काठमाडौं । नयाँ सत्ता गठनको प्रक्रिया लम्बिदै गएको छ । गत वर्ष फागुन १२ गतेदेखि सुरु भएको यो प्रक्रिया यहाँसम्म आइपुग्दा पूरा हुन सकेको छैन ।
शीर्ष तीन दलको पटक–पटक भेटवार्ता, छलफल र बैठक भए पनि सत्ता गठनबारे औपचारिक निर्णय हुन सकेको छैन । सत्ता गठबन्धनलाई लिएर गत चैत २७ गते नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) को बैठक बसेको थियो ।
बैठकमा सत्ता गठनसम्बन्धी छलफल भए पनि औपचारिक निर्णय भने हुन सकेन । काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेको थियो । तर, जसपाले यस विषयमा थप छलफल गरि निष्कर्ष निकाल्ने भन्दै बैठकबाट बाहिरिएको थियो ।
त्यसयता जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग अनौपचारिक भेटवार्ता गरेका छन् । उनीहरूको भेटवार्ताले पनि कुनै आधिकारिक निर्णय लिन सकेको छैन ।
गत चैत २० गते काँग्रेस केन्द्रीय कमिटीको बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । त्यसपछि उसले आफ्नै नेतृत्वमा सरकार गठन प्रक्रियाका लागि तीन दलको बैठक पनि बसाल्यो । उक्त बैठकले कुनै निर्णय लिन सकेन ।
जसपाले बैठकमा सत्ता गठनबारे थप छलफल गरेर आधिकारिक निर्णय गर्ने भन्दै केही दिनका लागि समय मागेको थियो । तर, उसले समय मागेको आज १४ दिन पूरा भएको छ । १४ दिनसम्म पनि जसपाले कुनै आधिकारिक निर्णय गर्न सकेको छैन ।
नयाँ सत्ता गठबन्धनलाई लिएर जसपा अनिर्णयको बन्दीमा फसेको छ । गठबन्धनलाई लिएर जसपाभित्र अन्तरद्वन्द्व चर्किदै गएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सत्ता गठन गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पक्षमा उभिएका छन् ।
सत्ता गठबन्धनलाई लिएर पार्टी अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग भेट्दै आएका छन् । उनी आज पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । तर, उनले सत्ता गठनलाई लिएर ओलीसँग नभेटेको र पार्टी विशेष कामका लागि भेट्ने गरेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममार्फत अभिव्यक्ति दिँदै आएका छन् ।
तथापि अध्यक्ष ठाकुरले सत्ता गठनकै लागि भनेर ओलीसँग पटक–पटक भेटेको बालुवाटार स्रोत बताउँछ । त्यतिमात्रै होइन, उनले प्रधानमन्त्रीसँग सत्ता साझेदारी गर्नका लागि जसपाका माग पनि अगाडि सार्दै आएका छन् ।
निलम्बित सांसद रेशम चौथरी, पार्टीका अन्य बन्दी नेता तथा कार्यकर्ताको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन लगायतका माग राखेका छन् । जसपाका यी माग सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री ओली सकारात्मक भएको जसपाका अध्यक्ष ठाकुरनिकट नेताहरूले बताएका छन् ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिसद् अध्यक्ष भट्टराई प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षसँग सत्ता गठबन्धन गर्ने पक्षमा छैनन् । यी दुवै जनाले ओलीको घोर विरोध गर्दै आएका छन् ।
यादव र भट्टराईले विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमार्फत प्रधानन्त्रीको चर्को विरोध गर्दै आएका छन् । भट्टराईले ओलीलाई भष्मासुरको समेत उपमा दिएका छन् । तर उनले आजसम्म काँग्रेस र माओवादी केन्द्रको कुनै नकारात्मक आलोचना र टिप्पणी गरेका छैनन् ।
तर, अध्यक्ष ठाकुरले मधेसको मुद्दामाथि काँग्रेस र माओवादी केन्द्रले धोका दिँदै आएको आरोप लगाउँदै आएका छन् । आफ्ना मुद्दाप्रति यी दुई पार्टी उदासिन भएकोले सत्ता गठबन्धनका लागि विकल्प खोज्दै गरेको उनी बताउँछन् । ठाकुरले आफ्ना माग सम्बोधन जुन पार्टीले गर्छ उहीँ पार्टीसँग सत्ता सझेदारी गर्ने मनसाय बनाएका छन् ।
ठाकुरले खोजेको विकल्प नै ओलीसँगको सत्ता समिकरण भएको कतिपयको आकलन छ । तर, प्रष्ट कुरा के हो भने उनी ओलीसँगै सत्ता साmझेदारी गर्ने पक्षमा उभिएका छन् ।
अध्यक्षद्वय ठाकुर र यादवको दुई मतका कारण सत्ता समिकरण अनिश्चित बन्दै गएको छ । ठाकुरपक्ष ओलीसँग र यादवपक्ष काँग्रेस, माओवादी केन्द्रसँग सरकार गठबन्धन गर्ने पक्षमा छन् ।
केही दिनअघि यादव–भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव गरेका छन् । सरकार गठनबारे औपचारिक निर्णय लिन नसकेको जसपाले प्रतिपक्ष काँग्रेसलाई संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न र नयाँ सरकार जसपा नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव गरेका हो ।
यादव–भट्टराई देउवालाई भेट्न चैत ३१ गते उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । त्यसपछि केही समयकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टै भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा उनीहरूले जसपा नेतृत्वको सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।
त्यस्तै उनीहरूले काँग्रेससँग राखेको प्रस्तावका लागि अर्का अध्यक्ष ठाकुर तयार नभएको उनीनिकट वरिष्ठ नेता राजेन्द्र महतोले बताए । महतोका अनुसार, –‘सत्ता समीकरणका लागि काँग्रेस तयार नहुँदासम्म समीकरण हुन सक्दैन तर, नेपाली काँग्रेसले जसपा नेतृत्वको सरकारमा जान हिच्किचाएको देखिन्छ ।’
काँग्रेसका कारणले जसपा थप अनिर्णयको बन्दीमा फसेको महतो बताउँछन् । काँग्रेस र माओवादी केन्द्र एक्लैले गठबन्धन गर्दा पनि सरकार बन्ने अवस्था छैन । त्यसका लागि जसपाले साथ नदिए कुनै पनि दलले सरकार गठन गर्न सक्दैनन् ।
नयाँ सत्ता गठनका लागि जसपा निर्णायक भएकोले जसपाले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने भन्दै अध्यक्ष उपेन्द्र यादव पक्षले काँग्रेस, माओवादीसँग प्रस्ताव राखेको छ । तर, जसपाको प्रस्तावमाथि माओवादी केन्द्र लचिलो भए पनि काँग्रेस तयार नभएको स्रोत बताउँछ ।
उता तीन दलको साझेदारीमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउँदा उचित हुने भन्दै सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन ओलीले चेतावनी दिँदै आएका छन् ।
तत्काल ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए नयाँ सरकार बन्नेतिर भन्दा प्रतिनिधिसभा विघटनतर्फ मुलुक अघि बढ्ने सम्भावना रहन्छ ।
संविधानको धारा ७६(२) अन्तर्गत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए धारा ७६(३) अनुसार उनकै नेतृत्वमा अल्पमतको सरकार बन्छ । अल्पमतको प्रधानमन्त्रीले विश्वासको मत लिन सकेनन् र अर्का प्रधानमन्त्री पनि नियुक्ति हुन सकेन भने संविधानत ओलीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् ।