विप्लव नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको बैठक बसेको छ । सो मोर्चाले आजको बैठक आफ्नो पार्टी माथीको प्रतिबन्ध फुकुवा भएपछि पहिलो भएको जनाएको छ । बैठकमा विप्लव नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका व्यूरो इञ्चार्ज चिरण पुन विशेष अतिथिको रुपमा उपस्थित थिए ।
प्रशिक्षण मन्तव्य राख्दै पुनले आफ्नो पार्टीले लिएको वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचारलाई अझ बढाउनु पर्नेमा जोड दिए । उनले वर्तमान संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बेला आइसकेको भन्दै गाउँ, शहर तथा विदेशमा रहेका नेपालीहरु पनि वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा रहेको बताए । नेपालका बौद्धिक व्यक्तित्व तथा अन्य पार्टीहरु पनि हाल यो व्यवस्थाको विकल्प दिनुपर्नेमा बहस गरिरहेकोले आफ्नो पार्टीले लिएको राजनीतिक कार्यदिशा सही हुँदै गएको उनको दावी रहेको थियो ।
जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरको अध्यक्षता सम्पन्न बैठकले रत्न मगरकै संयोजकत्वमा ६३ सदस्यीय सो संगठनको राष्ट्रिय सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ । साथै बैठकले आगामी दिनमा संगठनको विस्तार गर्ने र देशव्यापीरुपमा भेलाहरु गर्ने निर्णय पनि गरेको छ ।
व्यानरमा चुच्चे नक्साको प्रयोग:
यसैबीच आज सम्पन्न भएको विप्लव नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको बैठकमा प्रयोग गरिएको व्यानरमा लिम्पियाधुरा र कालापानी सहितको चुच्चे नक्सा प्रयोग गरिएको छ । हिजोमात्र सरकारले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा सेवा पुर्याए वापत विभिन्न व्यक्तिलाई दिइने सेवा पदकमा लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा सहितको तक्मा वितरण गरिएकोमा विरोध भइरहेका बेला आज विप्लव नेकपा निकट जनगणतानित्रक सम्पर्क मञ्चको व्यानरमा चुच्चे नक्सासहितको नेपालको नक्सा प्रयोग गरिएकोलाई अनौठोरुपमा हेरिएको छ ।
आजको घटनाबाट विप्लवको क्रान्तिकारीता ओलीमा विलय भन्नेहरुलाई गतिलो जवाफ मिलेको छ । रुकुमकी पत्रकार लक्ष्मी पुनले त चुच्चो बिनाको (लिम्पियाधुरा नसमेटिएको) नेपालको नक्सा सहितको सेवापदक दिइएको भन्दै सो पुरस्कार फिर्ता समेत गर्ने घोषणा समेत गरेकी छिन् ।
तक्मा फिर्ता गरेको बारे पत्रकार पुन समाजिक सञ्जालमा लेख्छिन्ः
तक्मा फिर्ता गर्ने विषयमाः
प्रिय अभिभावक, साथीहरु तथा शुभचिन्तक ।
जनयुद्ध कालमा बच्चा च्यापेर गणतन्त्र रेडियोमा गरेको जनपत्रकारिताको सम्मान स्वरुप राज्यले मलाई सुशोभित गरेको भन्दै म निकै हर्षित थिएँ । महामारीका कारण एक वर्ष ढिला हस्तान्तरण भएको तक्मा पाएँ । राष्ट्रपति निवासमा तक्मा गलामा झुण्डाएर जलपान र फोटोसेसनमा व्यस्त भइयो । कोठा पुगेर बल्ल त्यता नजर गयो । मन कटक्क खायो । जुन गणतन्त्रका लागि लडेका थियौं, त्यसको सम्मान भएन जस्तो लाग्यो । माया गर्नेहरूको बधाई शुभकामना ओइरी रहेको थियो । सबै प्रति नतमस्तक तथा आभारी छु । तर जानकारी गराउन चाहें, सच्चिएर चुच्चो सहितको तक्मा आयो भने मात्रै ग्रहण गर्नेछु । भोलि गृहमा बुझाउने निधो गरें । धन्यवाद ।
यतिमात्रै होइन समाजिक सञ्जाल तथा विभिन्न अनलाईन मिडियाहरुमा लिम्पियाधुरा बिनाको नेपालको नक्सा नै प्रमाण पत्रमा राखिएकोमा सरकारको विरोध भइरहेको छ । भारतले गरेको नाकाबन्दी विरुद्ध अघिल्लो पटकको केपी ओलीको सरकार लडेकोले अघिल्लो निर्वाचनमा एमालेले सरकार बनाउन सुविधायुक्त सिट जितेको अनुमान गरिएको थियो । तर जब भारतसित लिम्पियाधुरा र कालापानीको बारेमा विवाद पर्यो तब ओली सुरुमा देशको पक्षमा अडान लिएका तर पछि भारतले मिचेको भूमीसहितको नक्सा जारी गर्नेबेलामा पछि हटेको मात्रै होइन, चुच्चे नक्सा सहित छापिएका पुस्तक नै वितरण गर्न पछि हटेको चर्चा नेपालको राजनीतिमा निकै छायो ।
त्यसपछि प्रम ओलीको राष्ट्रवाद सतहमा आएको विश्लेषण गरियो । बिहीबार मात्रै ओली राष्ट्रवादको चर्चा फेरि सतहमा आयो । विभिन्न क्षेत्रमा रही जनताको सेवा गरेवापत प्रदान गरिने तक्मामा लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा नराखी पुरानै बुच्चे नक्सा सहितको तक्मा प्रदान गरिएपछि ओली राष्ट्रवाद र चुच्चे नक्साको चर्चा फेरि उठेको हो । एक गल्तीले हजार गल्ती देखाउँछ भने झैं चुच्चे नक्सा सहितको पाठ्यक्रम वितरणमा रोक लगाइएपछि सरकारको देशभक्ति पनि विस्तारै छेउ लाग्दै गएको हो । चुच्चे नक्सा किन जारी भएन भन्ने बारेमा नेपालका दिग्गज व्यक्तिहरु तथा राजनीतिक विश्लेषकहरु प्रम ओलीको राष्ट्रवादतिर तीर सोझ्याउँछन् ।
उनीहरु भन्छन्, ‘खासमा भारतसितको झगडामा अमेरिकाले ओलीलाई प्रयोग गर्नका लागि लिम्पियाधुरा सहितको नक्सा जारी गर्न लगाएको र पछि भारत अमेरिकी योजनामा छिरीसकेपछि अमेरिकाले नै ‘अहिले भारत ठिक भइसक्यो’ अब नक्सा जारी गर्न रोक भनेपछि ओली छापिएको नक्सा सहितको पुस्तक नै नष्ट गर्नतिर लागे ।’ यदि यो विश्लेषण सही हो भने आजभोलि सरकारले प्रदान गर्ने पदकहरुमा नेपालको बुच्चे नक्सा राखिनुले माथी भनेको कुरालाई पुष्टि गर्दछ ।