काठमाडौं । नेवार समुदायको निकै चित्ताकर्षक पर्व पाहाँचःह्रे मनाइएको छ । हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंको असन चोकमा यो पर्व मनाइएको हो । ‘पाहाँ’ भन्नाले अतिथि वा पाहुना भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशी तिथिलाई बुझिन्छ । यसलाई ‘पिशाच चतुर्दशी’ पनि भनिन्छ ।
किम्बदन्तीअनुसार आजको दिन ईन्द्रायणी (लुति अजिमा) बाहेक अरु सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्नका लागि टोल टोलबाट लिएर जाने गरिन्छ । ईन्द्रायणी नाम गरेकी अरु अजिमा दिदीबहिनीभन्दा निक्कै गरिब थिइन् । कथामा वर्णन गरेअनुसार एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा ईन्द्रायणी अर्थात् लुति अजिमा पनि आइ पुग्छिन् ।
उनी सम्पन्न नभएकाले अरुहरुले हेला गरेर खाना फ्याँकेर दिन्छन् । त्यसरी फ्याँकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न पुगी रगताम्य हुनजान्छ । आफू अपमानित भएको महसुस गरेपछि लुति आजिमा त्यहाँबाट सरक्क निस्किएर हिँड्छिन् । लुति भनिने इन्द्रायणीले आजिमाले बाटोमा एउटा फर्सी किनेर लान्छिन् । घरमा पुगेर फर्सी काट्दा सर्प निस्किेपछि त्यो फर्सी अखाद्य भएको ठानी फ्याक्न जाँदा एक्कासी सुनमा परिणत हुन्छ ।
अर्को वर्ष फेरि दिदी अजिमालाई सबैले भोजमा बोलाउँछन् । ईन्द्रायणी सम्पन्न भएर जाँदा उनको निकै सत्कार गरिन्छ । अजिमाले यो सबै सत्कार ढोंगी भएको र धनका लागि मात्र भएको भनेर बच्चा लिएर त्यहाँबाट निस्कन्छिन् । त्यसैले पाहाःचह्रेमा ईन्द्रायणीको खट निकालेर पुजा गरिँदैन ।
यसको बदलामा ईन्द्रायणीको पुजा पाहाःचह्रे आउनु भन्दा ४ महिना अघि नै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ । आजको दिन नेवार समुदायमा मुकुण्डो लगाएर नाच देखाउने प्रचलन पनि छ ।
यस अवसरमा नेवार समुदायमा भोज आयोजना गरी आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रलाई घरमा बोलाएर माया, प्रेम, सद्भावना र एकता झल्काउने गरी मनाइन्छ ।