धेरै बुढापाकाको गुनासो हुन्छ, उनीहरूलाई निन्द्रा कम लाग्छ । विश्वमा नै उमेर ढल्केका कम्तिमा पनि आधाजसो मानिस निन्द्राको समस्याको सामना गरिरहेका हुन्छन् । एक तिहाइदेखि एक चौथाइ पाका मानिसमा निन्द्रा नै नआउने समस्या हुन्छ । पाको उमेरका मानिसमा निन्द्राको यस्तो समस्याले दुई प्रकारले दुःख दिन्छ । रात पर्ने बित्तिकै उनीहरु सुत्न जान्छन् । उनीहरूको निन्द्रा छिटै खुल्दछ तर त्यसपछि निन्द्रा लाग्दैन र जागै रहन्छन् । कहिलेकाहीँ बिमारीका कारण उनीहरूलाई सुत्न मुस्किल हुन्छ । कोही पनि स्वस्थ हुँदाहुँदै पनि राम्रोसँग सुत्नै सक्दैनन् ।
लामो समयसम्म राम्रोसँग सुत्न नपाउँदा स्वास्थ्यमा विभिन्नखाले नकारात्मक असर पर्दछन् । पर्याप्त निन्द्राको अभावमा जिउको रोग प्रतिरोधी क्षमतामा ह्रास आउँदछ । दिनमा आलस्य आउने दिक्क लाग्ने हुनुका साथै कुनै दुर्घटनाको शिकार हुने जोखिम बढ्दछ । त्यसैले राम्रो स्वास्थ्यका लागि राम्रो निन्द्रा आवश्यक हुन्छ । तर जब जब हाम्रो उमेर बढ्दै जान्छ जिउले खोज्ने निन्द्राको आवश्यकता पनि कम हुँदै जान्छ । त्यसैले यदि बुढो उमेरमा निन्द्रा कम लाग्दछ भने धेरै चिन्ता मान्नुपर्ने हुँदैन ।
उसो त यो ठयाक्कै भन्न मुस्लिक हुन्छ कि कुन उमेरका मानिसलाई कति निन्द्रा आवश्यक पर्दछ तर हामीले कुन मानिस कति घण्टा सुत्दछ भन्ने कुरा थाहा पाउन चाहीँ सक्दछौँ । यसबाट यो पत्ता लगाउन सकिन्छ कि जवान मानिसको तुलनामा पाका मानिस कम सुत्दछन् । यसबाट बुढापाकाहरू कम सुत्ने कुरा त थाहा हुन्छ तर के उनीहरूलाई निन्द्राको आवस्यकता नै कम भएको हो ? भन्न चाहीँ पत्ता लगाउन सकिंदैन । कतिपय मानिसको तर्क के हुन्छ भने बुढापाकाहरू दिउसो अन्य काममा व्यस्त हुनु नपर्ने भएकाले दिउसो उँघ्ने, झल्ने वा केही समय झपक्क निदाउने भएकाले उनीहरु रातमा कम सुत्दछन् । बुढापाका मानिसमा निन्द्रा नआउने समस्यालाई प्रायः चिकित्सकले गम्भीर रूपमा लिँदैनन् ।
एक सर्वेक्षणका अनुसार सयमा ६९ जना बुढापाका मानिसलाई राम्रोसँग निन्द्रा नै आउँदैन । यसले निन्द्रा नआउने समस्या लिएर चिकित्सक कहाँ पुगेका मध्ये ८१ प्रतिशतको गुनासो चाहीँ आफ्नो समस्याप्रति चिकित्सकले ध्यान नै नदिएको भन्ने हुन्छ । केही छिनका लागि मानौं कि बुढापाकालाई धेरै निन्द्रा आवश्यक पर्दछ । यदि त्यसो हो भने उनीहरू किन कम सुत्दछन् त ? यसको एउटा कारण यो पनि हुन सक्दछ कि उमेर बढेसँगै उनीहरूको निन्द्रामा खलल पुग्दछ र उनीहरू छिटै जाग्छन् । कतिपय अनुसन्धानले यो तर्कलाई सही प्रमाणित पनि गरेका छन् । पाका मानिस राति छिटै सुत्ने र बिहान छिटै उठ्ने गर्दछन् ।
