• मंसिर १२ २०८१, बुधबार

व्यवस्थाको विकल्प यसरी दिनुपर्दछ

चैत्र २९ २०७७, आईतवार

सर्वप्रथम जनआन्दोलन २०४६ को सन्दर्भमा चैत्र २४ को हार्दिक स्मरण गर्दै वीरगती प्राप्त गने सहिद, बेपता, घाइते (अपाङ्ग) योद्धाहरुप्रति यथायोग्य श्रद्धा र सलामी अर्पण गर्दछु । देशमा फेरि अर्को सशक्त जन आन्दोलनको आवश्यकता भइरहेको वर्तमान सन्दर्भमा चैत्र २४ को विचारको स्पष्टता, भावनाको तीव्रता, आन्दोलनको उत्कर्षता र बलिदान र योगदानको उच्चतालाई आत्मसात गर्दै अघि बढ्न अनुरोध र प्रतिबद्धता पनि प्रकट गर्न चाहन्छु ।

चैत्र २४ को औचित्य र सन्दर्भः

देशमा चरम संकटका कारण विष्फोट र विद्रोहको अवस्था छ । नेपाली मनोविज्ञान जन आन्दोलनसम्मत रहेको छ, जो ०३६, ०४६ र ०६२–६३ का जन आन्दोलनहरुमा राम्रोसँग अभिव्यक्त भएको छ । आज नेपाली संसद र सांसद नपुंसक, प्रतिपक्षी लोभीपापी, पार्टीहरु अपाङ्ग, नेता आत्मकेन्द्रित, पदलोलुप, परनिर्भर र म्याद गुज्रेजस्ता भएका छन् भने संघर्ष गर्ने थलो सडक पूर्णरुपमा खाली हुँदा सरकार उन्मत्त बनेको छ ।
अतः तेस्रो निर्णायक जनआन्दोलन अनिवार्य भएको छ र यसको लागि वैचारिक, राजनीतिक, भावनात्मक र संगठनात्मक आधार र पृष्ठभूमि निर्माण जरुरी छ ।

त्यसै सन्दर्भमा चैत्र २४ को कार्यक्रमलाई साझा बनाउनको लागि विभिन्न नेताहरु सीपी गजुरेल, सीपी मैनाली, नेत्रविक्रम चन्द लगायतसँग फोनबाट अनुरोध गर्दा कार्यक्रम साझा होला जस्तो नभएपछि सार्थक अभियान नेपालका अध्यक्ष एवं पुष्पलाल अध्ययन समाजका सदस्य भरत गौतमसँगको फोनवार्तापछि उहाँको समर्थन र सहयोगमा संयुक्त जनआन्दोलनका वैचारिक नेता–प्रणेता पुष्पलाल श्रेष्ठ सम्बन्धी हाम्रो आफ्नै संस्था पुष्पलाल अध्ययन समाजको आयोजनामा गर्ने निर्णय २२ चैत्रमा अध्यक्ष लोककृष्ण भट्टराई, बोर्णबहादुर कार्की, मुकुन्द आचार्य, गोपीरमण उपाध्याय, निलकण्ठ तिवारी, चन्दा थापा र श्रीहरि श्रेष्ठलगायत उपलब्ध सदस्यहरुको उपस्थितिमा बसेको बैठकबाट गरी हतारमा प्रस्तुत कार्यक्रमको आयोजना हुन सकेको हो ।

२.चैत्र २४ को कार्यक्रम आयोजक, भाव र उद्देश्यः कार्यक्रमको आयोजक संस्थाहरुमा संयुक्त राष्ट्रिय जनआन्दोलन अर्थात् तत्कालीन मशाल, मसाल, सर्वहारा श्रमिक संगठन, मालेमा र क्रान्तिकारी कम्युनिस्टहरु बाबुराम भट्टराई, नन्दकुमार प्रसाईंलगायतका शक्ति र व्यक्तित्वहरुको नयाँ जनवादी क्रान्तिकारी संयुक्त मोर्चा रहे ।

