• मंसिर १२ २०८१, बुधबार

हात्तीपाइले रोग र यसबाट बच्ने उपायहरु

बैशाख ११ २०७८, शनिबार

नेपालमा हात्तीपाइले रोग अद्यावधि देखिइरहेको छ । यसको उन्मूलनका लागि सरकारी अभियान चालिएको पनि धेरै भैसक्यो । तर पनि सबैलेयो औषधि खाइसकेका छैनन् । तिनै मानिस फेरि हात्तीपाइले रोग फैलाउनेस्रोत बनिरहेका छन् । उदाहरणका लागि बाँकेमा २०६७ सालदेखि औषधी खुवाउन थालिए पनि लक्षित बर्ग सबैले आजसम्म औषधि खाएका छैनन् । अभियान प्रभावकारी पनि हुन सकिरहेको छैन ।

पोहर साल मात्र ५ लाख ४२ हजार ६ सय ३६ जनालाई औषधि खुवाउने लक्ष्य राखिएकामा जम्मा ५२ प्रतिशतले यो सेवा लिए । बाँकी लक्ष्य अपूरै रह्यो । सरकारी आँकडामा पहिलो चरणको अभियान चल्दा २१ प्रतिशत रोगी भएकामा यतिका वर्षसम्म यो अभियान चलाउँदा पनि जम्मा १० प्रतिशत मात्र कमी हुन आएको छ । यसको मात्रा पुर्याउन बर्षको १ मात्रा लिएर निरन्तरता दिई ६ बर्षसम्म खाए पुग्छ ।

नेपालमा मात्र होइन, विश्वमा पनि यो रोग नियन्त्रण हुन सकिरहेको छैन । विश्व स्वास्थ्य संगठनले विश्वका ८३ देशमा यसको समस्या निकै जटिल भएको देखाएको छ । यसलाई विश्वमा प्रमुख दीर्घरोगका रुपमा लिएको छ । यही रोगका कारण विश्वका हाल १२ करोड संक्रमित, ४ करोड बिकंलाग तथा १ अर्ब ३० करोड जोखिममा छन् । यसबाट पनि यसको भयाबह अवस्था प्रष्ट झल्किन्छ । हात्तीपाइलेबाट ग्रस्त भएका देशहरु अधिकांश विकासोन्मुख तथा अल्पविकसित देशहरु नै रहेका छन् । नेपालकै कुरा गर्ने हो भने आज पनि ६३ जिल्लाका साढे २ करोड जनसंख्या हात्तीपाइलेको जोखिममा छन् । अहिलेसम्म ११ करोड १० लाख मात्रा औषधि जोखिमयुक्त जनसंख्यामा खुवाइसकिए भने पनि त्यसमा कमी आउन सकिरहेको छैन । हात्तीपाइलेको अभिव्यक्ति नेपालमा हाइड्रोसिलका रुपमा पनि देखिने गरेको छ ।

फाइलेरिया भनेर परिचित यस रोग लामखुट्टेको टोकाइबाट सर्छ । यो परजीवी शरीरमा एकपटक देखा परेपछि जीवनभर यसको असर रहिरहन्छ । उत्पत्तिका हिसाबले यो रोग चार हजार वर्ष पुरानो रोग मानिएको छ । सुरुको र अवस्थामा नै रहेको रोगका निम्ति निरन्तर पाँच वर्ष औषधि सेवन गरेमा पूर्ण रुपमा स्वस्थ भइन्छ । तर यो रोग शरीरमा पूर्ण विकसित भैसकेको छ भने जीवनभर अस्वस्थ र विकलांग बनाइ छाड्छ । यसले दैनिक क्रियाकलाप, जीविकोपार्जनमा समेत असर पु¥याउँछ । फलस्वरुप व्यक्ति शारीरिक रुपमा अस्वस्थ, सामाजिक रुपले घृणा तथा आर्थिक रुपले कमजोर भएर जीवन बिताउन बाध्य हुनुपर्छ ।

योरोगका किटाणु मसिनो धागो आकारका, ८ देखि १० से.मी.लामा, लिम्फ ग्रन्थीमा बस्ने तथा १ देखी २ वर्षसम्म बाँच्ने प्रकृतिका हुन्छन् । संक्रमित मानिसलाई टोकेको संक्रमित कयुलेक्स फटिगन र मानसोनियोइडस जातको लामखुट्टेले टोकेपछि मानिसमा सर्दछ । उक्त परजीवी राती लिम्फनोडवाट निस्केर रगतमा पुग्छन् र दिउँसो निष्क्रिय भएर लिम्फनाडमै फर्कन्छन् । माइक्रोफिलेरिया लिम्फ र रगतमा तथा वयस्क परजीवीहरु लसीका नली र ग्रन्थीहरुमा बसी लगातार र लामो समय अवरुद्ध गरी शरीरको पानी र रसहरु जम्मा भै हात्तीपाइले बन्दछ ।
यस्तो भयानक रोगका स्रोतहरुमा संक्रमित मानिसको रगत, लिम्फ तथा लामखुट्टे पर्दछन् । योरोग लागेपछि रोगको संक्रमणकाल ४ देखि १६ महिना जति हुन्छ ।

