नेपालमा वा भनौं संसारभरी कसलाई बढी सम्मान गरिन्छ होला ? वा जनताको मनमा कसले बढी स्थान बनाउँछ होला ? सरसरती हेर्दा मात्रै होइन तामझाम हेर्दा त राष्ट्रको उच्च ओहोदामा बस्नेहरुलाई यस्तो माया र सम्मान प्राप्त हुन्छ होला जस्तो लाग्छ तर अलि गहिरिएर हेर्ने हो भने देशको उच्च ओहोदामा बस्नेहरु, चिल्ला गाडीमा साइरन बजाउँदै कुंद्नेहरु केही सिमित मानिसको मनमा त बस्न सकेका हुन्छन तर आम मानिसको मनमा बस्न सकेका हुँदैनन् । त्यसरी राज्यको ठूलो पदमा बसेर जनताको होइन दलालहरुको हितमा काम गर्ने, कमिशन खाने र भ्रष्टाचार गर्नेहरु जनताको मनमा त बसेका हुन्छन तर नकारात्मक छवि बनाएर । तर संसारमा यस्ता मानिसहरु पनि हुन्नन् जो उच्च ओहोदामा नबसेर भएपनि बहुसंख्यक जनताको मनमा सधैं सम्मानपूर्वक बसिरहेका हुन्छन् ।
आफ्नो सादा जीवन र जनप्रिय कामका कारण ती मानिस जनताको नजरमा महान समेत हुन्छन् । संसारको अरु देशमा मात्रै होइन नेपालमा पनि त्यस्ता जनताको नजरमा अब्बल कहलिएका केही मानिसहरु छन् । नेपाली जनताका अहिलेको समयका सबैभन्दा प्रिय डाक्टर को हो ? भनेर कसैले तपाईंलाई कसैले सोध्यो भने सायद तपाईंको उत्तर आउँछ ‘डा.गोविन्द केसी’ । हो साँच्चिकै नै गोविन्द केसी आजको समयमा नेपाली जनताको हृदयमा बसेका छन् । मन मस्तिष्कमा छन् । आफ्नो सादा जीवन र उच्च विचारको कारणले मात्रै होइन डाक्टर केसीले देशमा भएका बेथितिबारे बोलेर र लेखेर मात्र कहाँ हो र आफ्नै ज्यान हत्केलामा राखेर समेत देशमा भएका बेथितिबारे आवाज उठाउने भएकोले उनलाई नेपाली जनताले आफ्नो डाक्टरको रुपमा बुझ्ने गरेका छन् । नेपालमा गास, बास, कपास, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ तत्काल त्यो सम्भव नभए सर्वसुलभ त हुनुपर्छ भनेर मात्रै होइन खासगरी स्वास्थ्य क्षेत्रमा भएका अनियमितता हटाउन २०६९ साल असारबाट हालसम्म १८ पटक भोक हड्ताल गरिसकेका डाक्टर गोविन्द केसी नेपालमा जनस्तरबाट सबैभन्दा सम्मान गरिएका मानिसहरुको पंक्तिमा अगाडी नै देखिन्छन् ।
यस्ता लोकप्रिय पात्र गोविन्द केसीको जीवनबारे अलिकति चर्चा गरौँ ।
जन्म र विद्यालय शिक्षाः
विक्रम संवत २०१३ साल चैत १२ गते रामेछाप जिल्लामा जन्मिएका गोविन्द केसी धेरै मानिसहरुको प्रेरणाको स्रोतको रुपमा रहेका छन् । अंग्रेजी मिति अनुसार उनको जन्ममिति २५ मार्च १९५७ रहेको छ । जन्म रामेछापमा भएपनि उनको बाल्यकाल दोलखा मामाघरमा बितेको बताइन्छ । गाउँको विद्यालयमा प्राथमिक शिक्षा पुरा गरेर माध्यमिक शिक्षा नेपालकै चर्चित र सुविधा सम्पन्नको विद्यालयको रुपमा चिनिने बुढानिलकण्ठ विद्यालयबाट उनले माध्यमिक शिक्षा उतिर्ण गरेका हुन् । तत्कालिन समयमा केसीले एसएलसीपछि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालबाट उनले स्वास्थ्य सहायक (एचए) पास गरे ।
