घोराही, २९ चैत ।
गत २५ गतेको नेपाल पत्रकार महासंघको चुनावमा भएको मानिसहरुको जमघटका कारण जम्मा भएको फोहोर कसलाई दिने भनेर गम्नु पर्यो । बोलाउने बित्तिकै आउँछ र लैजान्छ भनेर घोराही कवाड व्यवस्थापन प्रेसका बाल्मी केसीलाई फोन गरियो । कर्मचारी आएर पानीका बोत्तल, मतपत्र र प्रचार सामग्री उठाएर लगे । सार्वजनिक समारोह तथा भेलामा बोलाउनुस् म फोहोर किन्नको लागि ग्राहक बढाउँछु भनेर केसीले आग्रह गर्नुहुन्छ । कतै सरसफाइ कार्यक्रम हुन लागेको भन्ने सुन्यो की कुँदिहाल्नुहुन्छ । त्यहाँ आफूलाई चाहिने पुःन प्रयोग हुने फोहोर अलग गराउनुहुन्छ । प्रेसको गाडी मगाएर लैजानुहुन्छ ।
त्यसो त घोराही-१४ ले अघिल्लो वर्षदेखि नै फोहोर किन्ने बजेट विनियोजन गर्न थालेको छ । वडाअध्यक्ष शक्तिराम डाँगीका अनुसार यसपटक वडाले छ लाखको फोहोर किन्ने योजना बनाएको छ । नगरपालिका मातहतमा रहेका टोलहरुलाई नगल्ने फोहोर वर्गिकरण गर्न आग्रह गरेको छ । त्यस वडाको फोहोर अरुले पाउँदैनन् । वडा कार्यालयले नै किन्छ । केही टोलले सरसफाइ गाडीमा दिनै छोडेका छन् ।
घोराही उपमहानगरपालिकाले फोहोर किन्नका लागि अभियान नै चलाएको छ । सरसफाइ शाखाका गोपाल खड्काका अनुसार वडामा पुगेर टोलका अगुवाहरुको भेला गरी फोहोर जम्मा गर्न भनिएको छ । जुन टोलमा फोहोर जम्मा भएको खबर आउँछ त्यहाँ पुगेर तौलेर ल्याइन्छ । नगरपालिकाले फाटेका, च्यातिएका लत्ताकपडा, प्लाष्टिक, सिसा, फलामजन्य लगायत जम्मै फोहोर किन्छ । अब उपमहानगरले भान्साको फोहोर पनि किन्ने भएको छ, कम्पोष्ट मल बनाउन ।
फोहोर कहाँ लगेर व्यवस्थापन गर्ने हो भनेर चिल्लाउनेको संख्या धेरै थियो । प्लाष्टिक जलाउने र गाड्ने धेरै थिए । उनीहरुले अब फोहोर जम्मा गर्ने र बेच्ने बानीको विकास गरेका छन् । एक महिनाको फोहोरले एक पोका नुन, आठ दश पत्ता स्याम्पो, धारामा राख्ने साबुन आएपनि फाइदा हुने देख्दैछन् । फोहोर किन्ने एउटाले मानेन भने अर्कोलाई भन्ने विकल्प निस्केको छ ।
शुरुका दिनमा फोहोर किन्छौं भनेर खोज्न जाँदापनि नपाएको घोराही कवाड व्यवस्थापन प्रेस घोराही–१७ पनौराले बताएको छ । पुनः प्रयोग हुने फोहोर जम्मा गरेर खबर गर्न आग्रह गरिएको सञ्चालक वाल्मी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कतै कतैबाट मात्रै लैजानुस् भन्थे । अहिले मिडियामा प्रचारपनि अति भएको छ । बोलाउने पनि बढेका छन् ।
उहाँका अनुसार प्लाष्टिकका बोत्तलहरु, जर्किनहरु, प्लाष्टिकका झोला प्रेसले उचित मूल्य दिएर खरिद गर्छ । यसैगरी कागज, गत्ता, कापी किताबहरु पनि प्रेसले किनेर लैजान्छ । टिन, फलाम, रेडबुल क्यान, अरु वस्तु हाल्न प्रयोग भएका बोत्तलहरु र सेता फुटेका काँच लैजान्छ । त्यसयता फोहोर संकलन गरेपछि प्रेसलाई खबर गर्नुपर्छ । घरै आएर लैजान्छ । विवाह, पाटी, मृत्यु, वर्थ डे हरेक बखत उब्जिने फोहोर खोज्दै हिंडेको केसीको भनाई छ ।
