• मंसिर ११ २०८१, मंगलवार

किसानको उत्पादन बिक्री गर्न खुल्यो हरियो बजार

बैशाख ३ २०७८, शुक्रबार

घोराही, वैसाख, ३ ।
बारीमा फलेको तरकारी बिकेन । गाई, भैंसी पालेर दुध कता बेच्ने र ? यस्ता समस्या आउन नदिने उद्देश्यले घोराहीमा हरियो बजार खुलेको छ । अब किसानको बारीमा उत्पादन, पशु चौपायाको रोग व्याधिको उपचार र त्यसलाई उचित बजार दिने हरियो बजारले प्रतिवद्धता जनाएको छ ।
अहिले दैनिक दुई सय लिटर दुध किसानबाट संकलन गरिरहेको हरियो बजार घोराही १५ काठेकोहलले जनाएको छ । उक्त दुध ६० वटा भैंसीले दिन्छन् । घोराही आसपासका १५ जना किसानले भैंसी पाल्नुभएको छ । यो एक वर्षको उपलब्धी हो । अझै बढाउदै लैजाने कार्ययोजना बनेको छ । सँधै जसो संकलित दुध सबै बिक्री हुने गरेको त्यहाँका कर्मचारी बताउँछन् । उनीहरुका अनुसार सार्वजनिक विदा, बन्द हड्तालको समयमा दुध बच्छ । त्यसलाई दुग्धजन्य अन्य पदार्थहरु खुवा, पनिर, दहि लगायतका बनाईन्छ । दुध खेर जाँदैन । त्यसलाई पनि बिक्री गरेर आम्दानी गरिन्छ ।

दुध संकलन गर्न किसानमा र बिक्री गर्न ग्राहक सम्म पुग्ने गरेको सामाजिक परिचालक चन्द्रवती पाण्डेयले बताउनु भयो । उहाँका अनुसार गाउँ गाउँका समूहमा पुगेर उत्पादन गर्न भन्ने गरिएको छ । बजारमा आइसकेको उत्पादन बिक्री गर्नका लागि प्रचार प्रसार गरिएको छ । खेति गरेर के गर्नु र विक्दैन भन्ने अवस्था छैन । तयार भयो नै हरियो बजारले खरिद गर्छ ।

यससंगै दुध दिने भैंसी बिरामी छ भने दुध संकलन गरिंदैन । रोगी तथा विरामी भैंसीको दुध हरियो बजारले किन्दैन । तत्कालै पशु प्राविधिकबाट उपचार गराउँछ । कृषि र पशुका प्राविधिक छन् । उनीहरु फेसवुक, फोन तथा फिल्डमै पुगेर रोगको निदान गर्छन् । त्यससंगै दुहुने भाँडा नियमित सफा राख्न लगाइन्छ । त्यसैले हरियो बजारका दुध र दुग्ध जन्य पदार्थ गणस्तरीय भएको दावी सामाजिक परिचालक पाण्डेयले गर्नुभयोे । उहाँका अनुसार ग्राहक पस्ने बित्तिकै नमस्कार गरेर स्वागत गर्ने । के चाहियो होला भनेर मिजासिलो शैलीमा सोध्ने । आवश्यक सेवा प्रदान गरेर नौलो अभ्यासमा हरियो बजार रहेको छ ।

अहिले सम्म एक दुईटा भैंसी पाल्ने र गुजारा चलाउने किसानको बाहुल्यता देखिएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाहमुखि उत्पादनबाट व्यवसायिकता तर्फ लैजान हरियो बजार सकृय छ । त्यसका लागि संस्थाले गाउँ गाउँका समूहमार्फत लगानी गर्छ । उहाँका अनुसार महिला सामुदायिक सेवा केन्द्रद्धारा स्थापित हरियो बजारले लगानीबाट उत्पादित वस्तु किन्छ । उब्जाउने किसानलाई मर्का पर्न दिँदैन । उनिहरु उत्पादन गरेर घाटामा जाँदैनन् र निराश हुँदैनन् । ऋण पनि थप्छन् र उत्पादन बढाउँछन् । दुई वटा भैंसी पाल्नेले तिनवटा, तिन वटा पाल्नेले चारवटा गरेर बढाउँदै लैजान्छन् । त्यो बढेको दुध हरियो बजारले खरिद गर्छ । तिनलाई व्यवसायिक बनाउने लक्ष्य राखेको छ । त्यसका लागि किसानहरुलाई आवश्यक सबै सहयोग गर्छ । लगानी तथा प्राविधिक सहायता पाउँछन् ।