उच्च शिक्षा र सेवाः
स्वास्थ्य सहायक पास गरेपछि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबीबीएस डाक्टर पढ्न उनी बंगलादेश गए । उनी बंगलादेशको राजशाही मेडिकल कलेजबाट एमबीबीएस पास गरेर नेपाल आए । नेपालमा आएर केसीले काठमाडौंस्थित वीर अस्पातलमा केही समय डाक्टरी सेवा गरे । पछि फेरि ढाका विश्वविद्यालयमा एमडी गर्न गए । हड्डी सम्बन्धी विशेषज्ञ डाक्टर अथवा अर्थोपेडिक सर्जन भएर उनी फेरि नेपाल आए । वीर अस्पताल छोडेर डा.केसीले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा सेवा गर्न थाले । बिरामीको उपचारसँगै डाक्टर विद्यार्थीका शिक्षकको रुपमा डाक्टर गोविन्द केसी कार्यरत भए । शिक्षण अस्पतालमा कार्यरत रहँदा डा.केसी निवासबाट बिहानै सात बजेदेखि नै सेवामा खटिने र बेलुका मात्र निवासमा फर्कने गर्थे । भनिन्छ, उनले आफ्नो काम गर्ने समय भन्दा सधैजसो बढी नै समयसम्म काम गर्थे । सेवामा रहुन्जेल केवल बिरामीको सेवा र आफ्ना विद्यार्थीलाई विश्वमै उत्कृष्ट बनाउने कार्य मात्रै उनको दिमागमा रह्यो । उमेर हदका कारण डाक्टर केसी दुइवर्ष पहिले सेवानिवृत्त भएका छन् ।
मानवीय कार्यमा डाक्टर केसीः
डाक्टर केसी एक डाक्टर मात्रै नभएर समाजसेवी समेत हुन् । डा. केसी गरिब र बिरामी मानिसहरुको सेवा गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएका थिए र छन् । जागिरे जीवनमा रहँदा पनि उनले वर्षमा दुईपटक दुर्गम स्थानहरुमा आफै सहभागी भएर स्वास्थ्य शिविरहरु संचालन गरेका थिए । नेपालका ७७ वटै जिल्लामा स्वास्थ्य शिविर लिएर पुगिसकेका केसी जहाँ समस्या आउँछ त्यहाँ सहयोगी बनेर खडा हुन्छन् । नेपालमा २०७२ सालमा गएको भूकम्पकोबेला केसीले विभिन्न स्थानमा स्वास्थ्य शिविर चलाएर जनताको सेवा गरेका थिए । बाढी आउँदा पीडामा परेका पीडित जनताको मनमा मल्हम लगाउन उनै पुग्छन् भने आँधीहुरी आउँदा समेत डाक्टर केसी राहत बोकेर जनताका घरमा पुग्दछन् । हालसम्म देशभित्र उनले ६० भन्दा बढी स्वास्थ्य शिविर संचालन गरिसकेका छन् ।
अन्तरराष्ट्रिय सेवामा गोविन्द केसीः
देशभित्र मात्रै होइन डाक्टर गोविन्द केसी संसारका विभिन्न देशहरुमा समेत जहाँ मानवीय समस्या उत्पन्न हुन्छ त्यहाँ पुगेर मानिसहरुलाई हौसला दिंदै सहयोग गर्न पुग्छन् । यस्ता धेरै उदाहरण छन् जहाँ डाक्टर केसीले संसारका मानिसहरुलाई सेवा गरेका सन् । २००१ मा भारतको गुजरातमा भूकम्प जाँदा डाक्टर केसीले त्यहाँ पुगेर पीडितहरुको घाउमा मल्हम लगाएका थिए । त्यो गुजराती जनताको पीडाको समयमा केसीले तीनहप्ता त्यहाँ बसेर स्वास्थ्य शिविर चलाएका थिए । त्यस्तै सन् २००५ मा पाकिस्तानमा भूकम्प जाँदा साढेदुई हप्ता त्यहाँ बसेर उनले स्वास्थ्य शिविर चलाए र पाकिस्तानी