• मंसिर ११ २०८१, मंगलवार

होटेल मेरियटबाट ‘भाँचिएका मन’ ले ‘ठडिएको धरहरा’ नियाल्दा

बैशाख १० २०७८, शुक्रबार

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताका लागि लगातार दोस्रो दिन बिहीवार पनि होटेल मेरियटमा भेट भए । निकै भारी मनका साथ धिमा गतिमा चालिएका पाइला मुलायम कार्पेटमा पदार्पण गरे । सिंगो जीउले अडेसा पायो, आरामदायी सोफामा । तर मन भने अमिला र अनुहार धमिला नै रहे ।

विगतको सम्झनाले पनि केही कुँड्यायो । ठीक एक वर्ष अघि २०७७ सालको वैशाखमा पार्टी फुटाउन र संवैधानिक समितिमा एकलौटी नियुक्ति गर्न प्रम ओलीले मध्यरातमा ल्याएका दुई अध्यादेश पारित गराउँदाका बखत मधेशवादी दलका नेताहरु छोपिएर यही होटेल मेरियटमा राखिएका थिए । आज तिनैले पनि प्रम ओलीलाई साथ दिइरहेका हुन सक्छन्, यी त प्रसङ्गले जोडिने कुरा मात्र हुन् । तथापि यही होटेल नै प्रमको रोजाइमा किन पर्यो ? दुवैको मनमा पसेको चीसोसँगै वार्ता चल्यो ।

चल्यो मात्र होइन, वार्ता अघि बढ्यो  पनि । ‘त्यसै त मन मेरो धमिलो, धमिलोमा नथप अमिलो !’ भयो त्यस्तै । अध्यक्ष ओली आफ्ना तीन शर्तबाट टसमस गरेनन् । उनका शर्त थिए : कर्णाली ‘फ्लोर क्रस’माथि कार्वाही, दलीय अनुशासनको प्रष्टीकरण र चित्त नबुझे कार्वाही र हालसम्म आफूले एकलौटी रुपमा गरेका सबै निर्णय सदर । पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको एउटै कुरा थियो : एमाले पार्टीमा फर्किइसकेपछि त्यसका २०३ जना केन्द्रीय समितिको पूर्ण वैठक आह्वान र त्यसका लागि ओलीले हालसम्म लिएका सबै निर्णय बदर ।

त्यपछि कोही पनि बोलेनन्, ‘तै रानी, मै रानी !, कसले भर्छ कुवाको पानी !’ न हात मिल्यो, न साथ मिल्यो । हात त ‘कोरोना हुनु’का कारण मिलेन, तर लामो समय सहकार्य गरेर जीवन बिताएकाहरु बीच ‘करुणा नहुनु’का कारण साथ पनि मिलेन । अप्ठेरो छ, हेर्दा घरायसी कुरा । तर खेलको रिमोट ‘अन्तै’ छ । मन भक्कानिएका दुबैका हात पछाडि गए । एकअर्कामा अलि टाढा भए । यसै टढा, उसै टाढा ! नियालौं निकै टाढाको धरहरा ! दुवैले धरहरा नियालेर एकअर्कालाई मनमनै सोधे- ‘हँ, पुरानो धरहरा ढल्यो, नयाँ धरहरा बन्यो ।’

dharahara

‘तिम्रा हाम्रा पनि नयाँ पार्टी ठड्याउनु पर्ने त होइन ?’ हो, अवश्यै पनि हो । आशंका र द्विविधा रहेन । तर अब बन्ने केपी ओली र माधव नेपालका ‘नयाँ घर’ इँटा र गहतको पीठोले बनाइएका हुने छैनन् । यदि इँटा र गहतको पीठोले नेपाली विशिष्टतामा घर बन्थ्यो भने त्यो नेपाली विशिष्टता अनुसार संयुक्त परिवार बस्न सक्ने वातावरणसहितको हुने थियो । त्यो ढलिसक्यो । शायद त्यसको जमाना अब गयो, गइसक्यो !

