• मंसिर १२ २०८१, बुधबार

सुगम भनिएको दाङकै सबै घरमा छैनन् चर्पी

बैशाख ११ २०७८, शनिबार

घोराही, ११ बैशाख ।
खानेपानी छैन चर्पी के ले सफा गर्ने ? घोराही उपमहानगरपालिका-४ आदर्श टोल लक्ष्मिपुरका रिना विकले भन्नुभयो, बच्चा स्कुल पठाउन ढिलो भइजान्छ, सबैभन्दा ठूलो पानीको समसया छ । उहाँका अनुसार चर्पी सफागर्ने पानी छैन । ख्वाल्ल बगाउने छ्याल व्याल पानी भए हुन्थ्यो । अड्कलेर हाल्नुपर्छ । ठिक्क बगाउने जति मात्रै पानी खर्च गरिन्छ । त्यसैले भएका चर्पी पनि सफा छैनन् ।

समथर भुभाग भएपनि पहाडको फेंदमा लक्ष्मीपुरका धेरै बस्ती छन् । सवारीकोट लगायतका केही टोलहरु पहाडमै छन् । दुई ठाउँमा बोरिङ धस्दा पनि पानी नआएको लक्ष्मीपुरका माधवप्रसाद शर्माको भनाई छ । उहाँका अनुसार कुवा सुकिसके । गहिरा कुवामा धमिलो पानी आउँछ । बोरिङ असफल भयो । सुख्खा मौसममा जहिल्यै कुवा सुक्छन् । नयाँ कुवा खन्न खोज्यो पानी निस्किन्न । अन्त कतै मुहानबाट पानी ल्याउने हो भनेपनि भेटिंदैन । सिद्धार्थ र आदर्श टोलमा सबैभन्दा पानीको अभाव छ । सरसफाइ गर्छु भन्नेलाई पनि सजिलो छैन । फोहोर शौचालय प्रयोग गर्नेलाई पनि जोड बल गरेर सफा राख भन्न सकिन्न ।

दिसाको लेदो व्यवस्थापन उत्तिकै समस्या छ । टंकीबाट शौचालयका पाईप खुला छोड्ने समस्या पनि रहेको हितलाल भण्डारीले बताउनु भयो । उहाँका अनुसार त्यसको कारणले वातावरणमा दिसाजन्य दुर्गन्ध फैलिने खतरा बढिरहेको छ । यसरी बनेका शौचालय व्यवस्थित छैनन् । केही घरमा नयाँ बनाउनुपर्ने पनि छ । फोहोर शौचालयमा शौच गर्ने बाध्यता लक्ष्मीपुरका धेरै घरमा रहेको छ । टोलटोलमा शौचालय नबनाएकाहरुको संख्यापनि धेरै छ । तरपनि हरेक घरले आवश्यक डस्ट विन राखेर पूर्ण सरसफाइ अभियान चलाउने त्यहाँका अगुवाहरुको भनाई छ । उनीहरु कुनैपनि फोहोर भुईंमा नखसाल्ने बताउँछन् । खाना खाँदाको हड्डी समेत भुईंमा नफाल्ने र बाटो हिंड्दा सुर्ती र भोलाका खोल गोजीमा हाल्ने उनीहरुको भनाई छ ।

खाना खाँदा हड्डी र अरु फोहोर पनि भुईंमा फाल्दैनौं, वसन्तापुर टोलका विष्णु पाण्डेयले भन्नुभयो, अब छोरी बुहारीले जुठो सोहोर्ने नाममा अरुले चुसेर फालेका हड्डी रमाई रमाई सोहोर्न सक्दैनन् । अहिलेसम्म चलन त्यस्तै चल्दै आएको तर अब बदल्ने बताउनुभयो । खानाखाने बेला अलग भाँडो बसाल्ने र त्यसता कुरा जम्मा गरेर व्यवस्थापन गर्ने उहाँको भनाई छ । टोल टोल बस्ती बस्तीमा सचेतना अभियान चलाउने बताए ।
यसैगरी पहिलो डस्ट विन गोजीलाई बनाउने र कतै पनि फोहोर हुन नदिने देविराम पाण्डेयको भनाई थियो । उहाँले बाटोमा हिंड्दा निस्केको प्लाष्टिकजन्य फोहोर गोजीमा हाल्ने । घरमा डस्ट विन राख्ने र त्यसैमा फाल्ने, विद्यालयका हरेक कक्षा कोठामा डस्ट विन राख्न लगाउने उहाँको भनाई थियो । ‘सबैभन्दा फोहोर मानिस रहेछ’ उहाँले भन्नुभयो, ‘पशुपंक्षी त सफा रहेछ । उसले मानिसले जति फोहोर गर्दैन ।’ उहाँका अनुसार फोहोर गर्न सक्नेले सफा बनाउन पनि सिक्नुपर्छ । त्यसैले अब फोहोरी बनेर बस्न सकिंदैन ।

