• मंसिर १२ २०८१, बुधबार

कोरोनाको कहरमा नयाँ वर्ष

बैशाख १ २०७८, बुधबार

विश्वभर कोरोना भाइरसले आक्रान्त पारेको अवस्था छ । यसले संसारका के धनी के गरीब सबै देशहरुलाई आछुआछु पारेको संकट घडीमा नयाँ वर्षको आगमन भएको छ । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । आज तीन सय पैसट्ठी दिन पार गरी नयाँ वर्षमा प्रवेश गरेको छ । आजदेखि विक्रम संवत् २०७८ साल सुरु भएको छ । नयाँ वर्ष सुरु भएको उपलक्ष्यमा आफन्त, साथीभाइ र चिनेजानेकालाई एक अर्काले, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ । त्यसै अनुरुप नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिदैं छ । यसरी समय एउटा गतिशील छ । जीवन भनेको निरन्तरताको जड हो । मूलतः संसारमा हरेक देशहरुमा पुरानो वर्षको बिदाइ र नववर्षको आगमनमा स्वागत गर्ने आआफ्ना किसिमको कार्यशैली छ ।

राती बाह्र बजेदेखि बि.सं. २०७७ ले बिदा लिई बि.सं. २०७८ आरम्भ भएको छ । नव वर्षको पुनित अवसरमा शुभकामना एक अर्कोमा आदान–प्रदान गरिन्छ । विगतमा घटेका जेजस्ता घटनाहरु भए पनि त्यसलाई चटक्क बिर्सि नयाँ जोश र जाँगरलाई अगाडि बढाएर सुखद भविष्यको परिकल्पना गर्नु स्वभाविकै हो । विगत वर्षहरु झैं २०७७ पनि अब इतिहास भइसकेको छ । भूतकालमा भएका कमी कमजोरी र त्रुटी संझिएर चिन्तित हुनुभन्दा इतिहासलाई गुरु ठानेर भविष्यको सम्यक विश्लेषण र दिशा निर्धारण गर्नतिर सचेष्ट रहनु मानवीय धर्म हो, कर्तव्य हो ।

नयाँ वर्ष शुभारम्भको उपलक्ष्यमा विगतलाई समीक्षा गर्दै भविष्यको गोरेटो पहिल्याउने प्रयत्न गर्ने हो भने हामी हाम्रो भविष्य स्वतः नै उज्ज्वल देख्न पाउंने छौं । त्यसो त नयाँ वर्ष र नयाँ परिवर्तन हामीले सोचेजस्तो सिधासाधा, सुखद र शान्त हँुदैन । त्यो जहिले पनि टेढोमेडो हुन्छ । हाम्रो सोचाइभन्दा केही जटिल नै हुन्छ । त्यसैले नयाँपनको प्रसव वेदना पनि समाजले सहनै पर्छ । केही अप्ठ¥यारो भोग्नैपर्छ । तर त्यसपछि हामी एक नयाँ युगमा प्रवेश गर्नेछौं । त्यसपछि हामी एक नयाँपन महसुस गर्नेछौं ।

प्राचीन भारतको उज्जैनका राजा बिक्रमादित्य तृतीयले चलाएको मानिने बैशाख महिनाको पहिलो दिनलाई नववर्षारम्भको दिन मानिएअनुरुप आजको नयाँ वर्षको दिनमा हाम्रा चाडपर्वहरु राष्ट्रियजीवन एवं सांस्कृतिक र धार्मिक सम्पन्नता एवं सम्बृद्धिका परिचायकका रुपमा मनाउने प्रचलन रहेकाले तदनुरुप आफ्नो मूल्य एवम् मान्यताको परस्पारिक व्यवहार अनुसार सवैको भलो होस् भन्ने भावना दिई एक–आपसमा शुभकामना साटासाट गर्नुले सहजीवनको महत्व तथा यसको मूल्य र मान्यताको यर्थाथलाई संस्कारगत जीवन पद्धतिको रुपमा आत्मसात् गर्न र राष्ट्र निर्माणमा अगाडि बढ्न हामीलाई प्रेरणा प्रदान गरिरहेको हुन्छ ।

सोही अनुरुप आजदेखि नयाँ वर्ष पदार्पण भई एउटा नयाँ बिहानी सद्भावना र शुभकामनाको प्रतिक भएर उदाएकोले मानिसको मनलाई प्रफुल्लित बनाएको छ । नयाँ वर्षको आगमनसँगै नेपालीको घर–आगन मैत्री, प्रेम, सद्भावनाका सुगन्धले भरिपूर्ण रहने अपेक्षा प्रत्येक व्यक्ति–ब्यक्तिले आदान–प्रदान गर्ने शुभकामना सन्देशहरु पाइन्छन् । त्यसैले आजको दिनलाई मंगलमय दिनको रुपमा आत्मसात् गरी नववर्षको स्वागत गर्ने संस्कार विद्यमान रहिआएको छ ।