आयोजित कार्यक्रम : नेपाल बन्द । भावः त्याग, तपस्या, बलिदान र समर्पणको उच्छ भाव ।
उद्देश्यः राजतन्त्रात्मक निरंकुश पंचायत व्यवस्थाको अन्त्य । नयाँ जनवादी व्यवस्था, बहुदलीय संसदीय व्यवस्था होइन, नयाँ जनवादी गणतन्त्रात्मक व्यवस्थाको स्थापना । सुधारवाद होइन, आमूल परिवर्तन । वैदेशिक हस्तक्षेपमुक्त स्वाधीन व्यवस्था र समुन्नत अवस्था ।

३.२०४६ को जनआन्दोलनका मुख्य निर्माताहरु :

क.आन्तरिक निर्माताः वैचारिक निर्माता पुष्पलाल र भौतिक निर्माता गणेशमान, पद्मरत्न, लोककृष्ण आदि ।
ख.बाह्य निर्माता देशः भारत र व्यक्ति चन्द्रशेखर, हरकिसन सुरजित आदि ।

दुई शक्ति र धारहरु :

क. नेका, (वाममोर्चा (एमाले, चौम, नेमकिपा आदि वामपन्थी दलहरु) को संसदवादी–सुधारवादी धार ।
ख.मशाल, मसाल, सर्वहारा, मालेमावि र क्रान्तिकारी कम्युनिस्ट व्यक्तित्वहरु सम्मिलित संयुक्त राष्ट्रिय जनआन्दोलनको नयाँ जनवादी गणतन्त्रको क्रान्तिकारी र राष्ट्रवादी धार ।

५.आन्दोलनका प्रभाव र परिणामहरु :

क.सकारात्मक :

निर्दलीय पंचायत व्यवस्थाको अन्त्य र बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनप्राप्ति ।
जनता क्रान्ति चाहन्छन् भन्ने क. माओको भनाइको पुनर्पुष्टी । जनतामा क्रान्तिकारी चेतना र जागरणको वृद्धि । केही पुँजीवादी लोकतान्त्रिक हक, अधिकारको प्राप्ति र यसको संरक्षण र सम्बद्र्धनप्रति जनताको ज्ञान र संघर्षचेतमा अभिबृद्धी ।

ख. नकारात्मक :
वैदेशिक हस्तक्षेप र उदारीकरणको प्रकोप गुणात्मक रुपले वृद्धि । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, अखण्डता, स्वत्व, अस्तित्व र अस्मिताकै लोपको खतरा । देशको मुक्ति र जनताको प्रगतिको लागि भएको भव्य र दिव्य आन्दोलनको सही मर्म र उच्च भावना, लाखौं जनताको असिमित रगत पसिना र जनधनको अपूर्व लगानी (बलिदानी) र सात वर्षे बालक अनिश शाक्य लगायत सयौंको सहादत, अपाङ्गता र बेपत्ताका बाबजुद पनि पछिल्तिर आएर त प्रजातान्त्रिक योद्धा-नेताबाटै प्राप्त प्रजातन्त्रलाई राजाको पाउमा समर्पण गर्ने विडम्बना ।
ग. सार र समग्रः जनता, जनतन्त्र, राष्ट्र र क्रान्तिकै निम्ति उच्च लगानी र कुर्वानी गरेर तत्काल केही उपलब्धि भएपनि पछिल्तिर ती उल्टिंदै, खोसिंदै र गुम्दै जाँदा क्रमशः धोका, विश्वासघात र गद्धारी हुन गएको दुःखद विडम्बना भयो । यसप्रकारको विडम्बना अहिले पनि दोहोरिंदै आएको समेत छ । त्यसैले हामीले चैत्र २४ को महान् भावनालाई आत्मसात गर्दै गम्भीर ढङ्गले सोंच्ने र देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी र कार्यभारलाई बुझ्नु, बोक्नु र बढाउनु परेको छ ।

६.आगामी कार्यभार :