सुन्दा र भन्दा सानो तिनोकुरा जस्तो लागेपनि पूर्ण सरसफाई जीवनका लागि ठूलो महत्व रहेको साविक लक्ष्मीपुर गाविसका पूर्वअध्यक्ष मोहन घिमिरेको भनाई छ । उहाँका अनुसार आँखाले नदेखिने किटानुले रोगी बनाउँछ । थोरै खानेलेपनि फोहोर खायो भने मन्द विष हुन्छ । सुरक्षित खाना खाए औषधी हो । खानेकुरामा वास्ता नगरे भोलि ठूलठूला रोग आउने र भयावह स्थिति ल्याउने उहाँको भनाई थियो ।

यसो त शौचालयको टंकी भरिएर दुर्गन्ध फैलिने खतरा बढेकोे घोराही वडाको पहाडी टोल सवारीकोटका अगुवाहरुको भनाई छ । टोल विकास संस्थाका अगुवाहरुले शौचालय लेदो फालेर टंकी सफा गर्न नसकेको जानकारी दिए । त्यसक्षेत्रका नौ टोलका अगुवाले खुला दिसामुक्त अभियान चल्दा सानो, थोरै रिङ हालेको र गलत गरेको स्किारे ।

त्यसबेलाको भुल सम्झएर चुकचुकाए । खुला दिसा मुक्त गर्दा हतारहतार बनाएका सानासाना शौचालयका टंकी भरिन थालेका छन् । केहिले टंकीको आकार कत्रो बनाउनु पर्ने थाहै नपाएको सुनाए । शौचालयको टंकी भरिएर बाहिर चुहिन्छ, जनुकेरी टोलका अध्यक्ष देवीराम पाण्डेयले भन्नुभयो, फाल्नुस् भनेको मान्नुहुन्न । उहाँका अनुसार कसरी फाल्ने थाहै छैन । कता लगेर फाल्ने र शौचालय प्रयोग गर्न योग्य बनाउने चिन्ता छ । बाल्टीमा उबाएर बारीमा खाडल खनी पुर्नुपर्छ भन्दा घिन मानेर रोकिएको बताए ।

शौचालय भरिने समस्या रहेको तार्किनी टोलका अध्यक्ष अशोकबहादुर रोकामगरको भनाई थियो । कसरी कता लगेर फाल्ने भन्ने थाहै छैन । यसैगरी आफूले खानेपानीको मुहान जाँच गरीदिन पालुथानका डिल्ली पन्थीको आग्रह थियो । जानेका कुरा व्यवहारमा लागु नगर्ने मुख्य समस्या रहेको रानी जागृतिका चिन्ता घर्तीको गुनासो थियो । सरसफाइका कुरा व्यवहारमा देखाउनु पर्छ । एक घर एक चर्पी बनाएर खुला दिसामुक्त गरियो । त्यसपछि पूर्ण सरसफाईमा अगाडी बढ्न ढिला भएको मुल गाउँटोलका अध्यक्ष श्रीधर घर्तीको सुझाव थियो । अबका दिनमा पूर्ण सरसफाई अभियान नचलाए रोगबाट बच्न सकिन्न ।

त्यसक्षेत्रमा रहेको एक मात्रै विद्यालय आधारभूत विद्यालय सवारीकोटका हरेक कक्षामा डस्टविन व्यवस्था गरेको शिक्षक धर्मबहादुर पुनको भनाई थियो । उहाँले कक्षा कोठामै विद्यार्थीलाई खानेपानी सुविधा दिने योजना रहेको सुनाउनु भयो । घरघरबाटै बच्चालाई सरसफाइ गर्ने बानी बसाल्न आग्रह गर्नुभयो । सबै कुराको पहिलो पाठशाला घर हो ।

