काठमाडौं । श्वासत सत्य यहीँ हो, -‘संविधान, कानुनभन्दा माथि कोहीँ हुँदैन ।’ तथापि यो देशमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा माथि न संविधान छ, न कानुन । यसको ज्वलन्त उदाहरण हो, -‘पुष ५ गते प्रधानमन्त्रीद्धारा नै संसद् विघटन ।’ जुन कुरा संविधानमा उल्लेख नै गरिएको छैन ।
त्यस्तै टाढा जानु पर्दैन, बैशाख ६ गते मन्त्रीपरिषद्ले २५ जनाभन्दा बढी भेला वा जम्मा हुन नपाउने निर्णय गरेको छ । तर, प्रधानमन्त्री भने आफ्नै मन्त्रीपरिषद्को निर्णय उल्लङ्घन गर्दै दिनहुँजसो सयौँको संख्यामा भीड जम्मा गरिरहेका छन् ।
आइतबार बालुवाटारमा मापदण्डविपरीत २० गुणाभन्दा बढी संख्यामा मानिसहरू जम्मा भएर एमाले ओली समूहको बैठक बस्यो । उक्त बैठकमा न स्वास्थ्य सर्तकताको मापदण्ड पालना गरिएको थियो, न गराइएको थियो ।
त्यस्तै शनिबार प्रधानमन्त्री ओलीले नै धराहरा उद्घाटन गरे । सो उद्घाटन कार्यक्रममा पनि सयौँको संख्यामा मानिसहरू जम्मा भएका थिए । ती मानिसहरूलाई ओलीले भाषण दिन भ्याइनभ्याई थियो । यद्यपि उनले कोरोना भाइरसको संक्रमण तथा उच्च जोखिमका कारण दैनिकजसो मानिसरू संक्रमण हुने र त्यसबाट मृत्य ह्ने प्रवाहलाई कुनै ख्याल नै गरेनन् ।
कोरोना भाइरस संक्रमण तथा उच्च मृत्युदर भईरहेको बेला देशका प्रधानमन्त्री नै असंवेदनशिल बन्नुले थप भयावह अवस्था सिर्जना भएको छ । देशको बागडोर सम्हालेका व्यक्ति नै संक्रमणलाई खेलाची ठान्नुले सर्वसाधारण नागरिक त्रसित बन्दै गएका छन् ।
गएको पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण २८ जनाले ज्यान गुमाएका छन् । गत २४ घण्टामा २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ ।
देशभर ३१ सय २२ संक्रमित थपिएका छन् । जसमध्ये उपत्यकामा मात्रै १४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । १८० जना आईसीयूमा भर्ना भएकामध्ये ४७ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण दिनानुदिन भयावह बन्दै गएको छ । तर, यस्तो अवस्थामा पनि देशका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू मनमौजी विभिन्न सार्वजनिक स्थलमा भेला, सभा, सम्मेलन आदि गर्दै अएका छन् ।
सोमबार (आज) अर्थमन्त्री विष्णु पौडेलले संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने भन्दै सतर्क रहन आमसर्वसाधारणलाई आग्रह गरेका छन् । सोमबार एक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै उनले आग्रह गरेका हुन् ।
अर्थमन्त्री पौडेलले नेपालमा कोरोना संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए ।
जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताए । उनले भने, ‘कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रूपमा देखा परेको छ । हामी कहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरू गरिएको छ ।
हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा प्राथमिकताको(सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।
अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्नु नहुने बताए । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरू अवलम्बन गरेर कोभिडविरुद्धको लडाइँलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरूको सहयोग गर्नसमेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्का सदस्यको अभिव्क्ति सुन्दा सर्वसाधारणमा अलिकति आश पलाएको छ । तथापि प्रधानमन्त्रीको कार्यशैली र उनको मानिसहरूको भिडभाड जम्मा गर्ने प्रवृत्तिका कारण अधिकांश नागरिक सशंकित छन् ।
खासमा यस्तो बेला प्रधानमन्त्री नै संवेदनशिल बन्नु आवश्यक छ । उनले नै देशका आममानिसहरूलाई यसबाट बचाउनका लागि विभिन्न रणनीति अपनाउनु पर्छ । यो समयमा आफू पनि सुरक्षित हुने र अरूलाई पनि सु।क्षित रहन आग्रह गर्नुपर्छ ।
यद्यपि उनले यस बारेमा सर्वसधारणलाई आग्रह त नगरेका होइनन् । तर, स्वयम् आफैले गरेको निर्णय उल्लङ्घन गर्नु राम्रो होइन । कोरोना संक्रमण तथा मृत्युको भयावह अवस्था सिर्र्जना हुँदा पनि प्रधानमन्त्री ओली नै मानिस जम्मा गर्दै हिड्नुले यहीँ उखान चरितार्थ हुन्छ, –‘सानालाई ऐन ठूलालाई चैन ।’