• मंसिर १२ २०८१, बुधबार

महेन्द्र-विपीमाझ यसरी खेले नेहरु

बैशाख १४ २०७८, मंगलवार

चिनियाँ काजीको मृत्यु भएपछि राणा र कांग्रेसको संयुक्त अन्तरिम सरकार भङ्ग भयो । त्यसपछि प्रधानमन्त्री नेपाली कांग्रेस पार्टीका नेता विश्वेश्वरप्रसाद कोइराला नै हुनुपर्छ भन्ने सोचाइविपरीत पण्डित जवाहरलाल नेहरुको इच्छाअनुसार मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुन पुगे । त्यसको विरूद्व नेपाली कांग्रेसमा ठूलो द्वन्द्व भयो । तर भारतीय प्रधानमन्त्रीको इच्छाविपरीत जानसक्ने कसको ताकत ?

राणाविरुद्ध राजा त्रिभुवनलाई राजगद्दीमा नेपाली कांग्रेसले स्थापना गराएकाले उनले नेकाको इच्छाअनुसार नै विश्वेश्वरलाई प्रधानमन्त्रीमा राख्छन् भन्ने थियो । त्रिभुवनको इच्छाले मात्र केही हुनेवाला थिएन । मातृकाप्रसाद प्रधानमन्त्री भएकोमा नेकाले मान्यता दिएन र बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा पार्टीले मान्यता नदिएपछि मातृका कोइराला प्रधानमन्त्री हुन पाउँदैनन् भन्ने सैद्धान्तिक कुरा अघि सारेर उनलाई हटाउन खोजे । तर मातृका कोइरालाले नेपाल प्रजा पार्टी नामको नयाँ पार्टी खडा गरी आफ्नो मन्त्रिमण्डल गठन गरेर सरकार बनाएर देखाइ दिए । नेपाली कांग्रेसले मातृका प्रधानमन्त्री बनेकोमा पार्टीको सङ्कटकालिन सम्मेलन गरेर उनलाई पार्टीले नस्वीकार्ने कुरा घोषणा गरे पनि दिल्ली सरकारले निर्देशन दिएर बनाइएका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई हटाउने कसैको तागत थिएन ।

मातृकाप्रसाद कोइरालाले प्रजा पार्टी बनाए र नेपाली कांग्रेसकै मातृकालाई साथदिने व्यक्तिहरु लिएर मन्त्रिमण्डल बनाएका थिए । त्यसपछि नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद र मातृकाप्रसाद कोइरालाबीच एउटा बाबुका छोराहरु सौतेनी भाइभाइको रूपमा पार्टीपार्टीबीच राजनीतिक झगडाको खिचातानी सुरू हुनथाल्यो । त्यस किसिमको पार्टी भित्रको तानातानी व्यापकरूपमा फैलदै गएको थियो ।

राणा र कांग्रेसको संयुक्त अन्तरिम सरकार भङ्ग भएको केही समयपछि मोहनशमशेर, बबरशमशेर, कृष्णशमशेर आदि चन्द्रशमशेर राणाका छोराहरु भारतको मैसुर राज्य (हालको कर्नाटक राज्यको बैङलोर)मा घरजग्गा किनेर बस्न गए ।

भारत जाँदा लगेर बैंकमा राखिएको मोहनशमशेरको सबै चल सम्पत्ति भारत सरकारद्वारा राष्ट्रियकरण भयो । चन्द्रशमशेरका छोरा केशरशमशेर, शंकरशमशेर, मदनशमशेर र विष्णुशमशेर त्यहाँ बस्न गएका थिएनन् । नेपाल छोडेर बैङ्गलोरमा जानुभन्दा पहिले चन्द्रशमशेरका छोरा कृष्णशमशेर राणाले महाराजगञ्जमा भएको भव्य घर नेपाल सरकारको नाममा विदेशबाट नेपाल आउने सरकारी पाहुनालाई राख्ने पाहुना घरको रूपमा उपहार दिएर गएका थिए ।

त्यो घरमा केही समय परराष्ट्र मन्त्रालय पनि बसेको थियो । हाल त्यो भवन रहेको स्थानमा राष्ट्रपति भवन बनेको छ । त्यस बखतमा नेपालमा न राम्रो होटेलको विकास भएको थियो, न त कुनै पाहुना राख्ने राम्रो घर नै थियो । नेपालको इज्जत राख्न कृष्णशमशेरले उपहारस्वरुप दान गरेको घरले वास्तवमा नेपालको ठूलो इज्जत राखेको थियो ।