त्यसो भए अब घर नै बन्दैन त ? बन्छ, किन नबन्नु ? तर अब नेपाली विशिष्टतामा पहिलेकै जस्तो संयुक्त परिवार बस्न सक्ने घर बन्दैन । हो, धरहरा पनि त पहिलेको जस्तै बनेन नि ! बन्यो धरहरा, तर नयाँ बन्यो । त्यसको नाम पहिले र अहिलेमा फरक छैन, उही हो नाम- धरहरा ! स्वरुपमा केही बदलाव आएको छ, यो नाङ्गो आँखाले पनि देख्न सकिन्छ । तर अन्तर्यमा यो पहिलेको भन्दा आकाश जमिनको फरक आएको छ । त्यो हो, यसमा सिमेन्ट, कंक्रिट र रडहरु प्रयोग भएका छन् । प्रश्न सोधियो भने संभाव्य जवाफ यत्ति हुनसक्छ- ‘बलियोका लागि ।’

त्यसो भए पुरानो धरहरा झैं फुटेका एमालेका नयाँ ठडिने दुई पार्टीको नाम के होला त ? उही ‘एमाले वा उस्तै उस्तै ।’ तर त्यसको अन्तर्यमा निकै फरक हुनेछ । त्यसमा प्रयोग गरिने विचार, पक्षधरता, कार्यदिशा, न्युनतम कार्यक्रम, अधिकतम कार्यक्रम, संगठनको स्वरुप, नेता कार्यकर्ताको सेटिङ तथा कार्यक्रमहरु अबका दिनमा ‘इँटा र गहतको पीठो’ भन्दा ‘भिन्न’  तर ‘सिमेन्ट छड’सँग ‘अभिन्न’ भएर आउने छन् । गाउँघरमा भन्ने पनि गरिन्छ- ‘नेपाली कुकुरको बेलायती भुकाई ।’

अबका धरहरारुपी नयाँ पार्टीहरु अमेरिकी ‘एमसीसी’को छड, भारतीय ‘बिप्पा’को सिमेन्ट र नेपाली निर्दोष छोराछोरीहरुको कंक्रिटमा निर्माण हुने पक्कापक्की छ । चिनियाँ पानी आवश्यकतामा मात्र प्रयोग हुने देखिन्छ । बनेका नयाँ धरहरारुपी पार्टीमा यसको भित्रिभागमा छड लुकेको हुनेछ, तर बाहिर सिमेन्टले टिलिक्क टल्किएको देखिने छ । सप्तरंगी रंगरोगनका कुरै छाडौं ! उक्त नयाँ घर निर्माणमा कंक्रिटका रुपमा रहेका नेपालीका छोराछोरी कार्यकर्ता, शुभचिन्तक तथा समर्थकका रुपमा सिमेन्टले पुरिएर रड र छडका सहारा मात्र बनी पहिचानविहीन अवस्थामा हुने देखिन्छन् । नेपालमा खोजिएको ‘बिन लादेन’ हो वा ‘सद्दाम हुसेन’ ? अहिल्यै भन्न गाह्रो छ । हिमाली तथा पहाडी क्षेत्रहरु ‘तोराबोरा’ बन्ने हुन् वा अरु कुनै, अहिल्यै अनुमान लगाउन खोज्नु हतार होला पनि ।

अति महाशक्तिमध्ये को मुनि वा को माथि पर्छ, थाह छैन, तर नेपाल अचानो बनेको कुरा साँचो हो । यसमा द्विविधा छैन । त्यसैले अबका नयाँ पार्टी इँटाले बनेका घर होइनन्, छड, सिमेन्ट र कंक्रिटले बनेका बङ्करको स्वरुपमा निर्माण हुँदै छन् । भाँचिएका मनले ठडिएको नयाँ धरहरा नियाल्दा यही प्रतिबिम्ब यथार्थमा अभिव्यक्त भैरहेकोमा आशंका गर्नुपर्ने ठाउँ छैन । तर नयाँ बन्ने धरहरा निकै महंगा साबित हुनेछन् ।