काठमाडौं । अनालाइन कक्षाको अभ्यासले बागलुङका विद्यार्थीहरुमा आनीबानी परिवर्तन ल्याएको देखिएको छ । यसले विद्यार्थीको चासो र खोजीको विषयवस्तुमा पनि फरक पहिचान र स्वादमा रम्न लगाउन थालेको छ । पहिले इन्टरनेट भनेको खेल, रमाइलो र आश्चर्यका लागि मात्र हो भन्ने गरी बनेको सोच अब इन्टरनेट भनेको खोज, अध्ययन र शिक्षा आर्जनको विषय पनि हो भन्नेमा रुपान्तरण हुन गएको छ । यो विद्यार्थीका लागि आफैमा ठूलो उपलब्धी र रुपान्तरणको नयाँ मोड पनि हो ।
अध्यापन तयारी :
शिक्षकले कक्षामा जाँदा तयारी नगर्ने र ससर्ती पाठ मात्र पढाउने गरेको बानी र प्रयोग अनलाइन कक्षाले टुटाइदिएको छ । अनलाइन कक्ष आफैमा अडिओ भिज्युअल हुने र अन्तरक्रियामूलक हुने भएकाले यसमा प्रस्तुत हुँदा शिक्षक÷शिक्षिकाले निकै राम्रो तयारी गरेको देखिएको छ ।
अबका दिनमा त कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ भन्ने सोचको विकास हुन थालेको छ । यसले हरेक कक्षाको पाठको पूर्व तयारी गर्न शिक्षकलाई बानी पारेको छ । यसले मात्र विद्यार्थीलाई राम्ररी सिकाउन सकिन्छ भन्ने मनोविज्ञान बन्न थालेको छ ।
रेशनुन्थलाको अनुभव : शिक्षण सिकाइ विधिमा नयाँपन
रेश नुन्थला मावि बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-७ मा पर्छ । त्यहाँका प्रधानाध्यापक ओमबहादुर थापाका अनुसार कक्षा कोठामा पुगेर अध्यापनमा सहभागी कमै शिक्षकले पूर्वतयारी गर्थे । यो चलिआएको चलन नै हो । तर कोरोना महामारी आएपछि शिक्षण सिकाइका विधि र शिक्षकको तयारीमा परिवर्तन आएको छ । अघिल्लो वर्ष चैतमा कोरोना रोक्न भएको बन्दाबन्दीको समयमा विद्यालयले चलाएको अनलाइन कक्षाका कारण विद्यार्थी र शिक्षक दुवैको पढाउने र पढ्ने शैली बदलाव आएको छ ।
थपाको कथन छ- अनलाइन कक्षाले शिक्षकलाई पूर्वतयारी गर्न बाध्य बनायो, मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन् । शिक्षक जिम्मेवार र विद्यार्थी केन्द्रित अध्यापन गरिनु पर्ने वातावरण बन्न गयो ।
गाउँमा पनि इन्टरनेटको प्रयोग :
कोरोना समयमा प्रयोग भएको विधिलाई अहिले पनि विद्यालयले पछ्याइरहेको छ । यो विधि आकर्षक मात्र होइन, आफैमा विसाल र अनुसन्धानमूलक पनि छ । रेश नुन्थला माविका सबै शिक्षक अहिले इन्टरनेटको प्रयोग गरेर आफू अद्यावधिक रहने गरिरहेका छन् । विद्यालय ख्ुले पनि शिक्षकहरु विद्यार्थीलाई समेत सिकाउने गरिरहेका छन् । विद्यालयमा इन्टरनेटको पहुँच र विद्यार्थीसँग समेत इन्टरनेटको पहुँच हुँदा पठनपाठन प्रक्रिया सहज हुने गरेको अनुभव छ शिक्षकहरुको । अहिले शिक्षकहरु आफै पनि नयाँ नयाँ खोजमा लागेका छन् । नयाँनयाँ शैक्षिक सामग्री पाएपछि शिक्षकहरु पनि धेरै स्रोत र सामग्रीमा खेल्न थालेका छन् ।
प्रविधिमैत्री शिक्षामा आकर्षण :
रेश नुनथला विद्यालयमा ४५२ विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिसँग जोडिन आग्रह गर्दा ७० प्रतिशत विद्यार्थीले सिकाइमा सहभागिता जनाइरहेका छन् । अनलाइन कक्षा भनेको कक्षा कोठाजस्तो रहेन, त्रुटि हुँदाको घडीमा रेकर्ड रहने भएकाले शिक्षक जिम्मेवार बन्नै पर्यो । त्यसमा त विद्यार्थी मात्र होइन, अभिभावक पनि हेरेर वा टाढैबाट सहभागी भैरहेका हुन्छन् । यसको प्रभाव र परिणाम तत्कालै देखिन्छ ।
विद्यार्थीले अनलाइनमार्फ्त शिक्षकले सिकाइका विषयवस्तु रेकर्ड गरेर राख्न सक्ने र दोहोर्याएर पढ्न सक्ने भएकाले यो विधि प्रभावकारी देखिएको छ । तत्कालका लागि अनलाइन कक्षा सबै विद्यार्थीको पहुँचमा हुँदैन कि भन्ने भए पनि प्रयास गरेपछि हुने नुन्थलाका शिक्षकको अनुभव छ ।
निष्कर्ष :
अनलाइनका कारण विद्यालय बन्द रहेको समयमा समेत पाठ्यक्रममा आधारित पठनपाठन निरन्तर चलिरह्यो । पाठ्यक्रम सक्न र दोहोर्याउन सजिलो भयो पनि । शिक्षक र विद्यार्थीका बीचमा अन्तरक्रियात्मक अध्ययन-अध्यापन भयो । अब त विद्यालयमा ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सञ्चालनमा आएको छ । कक्षा कोठामा समेत प्रोजेक्टरको माध्यमबाट अध्यापन हुने अवस्था बन्दै गएको छ । शिक्षण सिकाइका लागि शिक्षण सामग्री तयार गर्नुपर्ने नयाँ बानी बसेको छ ।