• मंसिर ११ २०८१, मंगलवार

ओली-नेपाल पक्षको एकता कति सम्भव ?

बैशाख १० २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल ओल्ीसँग निकै रुष्ट बने ।

प्रचण्ड र नेपालले विघटित संसदविरुद्ध देशव्यापी सडक आदोलन र विरोध सभा गरे । त्यसपछि संसद् पुनःस्थापना भयो । संसद् पुनःस्थापना हुनुलाई कतिपयको सतही विश्लेषणअनुसार आन्दोलनको भरमा भयो भनिएको छ । तथापि उक्त विश्लेषण सत्य भने होइन । किनकि ओलीले संविधानविपरीत यो कार्य गरेकोले सर्वोच्च अदालतले नै संसद् पुनःस्थपना गरेको हो ।

संसद स्थापना भएपछि प्रचण्ड–नेपालसंयुक्त रूपमा विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका थिए । त्यतिमात्रै होइन, उनीहरू दुवै जना नेकपाको आधिकारिकता आफूले पाउनु पर्ने भन्दै अदालतसम्म पनि नपुगेका होइनन् ।

अन्ततः अदालतले नेकपा बदरको फैसला गरिदियो । त्यसपछि तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रले पुनर्जीवन पाए । यी दुई ठूला पार्टीले पुनर्जीवन पाएसँगै बाध्यभएर प्रचण्ड र नेपाल आआफ्नो पार्टीमा फर्किए । उनीहरू आआफ्नो पार्टीमा फर्किए पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग वरिष्ठ नेता नेपालको विवाद भने कायमै छ ।

विवाद कहाँबाट सुरु भयो ?

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको विवाद पुरानै भएपनि उत्कर्षमा भने पुगेको थिएन । उनीहरूको विवाद पार्टीमा बेलाबेला भैरहन्थ्यो । तर, ओलीले मनमौजी संविधान विपर्ीत संसद् नै भङ्ग गरिदिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

गत पुषमा ओलीले संंसद नै विघटन गरिदिएपछि नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहारामा ओलीसँग वैचारिक एवम् राजनीतिक द्वन्द्व गरेका थिए । त्यसपछि विघटित संसद् स्थापना, नेकपा बदर भयो र तत्कालिन राजनीतिक दल एमाले र माओवादी केन्द्र ब्युँतिए ।

त्यसयता अझै ओली र नेपालको विवाद मथ्थर हुन सकेको छैन । विवादको चुरो विघटित संसद् भनिए पनि खासमा ओली र नेपालको विवाद पार्टीको नवौँ महाधिवेशनबाट सुरु भएको हो । किनकि उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि ओली र नेपालको टक्कर परेको थियो ।

तर, ओली अध्यक्षमा निर्वाचित भए भने नेपाल पराजित भए । त्यहीँबाट उनीहरूको विवाद बल्झिएको बुझिन्छ । उनीहरूको विवाद महाधिवेशन यता सामान्य देखिए पनि विघटित संसद् यता जटिल बन्दै गएको हो ।

ओली नेपाल पक्षको एकता सम्भव होला ?

एमाले पार्टी विभाजनको डिलमा उभिएको छ । कहिले र कति बेला विभाजन हुन्छ । त्यसको टुङ्गो जतिबेला पनि लाग्न सक्छ । तथापि यतिबेला पार्टी एकताको पक्षमा ओली पक्षभन्दा पनि नेपालपक्ष लालायित देखिन्छ ।

तथापि यतिबेला एमाले पार्टीभित्र ठूलो दरार उत्पन्न भएको छ । वर्तमान राजनीतिक घटनाक्रमको सन्दर्भलाई हेर्ने हो भने पार्टी अध्यक्ष ओली र वरिष्ठ नेतामाधवकुमार नेपाल–झलनाथ खनाल पक्षबीचको विवादले उग्ररूप लिँदै गएको छ ।

यसको मुख्य जड भनेको फागुन २३ गते सर्वोच्चले नेकपा बदरको फैसला गरेको थियो । त्यसयता अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्केको हुनाले २३ गतेपछि शून्य अवस्था हुने भएकोले यस बीचमा भएका गतिविधि र निर्णयहरू दुवै पक्षबाट स्थगित र खारेज गरे पार्टी एकता निस्कर्षमा पुग्ने नेपाल–खनाल पक्षनिकट स्रोत बताउँछ ।

तथापि ओलीले शून्य अवस्थामा पनि आफ्नो गुटगत भेला गरेको भन्दै नेपाल–खनालपक्ष ओलीसँग निकै रुष्ट बनेका छन् । उनले फागुन २८ गते एकपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदमुक्तसमेत गरेका छन् ।

