• मंसिर ११ २०८१, मंगलवार

नयाँ सरकार निर्माण हुँदैन, निर्वाचनको विकल्प छैन : महेश बस्नेत, युवा नेता, एमाले

बैशाख ७ २०७८, मंगलवार

(सर्वोच्च अदालतले पार्टी दर्ता प्रक्रियालाई लिएर निर्णायक फैसला गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि एमाले र माओवादी केन्द्र सिंगो अवस्थामा रहन सकेनन् । माओवादी केन्द्रका केही उच्च तहकै नेताहरु एमालेमै रहे भने एमाले स्वयम् दुई कित्तामा विभाजित हुन गयो । अहिले माधव–झलनाथ पक्ष र ओली पक्षीय बीचमा कसले कसलाई सिध्याउने भनी समानान्तर कमिटी निर्माण गरेर अघि बढिरहेको रस्साकस्सीपूर्ण अवस्थामा ओली पक्षका युवा नेता बस्नेतसँग गोलमिडिया संवाददाताले लिएको अन्तर्वार्ताको मुख्य अंश पाठकसामु प्रस्तुत गरिएको छ- सं)

एमाले फुटेकै हो ? एकअर्काप्रति सहिष्णुता देखिदैन त ?

जननेता मदन भण्डारीपछि एमाले बिग्रियो । यसमा गुटबन्दी देखा पर्न थाल्यो । ती गुटहरु कहिले विचार, कहिले व्यवहार त कहिले विभिन्न मुद्दाहरु बनाएर प्रकट भैरहे । त्यति बेला सीपी मैनाली, वामदेव गौतम आदि नेताहरुले यसलाई बोकेर हिंडे । निस्चित स्वार्थसिद्ध नभएसम्म पार्टीको नीति, विधि, विधान, पद्धति, मूल्य तथा मान्यता केही पनि स्वीकार्य भएनन् । ती केही पनि आत्मसात् गरिएनन् । गुटगत स्वार्थले बाहिर विचारको लेप लगाए पनि भित्र गुटगत स्वार्थ मर्न सकेन । यसले नेता तथा कार्यकर्तामा भ्रम पैदा गरि नै रह्यो ।

अहिले एमालेमा देखिएको त्यसको पछिल्लो अभिव्यक्ति हो, समानान्तर कमिटी निर्माण र त्यसको बिस्तार । कर्णालीमा आफ्नो पार्टीको ह्विप विपरीत फ्लोर क्रस गरेर माओवादीलाई टिकाउन पुगे । यी नेपाली संसदीय अभ्यासमा विकृति र विसंगतिपूर्ण अभ्यास हुन् । यसले पार्टीमा संकट सिर्जना गर्न पुगेको छ ।

 त्यसो भए एकता संभव छैन ?

मैले अघि भनिसके, यी विकृति विसंगतिपूर्ण क्रियाकलाप छोडेर आत्मालोचना गरेर आए त ठीकै छ । नत्र त्यस्ता गतिविधि गर्ने पंक्ति जति छ, त्यसलाई छोडेर अघि बढ्नु उपयुक्त हुन्छ । घाँसभित्र लुकेका हरियो सर्पजस्तो व्यवहार छिट्टै त्यागे राम्रो हुने थियो । उहाँहरुको पार्टीविरोधी, नेताविरोधी र संगठनविरोधी गतिविधि त्याग्नै पर्छ । यसले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुर्याउँछ । यसले हाम्रो पार्टी नेकपा एमालेले प्राप्त गरेको उपलब्धिहरुलाई पनि क्षति पुर्याउँछ । साथै, यसले अनिस्चिततातिर धकेल्छ ।

माओवादी केन्द्र-माधव नेपाल समूहबीच एकताको अभिव्यक्ति पनि त आइरहेको छ ?

मधव नेपाल पक्षका गतिविधि कहाँ र कतातिर ढल्किएका छन् भन्ने कुरा एकपछि अर्को गरी खुल्दै गैरहेका छन् । स्वयम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधवजीलाई दुईवटा कार्यभार दिएर पठाएका हौं भनेका कुरा बिर्सन हुँदैन । सर्वोच्चको फैसलापछिको कुरा हो यो । त्यसमा पहिलो भनेको ‘एमालेभित्र पार्टी कब्जा गर्ने रणनीतिका साथ जानूस्’, र दोस्रो, ‘पार्टी कब्जा गर्ने स्थिति नभए तपाई हामीबीच सहकार्य’ गर्ने भन्ने हो । उहाँहरुको उद्देश्य देशभर केपी ओलीको समूहलाई हराउने र सिध्याउने भन्ने रहेको स्पष्ट छ ।

