दोस्रो लहरको कोरोना महामारी संक्रमणसँगै यातायात फेरि पनि अर्को पटक जोखिम मोल्ने अवस्थामा पुग्न थालेको देखिएको छ । पहिलो त मानिसहरु भ्रमण, भेटघाट र अनावश्यक यात्रालाई छोट्याउन थालेका छन् । दोस्रो कुरा, बैशाखको अन्तिम सातालाई केन्द्रविन्दु बनाएर स्वास्थ्य मन्त्रालयले तीन–हप्ते लकडाउनका लागि मन्त्रीमण्डल र सीसीएम्सी समक्ष सिफरीश गरिसकेको छ । अहिलेको अनुमानमा बैशाखको अन्तिमतिर दोस्रो लहर उच्च विन्दुमा पुग्ने छ ।
यसले पोहर साल फैलिएको पहिलो कोरोना संक्रमणको लकडाउनका बेला यातायातले बेहोरेको अवस्था फेरि पनि आउने संकेत देखिएको छ । तथापि सरकार तथा सम्बन्धित निकायले देशको अवस्था लकडाउनमै नलगेर यसको वैज्ञानिक व्यवस्थापनका लागि केही प्रयास जारी राखेको देखिएको छ ।
यसका लागि उकालो लागिरहेको कोरोनाको स्थितिलाई मध्यनजर गरी चालु सवारी साधनमा पहिलो चरणमा सिट क्षमताअनुसार मात्र यात्रु राख्नुपर्ने व्यवस्था गर्न सुझाइएको छ । तर अर्कोतिर यही मौका पारेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेपछि यातायात सञ्चालकका लागि यो टाउको दुखाइको विषय बन्न पुगेको छ । मूल्य बृद्धिअनुसार भाडा उठाउनका लागि पनि यात्रुलाई बसमा कोचेरै यात्रा गराउनु पर्ने अवस्था सिर्जना हुन गएको छ ।
सिट क्षमताअनुसार यात्राका बारेमा विवाद भैरहेका बेला महानगर यातायातले सरकारको निर्देशनअनुसार सिटमा मात्रै यात्रु राखेर सेवा दिन सुरू गरिसकेको बताएको छ । अन्य यातायात सेवा प्रदायकहरु भने यसका बारेमा मुख खोलेर बोलेका छैनन् । अर्कोतिर यात्रु पनि यो प्रावधानका बारेमा सचेत भैदिनका लागि यातायात सञ्चालकहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले बस चढ्न पाएँ भनेर यात्रुहरु पनि खचाखच भएर नचढिदिन र महामरीप्रति सचेत भैदिन भनिरहेका छन् ।
सञ्चालकहरुका अनुसार यदि यसलाई उचित व्यवस्थापन गरेर लैजाने हो बढेको पेट्रोलियमको मुल्यसँगै भाडादर समायोजन गरेर अघि बढाउनु पर्छ । पुरानै भाडा दरमा अहिलेको मापदण्ड कार्यान्वयन गर्न सकिने अवस्था छैन । उनीहरुले भन्ने गरिरहेका छन्, हामीहरुको मर्का कसले बुझिदिने ?
कोरोना महामारीको दोस्रो लहर छाइरहेको बेला पछिल्लो एक महिनामा मात्रै तेलको भाउ प्रतिलिटर १२ रूपैयाँभन्दा बढि हुन गएको छ । यसका लागि सार्वजनिक सवारीको भाडादर समायोजन गरिनु जरुरी छ ।
उनीहरुका अनुसार कार्यालयको समयभन्दा अन्य समयमा सिट अनुसार यात्रु पनि पाइँदैनन् । यसका कारण जम्मा भएको रकमले गाडीमा तेल भरेर व्यवसाय चलाउन समेत गाह्रो छ ।
यातायात व्यवसायीको आरोप यो भन्दा पनि चर्को छ । उनीहरु भन्छन्, कोरोनाका कारणले भन्दा सरकारको दोधारे नीति र कार्यक्रमले व्यवसाय संकटमा पर्दै गैरहेको छ ।