आत्मनिर्भर र निर्णायक तेस्रो जनआन्दोलनको उत्थान, विकास र सफल पार्ने । वर्तमान संसद निकम्मा भएकोले यसलाई निषेध गरि यसको सट्टामा सर्वोच्च र सर्वशक्तिमान सर्वपक्षीय अन्तरिम प्रतिनिधिसभाको निर्माण र यसैमार्फत संयुक्त अन्तरिम सरकारको गठन गर्ने । वर्तमान सरकार स्वैछाचारी, प्रतिगमनकारी, दलाल र भ्रष्ट भएकोले अर्थात् जनविरोधी, राष्ट्रविरोधी र लोकतन्त्रविरोधी भएकाले यसलाई विघटन गरी जिम्मेवार र जवाफदेही, स्वच्छ र पारदर्शी अनि स्वाधीन र स्वाभिमानी सच्चा देशभक्त र जनतान्त्रिक पार्टी, नेता र व्यक्तित्वहरुको संयुक्त अन्तरिम राष्ट्रिय सरकार निर्माण गर्ने । यसै अन्तरिम सदन र सरकारमार्फत्,

क. सुशासन सुनिश्चित गर्ने ।
ख.देश, जनता र क्रान्तिका हक, हित र उपलब्धिको संरक्षण र सम्बद्र्धन गर्ने ।
ग.राष्ट्रियता, जनतन्त्र र जनजीविकाको ग्यारेन्टी गर्ने ।

घ.वर्तमान संसदीय व्यवस्था नेपाली विशेषता र मौलिकता, नेपालको सामाजिक,आर्थिक धरातल र नेपाली मानसिक,सांस्कृतिक अवस्था अनुकूलको वस्तुवादी, वैज्ञानिक र व्यवहारिक नभएकोले यसलाई विस्थापित गरेर देशका सबै राष्ट्रिय पार्टीहरुले स्वीकारेको र संविधानमै गन्तव्यको रुपमा उल्लेख गरिएको समाजवाद अमूर्त भएकोले त्यसलाई वैज्ञानिक वा क्रान्तिकारी समाजवादको रुपमा मूर्तीकरण गरी यस्तो समाजवाद उन्मुख नयाँ र मौलिक नेपाली व्यवस्थाको मोडेल प्रस्तुत गर्ने ।

ङ. प्रस्तुत मौलिक नेपाली मोडेलको व्यवस्थाको अवलम्बन र संरक्षण गर्दै राज्य संचालन गर्नको लागि नयाँ व्यवस्था अनुकूलको नयाँ संविधान निर्माण गर्ने । उक्त नयाँ संविधानको अनुमोदन, नयाँ स्थिर सरकार निर्माण, पुराना कानूनहरुको संशोधन र नयाँ कानून निर्माण लगायतका विभिन्न कार्यहरु गर्नको लागि स्थायी जनप्रतिनिधि सभाको निर्वाचन गर्ने र त्यसै सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधि सभामार्फत् निर्वाचित सरकारलाई जनताको निगरानी, नियन्त्रण, खबरदरी र हस्तक्षेपको दायराभित्र रहेर स्थिर रुपमा राज्य संचालन गर्नको लागि सम्पूर्ण सत्ताको हस्तान्तरण गर्ने ।

७. उपरोक्त विषयहरुमा उपस्थितहरु सहमत हुन सके यसैमा सकेसम्म धेरैको सहमति जुटाई तेस्रो निर्णायक जनआन्दोलन संयुक्त रुपमै अविलम्ब गर्ने ।

(२०४६ को जनआन्दोलन चैत्र २४ गते उत्कर्षमा पुगेकोले त्यसको स्मरणमा मनाइएको ३१औं जनआन्दोलन दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा पूर्व मशाल र माओवादी नेता एवं पुष्पलाल अध्ययन समाजका उपाध्यक्ष नारायण शर्माद्वारा प्रस्तुत लिखित मन्तव्यको सम्पादित अंश आवश्यक ठानेर प्रकाशन गरेका छौं ।)