वयस्क परजीवी ५-१० वर्षसम्म बाँछन् । साधारणतया परजीवीको संक्रमण भएको १० वर्षपछि मात्र हात्तीपाइले जस्ता जटिलता देखिन्छन् । परजीवीले लसीका ग्रन्थी र नलीहरुमा विशेष गरी आक्रमण गर्ने भएकोले आक्रमण गर्नासाथ एकयुट लिम्फेन्जाइटीस हुन्छ । छालामा गन्ध आउने, पसीना निस्कने, सामान्य ज्वरोदेखि १०४० फरेनहाइटसम्मको कामज्वरो आउँछ । टाउको दुख्छ, अरुचि र कमजोरी हुन्छ । आँखाले उज्यालो हेर्न सक्दैन । मानिस उज्यालोदेखि डराउँछ, मांसपेशी दुख्छ । लसीका नलीमा सुजन भएकोमा पुरै बाटो दुख्ने, थिच्दा अठ्याउँदा झनै दुख्ने र रातो हुने गर्दछ । विशेषगरी खुट्टामा एउटा रातो दुख्ने थोप्ला देखिन्छ, जुन विस्तारै ठूलो हुन्छ । प्रजनन् अंगहरुमा सुजन हुन्छ । अण्डकोष सुन्निने हाईड्रोसिल, महिलामा स्तन र योनीद्वार सुनिने हुनसक्छ ।

पेटको लसीका नलीहरुमा अवरोध र सुजन भए पेटमा कठीन दुखाइ हुन्छ । रगतमा रोकावट ल्याउने कीरा, परजीवी कहिलेकाही आफै मर्दछ । तर अवरोध भने रहिरहन्छ । रोग दीर्घकालीन रुपमा रहेपछि हात्ती जस्तो ठूलो ठूलो देखिने भएकोले हात्तीपाइले भनिन्छ । पिसावमा लिम्फ मिसिनाले पिसाब दुधजस्तै सेतो, बाक्लो र लेदो हुन्छ । धेरै अवरोधका कारण लसीका नली पेरिटोनियममा फुटे काइलस एस्काइटस, फोक्सोमा फुटे काइलस प्लुरल इफ्युजन र पिसाब नलीमा फुटे काइलयुरिया बन्दछ ।

यो महामारीबाट बच्न लामखुट्टेजन्य रोगबाट सतर्क रहनु पर्छ । लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन । लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । समयमै रोगको निदान र उपचार थालिनु पर्दछ । इन्डेमिक क्षेत्रमा डीईसी औषधी सेवन गराइनु पर्दछ । जुन नेपाल सरकारले अभियानकै रुपमा जोखिमका जिल्लामा आम औषधी निशुल्क सेवन गराउँदै आएको छ ।

२ वर्ष मुनिका बालक, ५ वर्षमुनिका कडा कुपोषित बालवालिका, गर्भवती महिला, ७ दिनभित्रका सुत्केरी, छारे रोगी र दीर्घरोगीले औषधि खान मिल्दैन । औषधि खाली पेटमा खाँदा परजीवीलाई मारी विषाक्त उत्पन्न गर्ने भएकाले र पहिलो पटक सेवन गर्दा सामान्य पाश्र्वप्रभाव टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट डम्म हुने, पखाला हुने, रिगंटा लाग्ने, कमजोरी महसुस हुने, शरीर झमझमाउने, डाबर आउने, गाला रातो हुने, पेट दुख्ने, वान्ता हुने, अण्डकोष दुख्ने, नशा, छाला, हातखुट्टा सुन्निने, रातो हुनेर दुख्ने, बेहोस् पर्ने आदि देखिन सक्छन् । पाश्र्वप्रभाव ६ देखि ८ घण्टापछि सुरु हुन्छन् । २ देखि ३ दिनमा हराएर जान्छ र खासै खतरनाक हुँदैनन् । खाली पेटमा नखाँदा तथा औषधि खाइसकेपछि प्रशस्त पानी सेवन गर्दा पाश्र्वप्रभाव कमै देखिन्छ ।

जनचेतनामा आवश्यक कुरा तथा औषधिको उचित ब्यवस्थापन गर्न नसक्दा दुखदायी घटना घटेका छन् । सकारात्मक भन्दा नकारात्मक तथ्य बढि फैलने हाम्रो देशमा बिरामी र मृत्युका खबर धेरै आएका छन् । विगतमा सञ्चालन गरिएका अभियानमा समेत काठमाडौं उपत्यकामा ४० प्रतिशत कमले मात्र हात्तीपाइलेको औषधि सेवन गरेको तथ्यांक छ । तथापि सहरीयामा ४० प्रतिशतसम्ममा रोगको संक्रमण देखिएको छ ।