• मंसिर ११ २०८१, मंगलवार

जसपाले एमालेसँग सत्ता गठबन्धन गरे पूर्वराजपा ब्युँतिने निश्चित

चैत्र २७ २०७७, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेपछि तत्कालिन दुई ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।

यी दुई ठूला पार्टी ब्युँतिएपश्चात् देशको राजनीतिक अवस्था सत्ता गठबन्धनमा आएर अड्किएको छ । देशका चार ठूला पार्टी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनलाई लिएर पटक–पटक भेटवार्ता र छलफल गरेका छन् ।

नयाँ सत्ता गठबन्धनलाई लिएर चार ठूला राजनीतिक पार्टीबीच खिचातानी सुरु भएको महिनौ बितेको छ । तथापि महिनौ बिताएको खिचातानीले आजसम्म पनि मूर्तरूप पाउन सकेको छैन ।

जसको फलस्वरूप आज (शुक्तबार) तीन दल काँग्रेस, माओवादी केन्द्र र जसपाबीच छलफल भएको छ । तथापि उनीहरूको छलफलले मूर्तरूप भने लिन सकेन । जसपाले समय माग्दै आजको बैठक टुङ्गिएको छ ।

सत्ता गठबन्धनका लागि जसपा अहिले निर्णायक छ । यो पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छ । उहीँ पार्टीसँगै मिलेर सत्ताको बागडोर सम्हाल्ने छ । यद्यपि अहिलेसम्म सत्ता गठबन्धन वा साझेदारीका लागि काँग्रेसले कुनै पार्टीलाई साथ दिएको छैन ।

तर, जसपा भने सत्ता गठबन्धनका लागि भनेर प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफलमा सरिक हुँदै आएको छ ।

पछिल्लो विकसित घटनाक्रमलाई हेर्दा, जसपाका केही नेता एमाले र केही माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । केही दिनअघि जसपा अध्यक्ष महन्थ ठाकुर र उनीनिकट केही शीर्षस्थ नेता एमालेसँग सत्ता गठबन्धनका लागि छलफल गरेका थिए ।

पूर्वप्रधानमन्त्री एवम् पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बुझिएको छ ।
जसपा भित्रको राजनीतिक घटनाक्रमलाई नियाल्दा, नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई माओवादी केन्द्रसँग गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुरले एमालेसँग भेटवार्ता गरिसकेका छन् ।

पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष ठाकुरबीच सत्ता गठबन्धनका लागि संवाद र छलफल भए पनि कुरा मिल्न सकेको छैन । उनीहरूबीच कुरा नमिलेपछि एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि साठगाँठ गर्न थालेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरूले रडाको मच्चाएको जसपाका एक नेताले बताए ।

ती नेताले भने –‘सुरुदेखि नै भट्टराई र ठाकुर प्रधानमन्त्री बन्ने दाउका कारण पार्टी भित्रको विवाद उत्कर्षमा पुग्न थालेको छ । यसले पार्टीलाई कुनै राम्रो छाप पार्दैन । यसका लागि उहाँहरू दुवै जनाले प्रत्यक्ष भेटघाट र छलफलका माध्यमबाट पार्टीभित्र बल्झिएको विवाद समाधान गर्न सक्नुपर्छ र त्यहीँ अनुसारको वातारण तय गर्न सक्नुपर्छ ।

अन्यथा पार्टी दुर्घटनामा पर्ने सम्भावनाको नजिक पुगेको देखिन्छ । प्रधानमन्त्री पदको लोलुपतामा लाग्नुभन्दा पनि उहाँहरूले पार्टीलाई कसरी हुन्छ, दुर्घटना हुनबाट रोक्नुपर्छ ।

भट्टराई र ठाकुर प्रधानमन्त्रीको दाउमा लाग्नुको कारण काँग्रेस, एमाले र माओवादी केन्द्र एक्लैले नयाँ सरकार गठन गर्ने सक्ने अवस्था छैन । यसका लागि जसपाले यी पार्टीमध्ये एक पार्टीलाई समर्थन गरेमा सत्ता गठबन्धन हुने पक्का छ । तर, प्रधानमन्त्री ओलीले सत्ता टिकाउनका लागि जसपासँग साझेदारी नगरी ओलीको सत्ता टिक्नेवाला छैन ।

उनलाई सत्ता टिकाउन वा प्रधानमन्त्री पदमा रहिरहन जसपाको साथ चाहिन्छ । तथापि माओवादी केन्द्र प्रधानमन्त्री ओलीलाई कुनै हालतमा पनि हटाउन चहान्छ । त्यसका लागि उसले पनि जसपाको साथ खोजिरहेको छ । तर, जसपाभित्र अहिलेसम्म एमाले वा माओवादी केन्द्र कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेको छैन ।

तर, अध्यक्ष ठाकुर भने ओलीसँगै सत्ता साझेदारी गर्ने मनसायमा देखिन्छन् । उनले केहीँ दिन अगाडि ओलीसँग सत्ता गठनबन्धनकै लागि भनेर भेटवार्तासमेत गरेका थिए । भेटवार्ताका क्रममा ठाकुरले निलम्बित सांसद रेशम चौधरीको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेका थिए ।

ठाकुरको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएको भन्दै ठाकुरनिकट केही नेताले ओलीसँगै सत्ता साझेदार गर्नुपर्ने अडान राखेका थिए । तर, पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष ठाकुरबीच यस बारेमा कुरा मिल्न सकिरहेको छैन ।

