• मंसिर ११ २०८१, मंगलवार

सरकार, संसद र पार्टीलाई ओलीले लहडको खेलौना बनाए : झलनाथ खनाल, वरिष्ठ नेता, एमाले

बैशाख ८ २०७८, बुधबार

(कर्णाली ‘फ्लोर क्रस’को विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल पक्षीय सांसदहरुमाथि कार्वाहीका लागि भन्दै स्पष्टीकरण पत्र पठाइसकेका छन् । नेपाल–खनाल पक्षले पनि यसको जवाफ पठाउने तयारी गरिरहेको छ । प्रस्तु छ पछिल्लो चरणमा विकसित यो राजनीतिक प्रक्रियाले निकै तात्न पुगेको एमाले अन्तर्विरोधको सेरोफेरोमा रहेर नेपाल–खनाल पक्षका नेता झलनाथ खनालसँग गोलमिडिया संवाददाताले लिएको अन्तर्वार्ताको सारसंक्षेप- सं) 

१. एमालेका दुई खेमा मिल्ने छाँट त देखिएन । कसरी सोचिरहनु भएको छ ?

सर्वोच्चको फैसलापछि हामी पार्टीको नवौं महाधिवेशनको निर्णयअनुसार सही वैचारिक कार्यदिशा, विचार, नीति र कार्यक्रम अनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रयत्नमा छौं, फुट होइन । तर पार्टीको नवौं महाधिवेशन लगत्तै पार्टी नेतृत्व दक्षिणपन्थी भड्काउमा गएको छ । नवौं महाधिवेशनले निर्दिष्ट गरेको लाइन, नीति तथा कार्यक्रमबाट विचलिर भैरहेको छ । हामी यसलाई सच्याउने प्रक्रियामा छौं । यी सबै कुराले हामी निरन्तर पार्टी एकता र सुदृढीकरणको पक्षमा रहेको स्पष्ट देखिन्छ ।

२. दुई पक्षबीच मेल हुनै नसक्ने अवस्था पो सिर्जना हुँदै गएको छ त ?

कुरा त्यसो होइन । ताली एउटै हातले बज्दैन । दुई हात चाहिन्छ । हामी पार्टी एकताका लागि जति तयार छौं, अर्को पक्ष पनि उत्तिकै तयार रहनु पर्छ । पार्टीलाई दक्षिणपन्थी अवसरवादी भड्काउबाट बचाउनु पर्छ । पार्टीमा अनुशासनहीनता कायम गर्ने, अराजकता मच्चाउने, फुटाउने, व्यक्तिका वैयक्तिक विचारलाई लाद्ने र अनुशासनका नाममा लागू गराउन डण्डा चलाउने सोच र चिन्तनको अन्त्य हुनु पर्छ ।

यसले मात्र पार्टी एकतालाई एक ठाउँमा ल्याउँछ । पार्टी बलियो बनाउँछ । पार्टीमा अहिले अन्तरविरोध सिर्जना भएको छ । यसको हलका लागि अहिले अन्तर संघर्ष जारी छ । यदि पार्टी नेतृत्वले आत्मालोचना गर्छ, गल्ती कमजोरी सच्याउँछ र पार्टी सिंगो बनाएर लैजाने प्रयत्न गर्छ भने हामी त्यसका लागि तयार छौं । तर सर्वोच्च अदालतको पूर्व पार्टीहरुको मान्यता स्थापित गर्ने गरी गरिएको फैसलाविरुद्ध ओलीजी जसरी एकलौटी ढंगले अघि बढिरहनु भएको छ, त्यो मान्न हामी तयार छैनौ ।

३. त्यसो भए एक्लाएक्लै बसेर आरोप प्रत्यारोप गरिरहने त अब ?

हामी नवौं महाधिवेशनको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यमा छौं । त्यो विधान अनुरुप हाम्रो पार्टीको २०३ जनाको केन्द्रीय समितिको पूर्ण वैठक बस्न तयार छौं । त्यसपछि एकलौटी रुपमा ओलीले गरेका सम्पूर्ण निर्णयहरु बदर गरिनु पर्छ ।

४. एमालेभित्रको बेमेल वैचारिक हो कि व्यक्तिगत प्रवृत्तिका कारणले हुन गएको हो ?

