• मंसिर १२ २०८१, बुधबार

लाजनीति नहुँदा बिग्रिएको राजनीति

चैत्र ३१ २०७७, मंगलवार

चाणक्यले आफ्नो नीति शास्त्रमा कहिल्यै लाजनीतिका कुराको व्याख्या गर्ने फुर्सद पाएनन् कि गरेनन् इतिहासले त बताउन सकेन भने कस्ले पो बताउँछ होला र ! राजनीति र लाजनीति एकै बाबुका छोराछोरी हुन् भन्न कुनै कन्जुस्याइँ गरिरहनु पर्छजस्तो लाग्दैन । किनकि, मूल अर्थात् यिनको पूर्खा एउटै हुनुपर्छ । तबमात्र सँधियार मात्रै होइन, एउटै भाडाको भात खाएको हुनुपर्छ ।

हुन त आजकल मानिस इतिहासले बताउँछ भन्नेहरुको जमात पनि नभएको होइन, इतिहासमा रङ लागाएर पोत्छु भन्नेहरु पनि यो समाजले नजन्माएको होइन । फरकफरक आँखाको हेराइ हुनु पनि अस्वभाविक होइन कि भन्ने ठम्याइ हुन सक्छ या सक्दैन यो छलफलको हुन सक्छ । एउटै शरीरका दुई आँखाहरु पनि नमिलेर होला कि किन हो बिचमा नाकले अलग गर्नु परेको प्रमाण त तपाईं हामी सँग नै छ भन्न कन्जुस्याइँ गरिरहन पर्दैन होला ।

राजनीतिमा हेर्ने आँखाहरु पनि फरकफरक नभएका होइनन् । कहिले लडाइँ झगडा त कहिलेकाही काटमार पनि पूर्वजन्मको कमाइ हो कि राजनीतिको पूख्र्यौली चिनो हो त्यस विषयमा लामै बहसको आवश्यकता नहोला पनि भन्न सकिन्न । आखिर खड्कुँलो ओदानमाथि राखेर दाउराका मुढाहरुमा झिक्रा सल्काएर आगो बालिन्छ । तर एउटा खुट्टाको ओदान बनाएर खड्कुँलो बसालिन्छ भने अकबर बीरबलको कथा जस्तै नहोला भन्न सकिन्न । जब बिजुलीको तार टाँग्नलाई पनि त धेरै पोल अर्थात् खम्बाको आवश्यकता देखिन्छ । यहाँ भरखरै मात्र अर्थात् एउटा खम्बामा मात्रै तार टाँग्न प्रयास भएको भन्ने सुन्नमा आयो यथार्थ के हो समयले बताउला । यहाँ खम्बा एउटा प्रतीक हो अर्थात् खम्बा साधन हो भने साध्य राजनीति र लाजनीति नहोला भन्न सकिन्न ।

जब गर्मीको महशुस भयो, तब घामको किरण छेक्नलाई छाताको आविष्कार भयो पूर्खाहरुले छातामा कालो रङको कपडा प्रयोगमा ल्याए कारण त्यो थियोे वैज्ञानिक आधार कालो रङको कपडाले मात्रै सूर्यको किरणलाई छेक्न सक्छ । तर आजकल बजारमा छातामा विभिन्न रङका कपडाको प्रयोग गरेर छाताको प्रयोगमा ल्याइएको पाइन्छ । त्यस्तै राजनीतिको पनि आफ्नै नीति नियम र सिद्धान्त हुन्छ । जसले विभिन्न रङका कपडा प्रयोग गरेर जसरी छाता बनाइन्छ । त्यसबाट लक्ष्य प्राप्तिमा बाधा उत्पन्न हुन्छ । त्यस्तै राजनीतिले बाटो बिराउँदा व्यक्तिगत क्षणिक आनन्द प्राप्ति मिल्ला तर समग्रमा भन्दा द्वन्द्वको अवसान नहोला भन्न सकिन्न ।

जब व्यक्ति वा समुदाय किन नहोस् जसमा आफ्नो स्वामित्व रहन्न वास्तवमा त्यहाँ पक्कै पनि अपनोत्व पनि पक्कै रहन्न मही माग्ने ढुंग्रो लुकाउनु पर्ने कुनै कारण नै छैन । विधि विधान र पद्धतिलाई तिलाञ्जली दिएर निजी स्वार्थ व्यक्तिको परिपूर्ति गर्न गरिएको निजी भर्ती केन्द्रलाई पुरै संघ, संगठन र दलले अपनत्व लिनु भनेको त्यो एउटा झार हुन्छ नि जस्लाई जन्डिस लाग्दा कुटेर झोल बनाएर खुवाइन्छ, त्यो झारको फेद हुँदैन जरा हुँदैन घरको पर्खाल भित्ता र रुख विरुवामा फैलिन्छ त्यसै समान हुन जान्छ ।

त्यो झारले हुने भए वर्षै पिच्छै करोडौंको लगानी गरेर किन वृक्षारोपण गर्नु जरुरी हुन्थ्यो होला र यस्तो प्रवृत्तिको राजनीतिले देश र समाजले चाहेको उपलब्धि हासिल गर्न सक्ला त ! यसबाट आफूलाई अलग राखेर भिन्न पहिचान बनाउन सक्नु नै नेका झापा काठमाडौं सम्पर्क समितिको लागि हितकर नहोला भन्न सकिन्न । प्रजातान्त्रिक पार्टी र त्यसका भातृ संघहरु शुभेच्छुक संस्थामा विचार राख्न नपाउनु विचार नसुनिनु कलमको विचारमा बन्देज लगाउनु नै आन्तरिक प्रजातन्त्र ब्रह्मनालमा पुगेको हो भन्दा दुईमत नहोला । राम्रो काम हुँदाहुँदै पनि बिना सरसल्लाह बिना बैठकले पास नगेरेको कुरामा कसरी अपनत्व लिन मिल्छ र ! त्यस्ता निर्णयलाई परिवार चलाउन गरिएका पारिवारिक पदका बाँड्फाँड भन्दा दुई मत नहोला ।