माधव नेपाल स्वयम्ले भन्नु भएको छ, ‘सर्वोच्च अदालतको फैसलाले मलाई जबर्जस्त एमालेमा टाँसिदियो, तपाईहरुको आन्दोलन कमजोर भएको, अनि प्रतिपक्षी दलको भूमिका कमजोर भएको कारण मैले मेरै आँखाले ओलीको सरकार हेरिरहनु परेको छ ।’ यो अभिव्यक्तिबाटै प्रष्ट हुन्छ, माधव नेपाल आखिर के चाहिरहनु भएको छ । माधव नेपाललाई एमालेप्रति माया छैन । उहाँमा कम्युनिष्ट आन्दोलन, यसका उपलब्धि र निष्ठा र विश्वासमा निकै ह्रास आएको छ ।

उहाँहरुले पार्ने प्रभाव भनेको नेताहरु र कार्यकर्ताहरुको तहमा हो । बाँकी जनताको तहमा उहाँहरुको केही पनि छैन । उहाँहरुले पार्टीको ठूलो पंक्तिलाई विसर्जनको बाटोतिर हिंडाइरहनु भएको छ । प्रम ओलीको प्रस्ताव उहाँहरुलाई स्वीकार्य नै छैन । कमीकमजोरी नदोहर्याउने कुरा पनि व्यवहारमा लागू भएनन् । प्रचण्डसँगको बसाइँ उहाँहरुको निरन्तरतामा रह्यो । एमाले कार्यालय धुम्बाराहीमा आउन नसक्ने तर पेरिसडाँडामा जाने निरन्तर नै भैरह्यो । साँठगाँठ चलि नै रह्यो । यो माधव नेपालको दम्भ र अहंकार हो ।

माधव नेपालले त प्रम ओली र उनको सरकार अहम्, दम्भ र तानाशाहीको बाटोमा अघि बढिरहेको छ भनिरहेको सुनिन्छ त ?

मधव नेपाल एमाले पार्टीमा लामो समय अनवरत रुपमा नेतृत्वमा रहेर आउनु भएको छ । उहाँ १५ वर्ष यो पार्टीको महासचिव पनि रहेर काम गर्नुभएको छ । झलनाथ १२ वर्ष त्यो उच्च तहमा रहेर काम गर्नु भएको छ । हामी जति छौं हामी उहाँको नेतृत्व अन्तर्गत रहेका नेता तथा कार्यकर्ता हौं । आज आएर हामीसँग बोल बाराबार छ । हात समेत मिलाउनु हुँदैन । केपी ओलीतिर लाग्यो भन्ने उहाँको पूर्वाग्रह छ । उहाँको गुटबन्दीपूर्ण क्रियाकलापले हाम्रो पनि मन दुखाएको छ ।

केपी ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो । अर्को महाधिवेशन हुन बाँकी छ । अहिले केपी ओलीको सरकार निकै सफल भएर गएको छ । देशमा सममृद्धि ल्याउन कामहरु गरिरहेको छ । यही बेलामा सरकार तानाशाही हुँदै गयो भनेर आरोप लगाउनुको कुनै पनि तुक छैन । उहाँले प्रचण्डजस्ता मानिसलाई कन्भिन्स गरेर गठबन्धनमा ल्याउनु भयो, पार्टीमा साथै राख्नु भयो । त्यसमा ओलीको खुबी, कौशल र नेतृत्व कम छैन । उहाँमा दम्भ र अहंकार त देखिदैन त । माधव-प्रचण्ड चैत्र महिनामा गर्ने भनिएको पार्टी अधिवेशन पनि कुर्न नसक्ने र मंसिरमै अध्यक्ष र प्रधानमन्त्री चाहिने भएपछि के गर्ने ? यहीबाट सबै कुरा बिग्रिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सरकार त निरंकुश हुँदै गएको भनिरहेको अवस्था छ त ?

सरकारलाई आरोप भन्दा पनि प्रचण्डजीले आफ्नो पार्टी चलाउन सक्नु हुन्छ कि हुँदैन हेर्न बाँकी छ । उहाँ अहिले निकै संकटमा हुनुहुन्छ । उहाँलाई हजारजना मानिस देखाउन रुकुम जानु पर्छ । पाँच शयमात्र देखाउनका लागि पनि चितवन जानु पर्छ । अरु जिल्लामा त पाँच शय देखि हजार जनासम्म मानिस देखाउन सक्ने हैसियत उहाँको छैन । माधव नेपाल पनि प्रचण्डसँग मिलेर आमजनताको त्याग, तपस्या र बलिदानबाट बनेको एमालेमाथि निरन्तर प्रहार गरिरहनु भएको छ । यसले उहाँलाई नै क्षति पुर्याउँछ ।

आउँदो चरणबाट प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाडिदिन्छु भन्ने अध्यक्ष ओली कसरी तानाशाह वा पदलोलुप वा दम्भी र घमण्डी हुन सक्नु हुन्छ ? यसरी आरोप मात्र थोपर्न न्यायोचित होला ? उहाँले दुवै पदको दाबेदार हुने छैन भनिरहनु भएको छ । केही महिना पनि कुर्न नसक्ने र अरुलाई पदलोलुप वा तानाशाही भनेर हुन्छ ? पुष्टि पनि त गर्नु पर्छ ।

नेकपा एमालेमा दलीय अनुशासन कायम हुन नसकेको हो कि अनुशासनका नाममा कार्वाही गरेर एकता हुन नसकेको हो ?

