• मंसिर ११ २०८१, मंगलवार

जब बुहारीले जेठाजूको लाश उठाइन्…..

बैशाख २० २०७८, सोमबार

घोराही २० बैशाख ।
‘कठै ! जेठाजुको लाश कसरी उठाउलिन् ?’ नजिक नजिक पुगेर एक महिला भन्दै थिइन् ‘यो हुँदै भइन’ । उनले त्यसो भन्दा साइँली बुहारी कल्पनाले सहोदर माइलो जेठाजु विष्णुध्वज जिसीको शव उठाउने तरखर गर्दै थिइन् । अरुले भन्दै थिए, ‘धेरै आँटिली महिला रइछिन् ।’
डोजरको बकेटमा चटाई बिच्छाइन् । त्यसको माथि सेतो कपडा खप्याइन् । मलामीहरुले टाढैबाट हेरिरहे । अनि घर भित्र लास उठाउन गइन् । केहि बेरपछि रित्तै फर्किआइन् र भनिन् ‘म त सक्दिन, एक्लै हुँदै भइन ।’ उनी हुन् घोराही १४ का कल्पना । सहोदर जेठाजू विष्णुध्वज जिसीको लाश व्यवस्थापन गर्नुथियो । उनको आइतबार बिहान करिब नौ बजे घरमै निधन भएको थियो ।

आइतबार बिहान नौ बजेर नौ मिनेट जाँदा घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीलाई जिसीले फोन गर्नुभएको थियो । अध्यक्ष डाँगीका अनुसार उनले फोनमा आफूलाई अफ्ठेरो भएको सुनाए । पिसीआर गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरे । नौ बजेर २४ मिनेटमा लेखेर २८ मा म्यासेज पठाएर नाम टिपाइदिए । त्यो खबर सुनाउन फेरि नौ ३० मा अध्यक्ष डाँगीले जिसीलाई फोन गरे, सुनेर जिसी पनि खुशी भएका थिए । नौ चालिस जाँदा जिसीको घरबाट फेरि फोन आयो । उनी रहेनन् । आकस्मिक र अप्रत्यासित खबर सुन्नुपर्यो ।

जिसीको अकस्मात मृत्यु भएको स्थानीय राजकुमार गुप्ता (रज्जु) ले जानकारी दिए । उनका अनुसार जिसीले आफ्नै मोबाइलबाट फोन गरेर अध्यक्ष डाँगीलाई नाम टिपाएका थिए । लगत्तै बाहिर आएर दृश्य हेरेका थिए । वारिपारी हेरर भित्र पुगे र मलाई गाह्रो भयो भने । ओच्छ्यानमा पल्टिए । केहिबेरमा अकस्मात मृत्य भयो । पारिवारीक स्रोतका अनुसार पेट फुलिएको थियो । अघिल्लो दिनदेखि पिसाब थुनिएको थियो । त्यसैले स्वास प्रश्वासमा समस्या आयो । परिवारका अरु सदस्य पनि बिरामी भएकाले पिसीआर गर्न माग गरेका थिए । वडा अध्यक्ष शक्तिराम डाँगीलाई पिसीआरको लागि फोन गरेर बाहिर निस्किएका हुन् ।

एक घण्टा नबित्दै अध्यक्ष डाँगीलाई एक पटक पिसीआर गरिदिनुस् भन्ने अनुरोध अर्कोपटक मृत्युको खबर पुग्योे । अध्यक्ष डाँगी घरमै पुग्नुभयो । मृतक जिसी घोराही उपमहानगरपालिकाका कर्मचारी हुनुहुन्थ्यो । घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, नगरका प्रवक्ता एवं घोराही–१८ का अध्यक्ष भरतमणी अर्याल लागायतले लास व्यवस्थापन थाल्नुभयो । त्यो अप्रत्यासित घटनाले अध्यक्ष डाँगीलाई अहिलेपनि पिरोलिइरहेको छ । उहाँका अनुसार फोनबाट नाम नटिपाइकन पुगेको भए बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ ।

मृत्युपछि कोरोनाको शंका गरे । संस्कार अनुसार शव व्यस्थापन गर्न आफन्तजनले मानेनन् । अध्यक्षहरुका अनुसार नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई ल्याउन लामै समय जोर जुलुम गरियो । अनेक पहल र प्रयास गरे पनि बोलाउन सकिएन । अध्यक्ष डाँगीका अनुसार पिसीआर जाँचगरी कोरोना पोजेटिभ नभएको लाश व्यवस्थापन नेपाली सेनाले गर्दैन भन्यो । अरु कुनै पनि उपाए लागेन । अन्तमा घोराही उपमहानरपालिकाको डोजर ल्याउने अध्यक्षहरुको सहमति भयो । त्यस बेलासम्म दिउँसो दुई बजिसकेको थियो । यति लामो समयसम्म पनि लाश व्यवस्थापन गरिन् भनेर समाजिक सञ्जालमा गुनासा पोखिन् थालेका थिए । उपमहानगरलाई आलोचना गर्न लागेका थिए ।