त्यसपछि झन् रुष्ट बनेको नेपाल पक्षले ओलीलाई काउन्टर दिँदै चैत्र ४ र ५ गते छुट्टै राष्ट्रिय भेला गरेको थियो । उक्त भेला गरेसँगै ओलीपक्ष पनि रुष्ट बनेको थियो । त्यस यता उसले आफ्नो गुटगत भेला गरेको भन्दै नेपालपक्ष पनि आक्रोशित बन्दै गएको छ ।

तथापि पछिल्लो चरणमा नेपालपक्ष केही लचिलो बन्दै गएको छ । उसले सार्वजनिक रूपमै ओली पक्षलाई फागुन २३ गते यता गरिएका निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ । यद्यपि यस बारेमा ओली पक्षले भने कुनै हालतमा पनि उक्त निर्णय खारेज नहुने बताएको छ ।

अध्यक्ष ओलीले नै सार्वजनिक कार्यक्रम एवम् विभिन्न सञ्चार माध्यमहरूमा फागुन २३ गतेभन्दा पछि गरिएका निर्णय आधिकारिक र वैधानिक भएको बताउँदै ती निर्णय खारेज नहुने अडान राखेका छन् । नेपाल पक्षले भने ओलीले गरेका सबै निर्णय गुटगत भेलाबाट गरिएकोले ती निर्णय कुनै हालतमा मान्ने नहुने बताउँदै आएको छ ।

ओली र नेपालको आआफ्नै अडानका कारण यी दुई पक्षबीच एकता नहुने ओलीनिकट नेता, पूर्वमन्त्री एवम् सांसद् महेश बस्नेतले बताए । बस्नेतका अनुसार, –‘नेपालपक्षले गरेका निर्णय पनि गुटगत र अवैधानिक छन् । यदि उहाँहरू सच्चिएर आएमा पार्टीएकता हुन्छ ।’

नेपालनिकट केन्द्रीय सदस्य एवम् युवा नेता निरज आचार्यका अनुसार, –‘ओली पक्षले गुटगत भेला गरेर पार्टीलाई मनमौजी ढंगले चलाउन पाइँदैन । उहाँहरूले फागुन २३ गतेपछि गरेका निर्णय अवैधानिक भएकाले ती सबै निर्णय बदर गरेमा पार्टी एकताका लागि सकारात्मक बन्न सकिन्छ । र, अहिलेको हाम्रो मुख्य बटम लाइन पनि यहीँ हो ।’

ओली पक्षले फागुन २३ पछि गरेका निर्णय खारेज गर्ला ?

माधवकुमार नेपाल पक्षले गत फागुन २३ गते ओलीले गरेका निर्णय खारेज हुनुपर्ने अडान राख्दै आएको छ । फागुन २३ गते यता गरिएका निर्णय पार्टी विधानविपरीत भएको भन्दै नेपाल पक्षले चर्को आलोचना गर्दै आएको छ ।

तर, ओलीपक्ष नेपालको आलोचना र अडानप्रति बेखबर जस्तै देखिन्छ । यो देखेर नेपालपक्षले देशका ७७ वटै जिल्लामा समानान्तर कमिटी गठन गर्दै आएको छ । नेपालले देशभर आफ्नो समानान्तर ममिटी बिस्तार गरेपछि ओली पक्षले त्यसलाई अवैध गएको बताउँदै आएको छ ।

ओलीले फागुन २३ यता गरेका निर्णय कुनै हालतमा खारेज नगर्ने र नेपालले पनि देशभर आफ्नो समानान्तर कमिटी गठन गर्नुले यी दुवै पक्षको एकता असम्भव देखिन्छ ।

त्यतिमात्रै नभएर, ओलीले नेपाललगायत उनका अन्य नेताहरूलाई कारबाहीसमेत गरेका छन् भने केही नेता कारबाहीको दायरामा छन् ।

ओली–नेपालको दुई दिने भेटवार्ता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई दिने भेटवार्ता भएको छ । भेटवार्ता फलदायी नभएको दुवै पक्षमा नेताहरूले बताउँदै आएका छन् । वरिष्ठ नेता नेपालले स्वयम् ओलीसँगको भेटवार्ता नकारात्मक नभएको प्रतिक्रिया दिँदै आएका छन् ।

राजधानीको एक होटलमा भएको ओली–नेपालको दुई दिने निष्कर्षहीन भेटवार्ता र गत फागुन २३ गतेपछि ओली पक्षले गरेको निर्णय बदर नहुनुले यी पक्षबीचको एकता असम्भव देखिन्छ । यद्यपि ओली नेपाल पक्षसँग लचिलो भएमा एकता हुनसक्ने अझै सम्भावना नजिक छ ।

ओलीको अडानका कारण नेपाल पक्षसँगको एकता तत्काललाई टुंगिएको छ ।