काठमाडौँ। त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै उपाधि हात पारेको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमै समेटियो ।
नेदरल्याण्डका लागि म्याक्स ओडाडउडले २० रन जोडे । टाविस भिसा २ रनमै आउट भए । बिन कपुरले ७, बास डे लिडाले १, स्कट इड्वार्डले ५ रन जोडे । यस्तै, एन्टोन्युस स्टाल शून्यमै आउट भए । पिटार सेलारले १३, सेबस्टियान ब्राटले २६, पल भ्यान मिकिरनले ५, फिलिपे बोइसरिनले ७ र भिभिन किंगमाले ४ रन जोडे ।
नेपालका लागि करन केसीले तीन विकेट लिए । कमलसिंह ऐरी र सन्दीप लामिछाने समान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । उनको यो सिरिजमा चौथो अर्धशतक हो । कुशल मलले पनि अर्धशतक प्रहार गरे । उनले ५० रन जोडे । अर्का ओपनर आसिफ शेखले भने १६ रनमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।
नेदरल्याण्डका लागि फिलिपे बोइसरिनले दुई विकेट लिए । सेबस्टियान ब्राटले एक विकेट लिए ।
टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो अहिलेसम्मकै ठूलो योगफल हो ।