दिउँसो पिपीई लगाएका डोजर चालकले घरको ढोकामै डोजर ल्याए । बकेट कोठातर्फ सोझ्याइदिए । घर भित्रबाट लाश ल्याउने र त्यसमा बसाल्ने कोहि भएन । बुहारी कल्पना एक्लै कस्किनुभयो । उहाँको उपाए चलेन । दुई तिन पटक उठाउन जानुभयो । एक्लै सम्भवै थिएन । तर एउटी महिलाले लाश उठाएर ल्याउनु आफैमा अनौठो थियो । त्यसमा पनि छुनै नमिल्ने बुहारीले गर्दै हुनुहुन्थ्यो । त्यसले झन् अर्को नयाँ सवाल सिर्जना गर्यो ।

बाहिर जमात अलि ठूलै भइसकेको थियो । वारिपारीका घरका छत बाल्दरी एवं ढोकाहरुबाट मुन्टो तानेर हेर्नेहरु प्रशस्तै थिए । सडकमा जम्मा भएको समूहबाट एकजना छिमेकीले सहास गर्नुभयो म जान्छु । उहाँलाई अध्यक्षहरुले पिपीइको व्यवस्था गर्नुभयो । ‘उहाँ सहासी हुनुहुन्छ’ भन्दै छिमेकी खिमबहादुर डाँगी पिपीइ लगाएर कल्पनालाई साथदिन जानुभयो । उहाँहरु भित्र पसेको निकै बेरपछि मात्रै लाश बाहिर ल्याउन सकियो ।

मृतक जिसीको छोरा, श्रीमति सहित पाँच जनाले साँघुरो गल्लीबाट मुश्किलले बाहिर ल्याउनुभयो । लाश बकेटमा हाल्नुभयो । छोराको लाश पर्खिएर बकेट छेउमै बसेकी बुढी आमा पानी छर्किंदै गर्नुहुन्थ्यो । जसै लाश बकेटमा बसालियो उहाँ केही बेर बर्बराउनुभयो । छिमेकी काम लाग्छन् भन्ने यहिँ रहेछ आमाले भन्नुभयो, ‘आए सरासर, आँखा हेरे, दाँत हेरे छैन गा‘छ पो भने, सुन पानी खोज भने ।’ उहाँका अनुसार अरु कोहि पनि आएनन् । पारीपारीबाट हेरे मात्रै । तिनै छिमेकी डाँगीले दाह संस्कारको अन्तसम्म सघाए ।

प्रयास धेरै गरियो

नेपाली कांग्रेस निकट तरुण दलका टिका घर्तीले प्रमुख जिल्ला अधिकारी दिर्घनारायण अर्याल लागायत धेरै संग पहल गर्नुभयो । घोराही–५ का अध्यक्ष विष्णुमणि दाहाल, घोराही–७ का अध्यक्ष खोपिराम चौधरी लगायत पाँच जना वडा अध्यक्ष हुनुहुन्थ्यो । वडा प्रहरी घोराही प्रमुख  हृदयेश सापकोटा लगायतको उपस्थिति थियो । तर लाश व्यवस्थापन कार्य निकै जटिल भयो ।

‘सर्वसाधारण कालगतिले मरे के हुन्छ ?’ उपस्थित धेरैले प्रश्न गरिरहेका थिए । उपमहानगरका कर्मचारीको व्यवस्थापन गर्न भएको जटिलताले मृत्यु संस्कारमै प्रश्न चिन्ह खडा गरेको थियो । भाई बुहारीले शव व्यवस्थापनमा खट्दाको दृश्यले केहि महिलालाई बिझाएको थियो । उनीहरुले अफ्ठेरो मानेपनि त्यहाँ अर्को विकल्प थिएन । त्यसै बाध्यात्मक परिस्थिति जन्मियो । केहि आफन्तले भने कोरोना नभएकालाई किन यसो गरियो । हामी सद्गत् गर्ने थिइम् भन्दै थिए । उनीहरु अलिक टाढाका भएकाले आँट्न मिल्दैन्थ्यो ।