नयाँ वर्षको शुभअवसरमा शुभकार्यहरु र धार्मिक कृत्यहरु गर्नुअधि सबेरै उठेर स्नान गरी नजिकका धार्मिक स्थलहरुमा दर्शन र पूजन गर्न जाने, गुरु र पुरोहितबाट नववर्ष एवं संक्रान्तिको शुभफल र कथा सुन्ने, सिदा, दक्षिणा अर्पण गर्ने कार्यहरु गर्दा वर्षभरि नै लाभदायक हुने र स्वास्थ्यदायक हुने विश्वास गरी तेलमर्दन गर्ने, मिश्री, मरिच र निमको पात खाने प्रचलन अतिरिक्त आफन्तहरुलाई शुभकामना र बधाइ एवम् अभिनन्दन ज्ञापन गर्ने तथा घरमा आफ्ना हितौषीहरुलाई निमन्त्रणा गरेर नयाँ व्यञ्जन एवम् परिकारहरु ख्याउने र खाने कार्य गरी रमाइलो गरिने परम्परा रहेको छ । यस दिनमा प्रत्येक व्यक्तिको जे जसरी दिन बित्दछ वा गुज्रन्छ अर्थात खानपिन, रमाइलो, सुख, सुविधा हुन्छ त्यसको फल वा प्रभाव वर्षभरि नै परिरहने जनविश्वास रहेकाले यस दिन सकभर रमाइलो, मनोरञ्जन गर्नुका साथै मीठा एवम् स्वादिला भोजन गरी खुशियाली, आराम एवम् मनोरम वातावरणमा दिन बिताउने प्रचलन रहेको छ ।

समग्रमा भन्नुपर्दा संसारभरि फैलिएको महामारी विरुद्ध सबै मानवहरु एक जुट हुन पर्ने बेला खट्किएको छ । यस्तो किसिमको युद्धमा सबैको सहयोग र भरोसा अपरिहार्य हुने भएकोले सबैले युद्धमा होस्टेमा हैसे गनै पर्दछ । एकान्तवास बस्न र सामाजिक दुरी कायम गर्नु नै अहिलेको महत्वपूर्ण क्षण साबित भएको छ । यसलाई मन, बचन, कर्मले सबै एक ढिक्का हुनु पर्छ । यस महामारीलाई जरैदेखि परास्त हुने गरी हटाउनु नै अहिलेको महान कार्य हुन जाने छ । यस पटकको नयाँ वर्षमा घरमा नै बसेर आफ्ना बन्धुहरु साथीभाइ, इष्टमितहरु, सबैलाई टेलिफोन, एस्.एम्.एस्., भिडियो च्याट, इमेल आदि गरी एक अर्को बीचको सम्बन्धलाई धनिष्ठ बनाउन सकिन्छ । यसबाट आफू र आफ्ना सम्पूर्ण परिवारलाई बचाउने चुनौतीपूर्ण कार्य नै यहि हो ।

यसर्थ, नयाँ वर्षको स्वागत तथा अभिनन्दन गर्ने कला कौशल आआफ्नो देशमा आआफ्नै किसिमका रहेका छन् । हाम्रो देशमा बैशाख १ गते वर्षको पहिलो दिन अर्थात् नयाँ वर्ष पर्छ । नेपालमा नव वर्षको यस पर्वलाई पश्चिमी देशमाझैं आमोद–प्रमोदको वातावरणभन्दा धार्मिक वातावरणमा मनाउने चलन बढी पाइन्छ । हामीकहाँ नव वर्षलाई राष्ट्रिय पर्वको रुपमा मनाउने सन्दर्भमा अधिराज्यभर बिदा हुनुका साथै सरकार प्रमुखबाट देशवासीको नाममा सन्देश दिने परम्परा पनि रहिआएको छ ।

पुरानो सालमा घटेको तीतामीठा अनुभवहरु चटक्क बिर्सि बाँकी कतिपय कार्यहरु सफल गराउने विश्वासका साथ समस्त नेपालीका लागि नयाँ वर्ष उत्सुकताको प्रतीक मानिन्छ । वि.सं. २०७८ साल कोरोनामय दिनजस्तो भएर नआओस् । यसरी आउँदो वर्ष वि.सं. २०७८ साल कोरोना जस्तो भयानक जीवाणुलाई संसारबाट हटाइ सबैको लागि फलदायी रहोस् । यसरी नव वर्षले सबैलाई कल्याण होस् र सबैलाई हार्दिक मंगलमय शुभकामना छ ।