उक्त प्रेसले फोहोर दिनुस् मोहर लिनुस् भन्ने मूल नारा अघि सारेको छ । त्यसको लक्ष्य घोराहीलाई सफा र सुन्दर शहर बनाउने हो । शिक्षण पेशामा साढे ३४ वर्ष विताउनु भएका केसीले समाज सेवा मूख्य लक्ष्य रहेको बताउनुभयो । ‘पेन्सन पछिको फुर्सदमा केही गरौँ भनेर लागेको छु’ उहाँले भन्नुभयो, ‘कामै नगरी बस्नै सक्दैन ।’ उहाँका अनुसार केही शुभचिन्तकले कति अफ्ठेरो काममा मात्रै हात हाल्नुहुन्छ भन्छन् । उहाँ आफै भने घोराही उपमहानगरका बासिन्दालाई सफा ठाउँमा बस्ने रहर पुरा गराउन लागेको महशुस गर्नुहुन्छ । त्यही समाजसेवी भावनाले फोहोर खोज्दै विभिन्न ठाउँमा जान जाँगर चल्छ । घरको काम छोडेरै भएपनि उहाँ सरसफाइ गर्ने ठाउँहरुमा पुगेर फोहोर संकलन र प्रेसको प्रचार गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ,‘फोहोर जम्मा गरेको खबर आए गाडी पढाउँछु, थप्नुहुन्छ,‘फोहोर तौलेर पैसा दिन्छौ ।’ टोलभरीकाले फोहोर जम्मा गरे झनै सजिलो हुने उहाँको भनाई छ । अहिले पर्यटकीय एवं धार्मिक स्थल बाह्रकुने, पाण्डवेश्वरी मन्दिर धारपानी लगायतका स्थलमा ध्यान दिइएको छ । यसैगरी कम्तिमा पनि गाडीमा भारी पुग्नेगरी जम्मा गर्न टोलहरुलाई आग्रह गरिएको छ । हरेक घरको अलग अलग हिसाब गर्ने तर गाडी भरेर ल्याउँदा सजिलो हुने केसीको भनाई छ । तर, अहिलेसम्म कुनैपनि टोलले लिन आउनुस् भनेनन् । सबै विद्यालय तथा क्याम्पसहरुलाई पनि पुनः प्रयोग हुने फोहोर अलग गर्न आग्रह गरिएको छ ।
पानी खाएपछि नालीमा प्लाष्टिकका बोत्तल नफाल्न आग्रह गर्नेहरु बढेका छन् । फालिएको प्लाष्टिक बगेर खेतमा गई रुखो बनाउँछ । जमीन मुनि गाडिएर बाँझो बनाउँछ । यसैगरी बसबाट फुत्त फुत्त फोहर फाल्दा जंगल विनास हुन्छ । बगेर आएर फेरि खेतबारी बिगार्छ । बसबाट नखसाल्न र जम्मा गर्न आग्रह भनिएको छ । त्यसल सुन्दर जंगलको बाटो कुरुप बनाउँछ । आसपासको बस्तिलाई बिगार्छ । बसवालाले संकलन गरेमा कवाडले खरीद गर्छ । बसका चालक सहचालकले पैसा कमाउँछन् । उहाँका अनुसार खेतमा पुगेको प्लाष्टिकले धान काट्न दिन्न । डुब्यो भने उब्जनी घटाउँछ खेत रुखो र बाँझो बनाउँछ । भिर र कान्लामा फालेको बोत्तल गल्दैन, सड्दैन । वर्षातको पानीले बग्दै खोला र खेतमा लैजान्छ । त्यसले पनि सुन्दरता बिगार्छ रुखोपन बढाउँछ । घाटा मात्रै दिन्छ ।
तेल, मासु तथा दही र दुध हालेका प्लाष्टिक भने धोएर जम्मा गर्न केसीले आग्रह गर्नुभयो । त्यो फोहोर सड्यो भने प्लाष्टिक उठाउन घिन मान्छन् । यसैगरी चाउचाउ, सुर्ती लगायत खाजाका प्लाष्टिक भने बिक्री हुँदैनन् । त्यसलाई पुनः प्रयोग गर्न मिल्दैन । बजारको फेन्सी पसलका पड्कीने सेता प्लाष्टिक भने बिक्री हुन्छन् । घोराही बजारका सबै फेन्सी व्यवसायीलाई दिनहुँ निस्कने फोहोर प्लाष्टिक अलगै राख्न उपमहा नगरपालिकाले आग्रह गरेको छ । बोरामा जम्मा भएपछि खबर गरे कवाडका कर्मचारी पुगेर व्यवसायीलाई पैसा दिएर किन्छन् । अब व्यक्ति, वडा र उपमहानगर फोहोर किन्ने भएका छन् । उनिहरु फोहोर किन्न सकृय हुँदै गरेका छन् । त्यो सकृयताले फोहोर किन्नमा हानथाप देखिएको छ ।