवका अरु कार्यक्रमहरु उदघाटन,अन्तरक्रिया,बहस छलफल,अनुभव आदान प्रदान,समापन आदी कार्यक्रमहरु निफको आफ्नै सामाजिक संजालका पेजहरुबाट लाइभ गरिने समेत बताइएको छ।
उदघाटन पछिको पहिलो सेसनमै उपलब्ध हुने बलिउड अभिनेता,चलचित्र लेखक,निर्देशक,साथै सम्पादकको रुपमा समेत चर्चित अनुराग कश्यपले आफ्नो अनुभव शेयर गर्नेछन्। चार दिनसम्म बिभिन्न कार्यक्रम गरि सो महोत्सव सम्पन्न हुनेछ।