• मंसिर १२ २०८१, बुधबार

राजस्व छली गर्ने २ कम्पनीविरुद्ध ३० करोड २८ लाख भन्दा बढी विगोसहित मुद्दा दर्ता

बैशाख २ २०७८, बिहीबार

काठमाडौं । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गर्ने दुई कम्पनी विरुद्ध राजस्व अनुसन्धान विभागले ३० करोड २८ लाख रुपैयाँभन्दा बढी विगो मागसहित मुद्दा दर्ता गरेको छ । राजस्व अनुसन्धान विभागले हेटौंडाको न्यु राहुल मोबाइल सेन्टर र वीरगञ्जको ब्याहुत ट्रेडर्सका सञ्चालक विरुद्ध छुट्टा–छुट्टै मुद्दा दर्ता गरेको हो ।

ती दुई मुद्दामा कुल ३० करोड २८ लाख दुई हजार ५ सय ५३ रुपैयाँ विगो असुल गरी उक्त फर्मका कारोबार सञ्चालक तथा बैंक खाता सञ्चालकलाई जरिवाना र कैद माग गरिएको छ । विभागका अनुसार हेटौंडा उपमहानगरपालिका–५ स्थित न्यु राहुल मोबाइल सेन्टरका काजल केशरी समेतले झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको पाइएको असुन्धानले देखाएको पनि विभागले बताएको छ । केशरीसमेत बाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबी लिई उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका–१२ रानिघाटस्थित ब्याहुत ट्रेडर्सका संचालक अनिलकुमार कलवारले पनि झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको विभागले बताएको छ । विभागले कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबीसहित चैत २५ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरेको हो ।