यी दुई नेताबीच सत्ता साझेदारीका लागि मत नमिल्दा पार्टी फुटको सँघारमा उभिएको छ । यो देखेपछि भारतले चलाखी पनि नगरेको होइन । उसले जसपालाई सकेसम्म फुटबाट जोगाउन सक्ने सम्भावना देखिन्छ । किनकि जसपा नफुटेमा भारतले जसपाको माध्यमबाट नेपालमा थप राजनीतिक एवम् रणनीतिक चलखेल गर्नसक्ने विज्ञको आकलन छ ।

पार्टी फुटको डिलमा पुगेपछि जसपाका शीर्षस्थ तहका केही नेताहरूको भारत दौडाहा नभएको पनि होइन । यसभन्दा अगाडि उनीहरू बेला—बेला भारत पुग्ने गरे पनि यसपटक भने नेताहरू समयक्रम मिलाएर पटक—पटक भेट्न पुगेको स्रोतको दाबी छ ।

यस विषयलाई लिएर भारत पनि गम्भीर भएको ती नेता बताउँछन् । जसपा नफुटोस् भन्ने सोचेरै भारत निरन्तर सम्पर्कमा रहेको स्रोत बताउँछ भने जसपाका शीर्षस्थ नेताहरू पनि भारतसँग भेटवार्ता र छलफलकै क्रममा छन् । उसको चहाना सकभर जसपालाई फुटबाट बचाउनु नै हो ।

जसपा भित्रका नेताहरूको मत नमिल्दा दिनानुदिन विवाद उत्कर्षमा पुग्दै गएको छ । अध्यक्ष ठाकुर र उनीनिकट नेताहरू ओलीसँगै सत्ता गठबन्धन गर्न भेटवार्ता र छलफलको प्रक्रियामा छन् भने भट्टराई र उनीनिकट नेताहरू ओलीसँग गठबन्धन नगर्ने पक्षमा छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीको निकै चर्को आलोचना गर्दै आएका छन् । उनी सामाजिक सञ्जाल ट्वीटरमार्फत बारम्बार ओलीको सत्ता वहिर्गमनको माग राख्दै आएका हुन् । त्यतिमात्रै होइन, उनले प्रधानमन्त्री ओलीलाई भस्मासुरको उपमासमेत दिएका छन् ।

उनले ओलीमाथि यसरी आलोचना गर्दैगर्दा अध्यक्ष ठाकुर भने सत्ता गठबन्धनका लागि बालुवाटारमै पुग्ने गरेका छन् । यस विषयलाई लिएर हामीले नेता उपेन्द्र यादवलाई सोधेका थियौँ, –‘तपाईको पार्टीका अध्यक्ष ठाकुर र उनीनिकट केही नेताहरू सत्ता गठबन्धनका लागि बालुवाटार धाउने गरेका छन्, खासमा के हो ?’

उनले यस प्रश्नको जवाफ दिँदै भने, –‘उहाँहरूको प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत भेटघाट हुनसक्छ । तर, सत्ता गठबन्धनकै लागि भनेर बालुवाटार पुग्नु भएको होइन । यदि गठबन्धनकै लागि भएको भए म लगायत भट्टराईसँग पनि छलफल हुन्थ्यो । त्यसो भएको छैन ।’

तर, जसपाभित्र चर्किएको अन्तर कलहका कारण राजपा ब्युँतिनेतिर संकेत छ । जसपा पार्टी एकता भएको करिब एक वर्ष पुग्न थालेको छ । बाहिर हेर्दा पार्टी एक देखिए पनि आन्तरिक गतिविधि हेर्दा दुई पार्टी नै देखिन्छन् ।

पछिल्लो समय नयाँ सत्ता गठबन्धनलाई लिएर भएको विवादपछि स्पष्ट दुई धार देखिएको छ । एकता अघिका राजपा समूह र समाजवादी पार्टीको समूह बेग्ला–बेग्लै बैठक बस्ने र गोप्य निर्णय गर्ने गर्दै आएका छन् ।

चैत ५ गते जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बस्न सकेन । उक्त बैठकमा विवाद उत्कर्षमा पुग्ने र पार्टी फुट्ने सम्भावना देखिएपछि बैठक स्थगन गरिएको थियो । बैठक स्थगित भए लगत्तै जसपाको एकपक्ष अर्थात् तत्कालीन राजपाका पक्षका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकले ६ सदस्यीय कार्यदल समेत गठन गर्यो । त्यसमा जसमा राजपापट्टिका नेतालाई मात्रै राखिएका थिए । नवगठित कार्यदलको अध्यक्षमा प्रदेश—२ का भौतिक पूर्वाधार एवं विकास मन्त्री जितेन्द्र सोनल तोकिए । उनको नेतृत्वमा कार्यकारिणी सदस्यहरु मनिष सुमन, केशव झा, सञ्जय यादव, सुनिल रोहित, रमेश यादवलाई कार्यदलमा राखियो ।

दुई पार्टीको एकीकरणलाई व्यवस्थित गर्न पूर्वराजपाले ६ सदस्यीय कार्यदल गठन गरेको जानकारी दिएको छ । यो समितिले पूर्वराजपा नेपालका विभिन्न संगठनलाई व्यवस्थित गर्दै एकीकरणको लागि तयार गर्ने बताइएको छ । बाहिरी रुपमा यो भनिए यसको भित्री उद्देश्य भने फरक रहेको स्रोतको भनाइ छ ।

बाहिर पार्टी एकीकरणको विषयलाई लिएर छलफल भएको भनिए पनि भित्र भने ठाकुरनिकट पक्ष पूर्वराजपा ब्युँताउने कोसिस भैरहेको बुझिएको छ । पूर्वराजपा पक्षले एमालेसँग सत्ता गठबन्धन गरेरै भए पनि पार्टी ब्युँताउने प्रयत्न गरेको स्रोत बताउँछ ।