उहाँका अनुसार हरियो बजारले दुईटा भैंसी पाल्नेलाई बढाउने र दुधको बजारीकरण गर्छ । यसले आयआर्जन बढाउँछ। त्यससंगै पशु बीमा गर्छ । तालिम दिन्छ । घाँस उत्पादन कसरी गर्ने, दाना कसरी तयार गर्ने, रुखो सुख्खा मौसममा भैसीलाई कसरी बचाउने जस्ता उपाए पनि तालिम दिएर सिकाउँछ । अध्यक्ष योगीका अनुसार संस्थामा घोराही आसपासका दुई हजार सदस्य छन् । उनीहरुलाई उत्पादनका लागि लगानी गरिन्छ । त्यो चिज हरियो बजारमा ल्याएर बजारीकरण गरिन्छ । सेवालाई जोड दिने भएकाले उत्पादन खेर जाँदैन । मैले फलाएको चिज बिकेन घाटा लाग्यो भनेर कुनै पनि किसानले पिर गर्नुपर्दैन ।

यतिबेला टाँडीभरी अनेकथरीका दालका पोका छन् । विन्देश्वरी, तिल्की लगायत स्थानीय चामल पाइन्छन् । गुन्द्रक, मह, तिल, भटमास, लसुन, टिमुर, मास, गहत, मसुरो, रहर, राजमा, चना, मटर, तोरी सिमी लागायत अनेक थरिका गेडागुडी दालका लागि राखिएका छन् । ती गेडागुडीहरु पनि सदस्यहरुले उत्पादन गरेका स्थानीय भएको योगीले दावी गर्नुभयो ।

दुई जना कृषि र पशु प्राविधिक रहेको योगीले जानकारी दिनुभयो । उनीहरुको काम फोन, म्यासेज तथा घरमै पुगेर किसानका पशु र तरकारी हेर्ने हो । रोग व्याधिको उपचार गर्ने हो । पशुलाई दाना कस्तो खुवाउने, कुन मौसममा घाँस उब्जाउने, कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान दिन्छन् । दानाको अभाव नहुने र सँधै दुध दुहुन सकिने वातावरण बनाउँछन् । त्यसकारण पनि किसानको उत्पादन अधिक हुने योगीले विश्वास गर्नुभयो ।
यसैगरी मेसीन अनुदान, प्याकेजीङ, प्रोसेसीङ र दुईजना कर्मचारीको व्यवस्थापन कासा परियोजनाले गरेको अध्यक्ष योगीले बताउनु भयो । उहाँका अनुसार केक तथा बेकरी उत्पादन गर्छन् । अनेक थरीका बेकरीहरु बनाउन सिकाइएको छ । त्यसलाई हाइजेनिक बनाउन, सरसफामा कमि आउन नदिन सबै विधि अपनाइएको छ । उत्पादन देखि बजारीकरण सम्मको सिप सिकाउन आर्थिक प्राविधिक सहयोग कासा परियोजनाले गरेको छ । बजारको अध्ययन र आवश्यक सुझाव दिएको छ । त्यसकै आधारमा दशवटा संकलन केन्द्र स्थापना गर्ने, गुणस्तरीय दुधलाई प्याकेजिङ गर्ने र बजार लैजाने योजना अघि बढाइएको योगीले जानकारी दिनुभयो । केहि समयभित्रै बजारमा आइएसओ मान्यता प्राप्त प्याकेट दुध दिने कार्यक्रम छ ।

यसैगरी चाँडै किसानलाई दुई दर्जन जति क्यान वितरण गर्न लागेको योगीले जानकारी दिनुभयो । त्यसो गरेपछि किसानले प्लाष्टिकका जर्किनमा दुध संकलन गर्नुपर्ने अवस्था हट्ने छ । दुधमा कुनै खराबी आउने छैन । सरकारको मापदण्ड अनुसार हुनेछ । अरु डेरीले भन्दा बढि मूल्यमा दुध संकलन गरेको उहाँको भनाई छ ।

यसैगरी किसानले उब्जाएको तोरी संकलन गरेर धुने र पेल्ने काम पनि हरियो बजारले गर्दछ । धोएर पेलेको तेल देख्दा राम्रो र शुद्ध हुने ग्राहकले बढि रुचाउने आस गरिएको योगीले जानकारी दिनुभयो । यसैगरी किसानबाट धान खरिद गरेर चामल कुट्छ । पालिस नभएको कुनै मिसावट नगरिएको चामल बेच्छ । यसरी लघुवित्तले लगानी गर्ने, किसानले उत्पादन गर्ने त्यसको बजारिकरण गरेर आय आर्जन बढाउने काम हरियो बजारले गर्दै आएको छ । किसानको संख्या र आयआर्जन बढाउन हरियो बजार सेवामूलक तरिकाले लागेको छ । महिलाहरुको समूहलाई लगानी गरिने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय उत्पादनलाई महत्व दिएको, हाइजेनिक खानेकुरा राखेको र आफू पनि हरियो बजारको ग्रहक बनेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । यसरी किसानहरु रमाउँदै कृषिमा लागिरहेका छन् । यस्तो लगानी र मेहनतमा सरकारी लगानी र उचित बजारिकरण पाएमा किसानहरुले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउने थियो ।