यसैगरी अगुवाहरुले टोलटोलमा सरसफाई गाडी पठाउन उपमहानगरलाई आग्रह गरेका छन् । घरघरमा पानी र टोलटोलमा सरसफाई गाडी पुगे पूर्ण सरसफाई गर्ने उनीहरुको भनाई थियो । मासिक एक दिन गाडी पुगेपनि राहत हुने तल्लो भकारे टोलका अध्यक्ष कुलबहादुर गोतामलेले बताउनु भयो । उहाँले टोलमा मासिक बैठक र सरसफाई अभियान चलाउको जानकारी दिनुभयो । सरसफाई गाडी नपुग्दा प्लाष्टिकजन्य फोहोर गाड्ने र जलाउने गरिएको भनाई छ । घोराही रामपुर सडकमा गुड्ने तर भित्री गाउँ नपस्ने भएर फोहर फाल्न सकिएको छैन । खानेपानी नहुँदा शौचालय सफागर्न नसकिएको शिव मन्दिर टोलका मिना खत्रीको भनाई छ । उहाँका अनुसार दिनमा दुई तिनखेप पानी पाउन पनि मुश्किल छ । खाना र वस्तुभाउलाई पुग्दैन । शौचालय सरसफाइ गर्न कहाँबाट पानी ल्याउने । समस्या छ ।

कर तिरेका ठाउँमा गाडी पठाउने गरेको घोराही उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख अरुणकुमार अधिकारीको भनाई थियो । उहाँले मासिक, पाछिक साप्ताहिक र दैनिक सरसफाई गाडी पठाउने व्यवस्था छ । त्यसै अनुसार सरसफाई शुल्क असुलिन्छ र गाडी पठाइन्छ । त्यसो नगरी फोहोर बेच्न आग्रह गर्नुभयो । टोल भरीले जम्मा गर्ने र गाडी भरिने अवस्थामा माग गर्न सुझाव दिनुभयो । टोलटोल सफा गराउँदै सिंगै उपमहानगरलाई पूर्ण सफा घोषणा गर्ने कार्यक्रम रहेको शाखा प्रमुख अधिकारीको भनाई थियो ।

साविक लक्ष्मीपुर नमुना गाविस २०७० फागुन २५ का दिन दाङ जिल्लाको ३२औं खुला दिसामुक्त गाविस घोषणा भयो । अहिले घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ बनेको छ । त्यसबेला खुलादिसा मुक्त अभियानमा लागेकै अगुवाहरु अहिले वडाका जनप्रतिनिधि छन् । खुला दिसामुक्त अभियान बेलाकै कर्मचारी हेमराज पौडल अहिले पनि छन् । खुला दिसामुक्त भएको सात वर्ष विति सक्दा समेत सबै टोलका सबैका घरमा शौचालय बनेका छैनन् ।

हरेक टोलहरुमा चर्पी नबनाएकाहरु भेटिने गरेको वडा सदस्य लिलादेवी गोतामेको भनाई छ । कति घरमा छैन त्यसको विवरण ल्याउन टोलहरुलाई आग्रह गरिएको जानकारी दिनुभयो । बौद्धिक वर्ग वस्ने ठाउँमै शौचालय नबनाएका व्यक्ति भेटिएको सदस्य भिमबहादुर कुँवरको छ । उहाँहरुले खुला दिसामुक्त हुँदा झुटा कागज गर्दा समस्या आएको सिवकार्नु भयो । अब पूर्ण सरसफाइका लागि हरेक घरले शौचालय बनाउनै पर्ने बताउनु भयो । शौचालय नबनेको कुरा आयो । सदस्य रचनी चौधरीले भन्नुभयो, ‘आउने समय जसरी पनि बनाउने छौँ ।’ उहाँले अशक्तले वडाले बनाइदिने बताउनु भयो ।

साविक लक्ष्मीपुर नमुना गाविसलाई अहिले पनि १९ वडाकै नमूना बनाउन लागि परेको वडाअध्यक्ष भिमबहादुर सार्कीले जानकारी दिनुभयो । उहाँले शौचालय नबनाएको, भत्किएको, बनाउन नसक्ने र बाहिर फोहोर फाल्नेलाई वडामा जानकारी गराउन वडाबासीलाई आग्रह गर्नुभयो । अध्यक्ष सार्कीका अनुसार वडाले आवश्यक आर्थिक पहल गर्नेछ । कसैलाई पनि खुला दिसा र फोहोर गर्न दिनेछैन । वडाले हरेक वर्ष पूर्ण सरसफाइमा बजेट खर्च गर्दै आएको छ । तर बस्तीका सबैघरमा शौचालय बनिसकेका छैनन् । कति बनेनन् वडासँग पनि जवाफ छैन । न त तथ्यांक नै संकलन गरेको छ ।