काठमाडौँ। कुखुराको मूल्य अकासिएर प्रतिकेजी ३ सय रुपैयाँ पुगेको छ । पछिल्लो समय कोरोनाको असरसँगै रानीखेत रोगले उत्पादनमा ह्रास आउन थालेको यसअघिनै व्यवसयीले बताउदै आएका थिए । आपूर्ति घट्न थालेपछि जिउँदो कुखुरा र तयारी मासुको मूल्य उकालो लागेको व्यवसायीले बताएका छन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य ३ सय पुगेको जनाएको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले मागका अनुपातमा उत्पादन कम भएको बताएका छन् ।
यस अघि संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ९० रुपैयाँ तोकेको थियो । पहिला प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो । उत्पादनमा कमी आएपछि दिनदिनै मूल्य बढ्न थालेको हो । कुखुराको मूल्य बढ्दा यसको असर आम उपभोक्तामा परेको छ । संघले तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १५ रुपैयाँ निर्धारण गरेको छ । यस अघि सघंले मासुको मूल्य ४ सय १० रुपैयाँ तोकेको थियो । उक्त मूल्य अनुसार उपभोक्ताले प्रतिकेजी ४ सय ५० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
पोल्ट्री फार्मको क्षमताभन्दा एक चौथाइमात्र चल्ला उत्पादन हुन थालेपछि कुखुराको मूल्य बढ्न थालेको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टको भनाई छ । उनका अनुसार उत्पादनमा ह्रास आइरहेको कारण मुल्य बढेको हो ।
व्यवसायीका अनुसार बजारमा मासुको खपत भने घटेको छ । केही समय अघि कोभिड नियन्त्रण हुन थालेपछि उत्पादन बढ्ने देखिएको थियो । तर अहिले पुनः सबै देशमा कोभिड भएकाले उत्पादन घटिरहेको छ । योसँगै चल्लाको मूल्य बढेर ८५ देखि ९५ रुपैयाँ पुगेको छ । पछिल्लो समय चल्ला, अण्डा, दाना र कुखुराको मूल्य बढने क्रमले निरन्तरता पाइरहेको छ ।