नवौं महाधिवेशनको नीति र विधिलाई नमानेकाले यी सबै समस्या सिर्जना भएका हुन् । वर्तमान अध्यक्ष तथा प्रम केपी ओलीले उक्त नीति र विधिलाई कुल्चदै आफ्ना निजी विचारहरु लागू गर्दै दक्षिणपन्थी, अवसरवादी विचारहरु लाद्ने, अरु नेताहरुलाई सताउने, सबैलाई त्यही बाटोबाट मात्र आउ भन्ने भएकाले समस्या सिर्जना भएको हो ।

५. हल कसरी होला त ?

जहाँको पनि परिस्थिति पहिलेको जस्तो छैन । सबै कुरा परिवर्तन हुँदै आइरहेको छ । ५ वर्ष अघि गरिएको निर्णय अब स्वतः पछि परिसकेका छन् । राष्ट्रि तथा अन्तर्राष्ट्रिय परिस्थितिमा निकै फेरबदल आइसकेको छ । हामीले नवौं महाधिवेशनमा गरेका निर्णयहरु परिमार्जित र परिस्कृत गर्नु पर्ने भएको छ । तर वर्तमानमा निर्णय लिंदा हामीले नवौं महाधिवेशनको जगमा टेक्नै पर्छ । नीति, सिद्धान्त र विचारलाई आधारका रुपमा लिनै पर्छ । यसले मात्र एमाले एक ढिक्का बनाउँछ । मेरो गोरुको बाह्रै टक्का गरियो भने वा निरंकुश ढंगले जान खोजियो भने पार्टी मात्र होइन, सिंगो कम्युनिष्ट आन्दोलन र यसका उपलब्धी सारा ध्वस्त हुन्छन् । बालुवाटारले देशी विदेशी प्रतिक्रियावादीले सोचेअनुसार काम गरिरहेको छ ।

६. स्पष्टीकरण र प्रतिवादको श्रृंखला त जारी छ ?

हामीले यही समस्या समाधानका लागि पटक पटक प्रयत्न गरिरहेका छौं । एकताका लागि प्रस्ताव गरेका छौं । हामी एक भएर जाऔं भनी सुझाव र योजना दिइरहेका छौं । राष्ट्रपतिसँगको भेटमा मैले प्रस्ताव पनि गरेको छु । तर त्यसलाई सम्बोधन गर्नुको सट्टा ओलीजीले अनुशासनको डण्डा देखाउन थाल्नु भएको छ ।

७. कर्णाली ‘फ्लोर क्रस’ ले त पार्टी एकतामा ठूलो धक्का पुर्यायो त ?

यो कार्यकर्ताहरुको विद्रोह हो । नेतृत्वले बारम्बार खेल्न थालेपछि पोखिएको आक्रोश हो । यसबाट नेतृत्वले पाठ सिक्नु पर्छ । कमी कमजोरी सच्याउनु पर्छ । पार्टी नेता गम्भीर हुनु पर्छ । यसले सबैलाई सचेत गराएको छ । त्यसैले हामीले भनिरहेका छौं, पार्टी एक ढिक्का बनाऔं । सिद्धान्त अनुरुप चलौं ।

८. तपाईहरु प्नि त सरकार ढाल्न कस्सिइरहेको आरोप छ ओली पक्षको ?

केपी ओली आफैले दुईतिहाईको सरकार भताभुंग पार्नु भो । वाम गठाबन्धन र वाम समर्थन सबै सिध्याउनु भो । वामपन्थी सरकार धराशायी भएको छ । उहाँ दक्षिणपन्थीको बैसाखी टेकेर हिंडिरहनु भएको छ । उहाँलाई वनको बाघले होइन, मनको बाघले खाइरहेको छ । बनावटी हल्ला गर्दै संसद अधिवेशन अन्त्य गर्न पुग्नु भएको छ । देश र जनताका लागि यी भन्दा डरलाग्दा कुरा अअरु के हुन सक्छन् ? उहाँले सरकार, संसद र पार्टीलाई लहडको खेलौना बनाउनु भएको छ ।