कम्युनिष्ट पार्टीभित्र फलामे अनुशासन हुन्छ । त्यसलाई पार्टीमा रहेका नेता कार्यकर्ताले पालना गर्न सक्नु पर्छ । सांगठनिक अनुशासन कडाइका साथ पालना गर्नुपर्छ । यो हुन नसकेकै कारण आज अराजकता र अनुशासनहीनता सिर्जना हुन पुगेको छ । नेताहरुबाटै यसो हुनु दूर्भाग्यपूर्ण कुरा हो । यसलाई नीति, विधि र पद्धतिमा ल्याउनु पर्छ । हामीले बुर्जुआ भनेका पार्टीमा समेत् पार्टीको संस्थागत निर्णय, पार्टी अनुशासन र पार्टीको संसदीय ह्वीप उल्लंघन गरिएको देखिदैन ।

लोकतन्त्रका नाममा अराजकता त स्वीकार्य छैन । विधि, पद्धति, मूल्य, मान्यता नराखे पार्टी कहाँ रहन्छ र ? अहिले कम्युनिष्ट आन्दोलनलाई विकृति र विसंगतिमुक्त बनाउने चुनौती हाम्रो सामु आएको छ । प्रम केपी शर्मा ओलीले यसलाई सशक्त रुपमा हटाउने र पार्टी बलियो बनाउने प्रतिबद्धता अघि बढाउनु भएको छ । यसले हामी सबैलाई आशावादी बनाएको छ । यो अभियानसँगै माधव नेपालहरु सच्चिएर आएमा स्वागत छ, होइन भने हामी छाडेर भए पनि अघि बढ्छौं । उहाँहरुको यही हर्कत कायम रहेका हामीलाई स्वीकार्य छैन ।

कर्णाली प्रदेशको ‘फ्लोर क्रस’बाट के शिक्षा लिनु भएको छ ?

‘फ्लोर क्रस’ को योजना आकस्मिक नभएर योजनाबद्धतामा भएको हो । यो प्रचण्ड र माधव पक्षको गठजोडको अभिव्यक्ति पनि हो । राजीनामा दिएर वा फ्लोर क्रस गरेर एमाले सरकार गिराउने काम भैरहेको छ । यही बेलामा एमालेभित्र निकै ठूलो असहज वातावरण बनेको छ, असमझदारी छ र अन्तरविरोध सिर्जना भएको छ । माओवादी केन्द्रसँग गठबन्धन टुटेको छ । कांग्रेस पनि विकल्प दिन तयार छैन । यो बेलामा जनता समाजवादी पार्टी पनि फुटको संघारमा देखिएको छ ।

संसद अधिवेशन ‘थारो गार्ई’ जस्तो भएको थियो, यो पनि समापन भैसकेको छ । त्यसले कुनै पनि विजनेस दिन सकिरहेको थिएन । प्रधानमन्त्रीले सर्वदलीय वैठक बोलाएर संकट समाधानका राम्रा विकल्प पनि अघि सार्नु भएकै हो । यसका लागि उत्तम उपाय भनेको चुनावमा जानु हो । यो प्रस्ताव सर्वदलीय बैठकमा गरिएको हो । संसदीय मान्यता विरोधी खेल खेलिरहन भन्दा संसदको निर्वाचनमा जानु निकै उत्तम विकल्प पनि हो ।

वैकल्पिक सरकार निर्माण हुँदैछ भन्ने कुरा सञ्चार बजारमा आएको छ । एमाले प्रतिपक्षमा बस्न तयार छ ?

२०५४ सालमा मनमोहन अधिकारीको सरकार ढलेपछि नेपाली संसदीय अभ्यासमा जुन खालको विकृति र विसंगति भित्रिए, अब पनि ओली सरकार ढालियो भने त्यही स्थिति सिर्जना हुने छ । तर वैकल्पिक सरकार निर्माण हुने अवस्था सिर्जना भएमा हामीले आइपरेको भूमिका स्वीकार गर्छौं । तर पनि बहुमतको वैकल्पिक सरकार बन्ने संभावना देखिदैन । त्यसैले नयाँ निर्वाचनको विकल्प नै छैन ।