उनीहरूको जिउलाई शायद अझै निन्द्राको आवश्यकता हुन्छ तर उनीहरू सुत्न सक्दैनन् । कहिलेकाहीँ जबरजस्ती सुत्लान् पनि तर गहिरो निन्द्रा नै पर्दैन । हालै रुसमा एक सय ३० जना मानिसलाई प्रयोगशालामा दिनरात जागै राखियो । बीचबिचमा उनीहरूलाई कत्तिको निन्द्रा लागेको छ भनेर सोधियो । पृथकपृथक समयमा उनीहरूलाई पृथक पृथक प्रकारको निन्द्राको झप्को आइरहेको पाइयो । यसको कारण यो थियो कि दिनको पृथकपृथक समयमा शरीरबाट मेलाटोनिन हर्मोन निस्कने प्रकिया पनि फरक हुन्छ । यो अध्ययनबाट अर्को तथ्य के पनि पत्ता लाग्यो भने जवान मानिसको तुलनामा पाका मानिसलाई निन्द्रा आउने समय पनि फरक हुँदो रहेछ ।
शोधकर्ता अर्केडी पुतिलोभका अनुसार उमेर बढेसँगै गहिरो निन्द्रा ल्याउने मस्तिष्कको तरंग कमजोर बन्दछ (जसका कारण बुढापाकालाई निदाउन मुस्किल पर्दछ । यसका साथै बुढापाकाको शरीरको जैविक घडी पनि सुस्त भइदिन्छ । शरीरको तापक्रम पनि घट्दछ र निन्द्रा लगाउने मेलाटोनिन हर्मोन पनि कम निस्किन्छ । अमेरिकाको मिचिगन विश्वविघालयका एन आर्वरले विश्वका पाँच हजार मानिसको सुत्ने आनीबानीबारे सर्वेक्षण गरे । त्यसमा उनले एउटा एपको सहयोग लिए । त्यसक्रममा उनले युवाजनको सुताइको आनीबानी फरक हुने त प्रायः सबैजसो बुढापाकाको सुताइको आदत एकै प्रकारको हुने तथ्य पत्ता लगाए ।
धेरैजसो पाका मानिस राति छिटै सुत्ने र बिहान छिटै जागा हुने गर्दछन् अझ अर्को रोचक तथ्य त के भने मानिसहरू ४० वर्षको उमेरमा सबैभन्दा कम सुत्दछन् । सन् २००८ मा अमेरिकाको ब्रिंघम वुमेन अस्पतालमा निन्द्रा सम्बन्धी एउटा अर्को अध्ययन गरियो । त्यहाँ केही मानिसलाई १६ घण्टासम्म सुत्ने मौका दिइयो । त्यसक्रममा ६० देखि ७२ वर्षसम्मका मानिस औसतमा साढे सात घण्टासम्म निदाए । त्यस्तै १८ देखि ३२ वर्षसम्मका मानिसले नौ घण्टासम्म निन्द्राको मज्जा लिए ।
यसबाट के निष्कर्ष निकाल्न पनि सकिन्छ कि बुढापाकाको तुलनामा जवानलाई बढी निन्द्रा आवश्यकता पर्दोरहेछ । तर अरूको तर्क के पनि हुन्छ कि जवान मानिस कामले बढी थाकेका हुन्छन् त्यसैले उनीहरुलाई बढी निन्द्रा लाग्दछ । शोधकर्ताहरूका अनुसार रातमा निन्द्रा नपर्ने वा राम्रोसँग सुत्न नसकेका बुढापाका दिनमा चाहीँ मज्जाले घुरेर सुति निन्द्राको आवश्यकता पूर्ति गर्ने गर्दछन् । अमेरिकाको नेशनल स्लीप फाउन्डेशानका अनुसार वयस्क मानिसलाई सातदेखि नौ घण्टासम्मको निन्द्रा आवश्यक हुन्छ भने ६५ वर्षभन्दा बढी उमेरका मानिसलाई सातदेखि आठ घण्टाको निन्द्राको आवश्यकता हुन्छ । राति अबेरसम्म जागै रहने र बिहान उठ्ने थकाइ महशुस गर्नु स्वास्थ्यका लागि राम्रो होइन । यस्तो अपर्याप्त निन्द्राले स्वास्थ्यमा खराब असर पार्दछ । त्यसैले यसलाई गम्भीरतापुर्वक लिएर आफ्नो सुताइको आनीबानीलाई नियमित तथा सन्तुलित बनाउनु पर्दछ ।