जतनाको सेवा गरे । सोही वर्ष फिलिपिन्समा समेत भूकम्प जाँदा केसी त्यहाँ पुगेर स्वास्थ्य शिविर चलाए । सन् २००८ मा बर्मा (म्यानमार) सामुन्द्रिक चक्रपात आएर जनजीवन अस्तव्यस्त हुँदा डाक्टर केसी २ हप्ता त्यहाँ बसेर स्वास्थ्य शिविर चलाएर जनताको सेवा गरे । साथै सन् २०१० मा हैटीमा ३ लाख मानिसको ज्यानलिने गरी आएको भूकम्पमा डाक्टर केसी अमेरिकाको न्यूयोर्क र डोमिनिकन रिपब्लिक हुँदै त्यहाँ पुगेर तीनहप्तासम्म स्वास्थ्य शिविर चलाए । त्यहाँ उनले तीन हप्तामा ३२३ वटा शल्य क्रिया सहित ५९५ जना घाइतेको उपचार गरेर फर्किए । सन् २०११ मा पाकिस्तानमा बाढीको चपेटामा परेर समस्यामा परेर मानिसहरुलाई त्यहाँ २ हप्तासम्म उनले दुःखी जनताको सेवा गरे ।
अविवाहित केसीको सम्पती :
स्वास्थ्य शिक्षाको लागि ज्यान नै बाजीमा राखेर भोक हडताल समेत गर्ने डाक्टर गोविन्द केसी सरकारी सेवाबाट निवृत्त भइसक्दा समेत अविवाहित रहेका छन् । उनको आँखा (दृष्टी)मा नेपाली जनताले सहज रुपमा स्वास्थ्य शिक्षा र सेवा पाउनु, चिकित्सा शिक्षा आम जनताका छोराछोरीको सहज पहुँचमा बनाउनु बाहेक अरु केही छैन । सेवामा रहँदा पाएको (तलब) पारिश्रमिक समेत उनले संसारका मानिसहरुलाई मानवीय सेवा गर्दैमा खर्चिए । शिक्षण अस्पातलमा २६ वर्ष वरिष्ठ डाक्टर (सर्जन)को रुपमा सेवा गरेर फर्किंदा उनको नाममा सम्पती थिएन । उनको सम्पती भनेको अहिलेसम्म जीवित रहेकि उनकी आमा, दुई दाजुभाई, आफूले उपचार गरेका बिरामीको माया, साथी–संगीहरुको सदभाव, विद्यार्थीहरुको आदर नै हो । उनी भन्छन् ‘त्यही मेरो सम्पती हो ।’ भविष्यमा कतै कसैलाई सहयोग गर्न चाहिएला कि भनेर केही रकम बैंक खातामा भने उनको रहेको छ । यसरी जीवनभरी मानव सेवामा लाग्दालाग्दा उनले आफ्नो विवाहको बारेमा उनले कहिल्यै सोच्दै सोचेनन् ।
कसैले सम्बोधन गरेनन् केसीका मागः
डाक्टर केसीलाई मृत्युदेखि नडराउने डाक्टरको रुपमा नेपाली जनताले मात्रै होइन संसारले चिन्ने गर्छन् । पैसा कमाउन चाहनेहरुलाई डाक्टर केसी भन्ने गर्छन, ‘पैसा कमाऊ तर सही तरिकाले कमाऊ ।’ नेपालमा आमरण अनसनका पर्यायवाची मानिएका डाक्टर गोविन्द केसी एउटा व्यक्तिले पनि चाहेपछि लाखौँ सदस्य भएको संगठन बराबर काम गर्न सक्छ भनेर देखाउने एक साहसी मानिसको रुपमा स्थापित भएका छन् । गलत राजनैतिक नेतृत्वले गर्दा हाम्रो देश पछि परेको धारणा राख्ने उनी भन्छन् ‘जीवन अमूल्य हो तर यसलाई सार्थक बनाउन मानव हितमा काम गर्नुपर्छ ।’ नेपालमा जनसंख्याको अनुपातमा मेडिकल कलेज स्थापना हुनुपर्छ भनेर १८औं पटक अनशन बसिसकेका केसीलाई सत्ता बाहिर हुँदा सबै नेता तथा राजनीतिकर्मीले समर्थन गर्ने गरेका छन् भने सत्तामा हुँदा तिनैले उनलाई दमन गर्छन् । उनले १८औं पटक अनशन गरिरहँदा नेपालका संसदीय व्यवथाबाट प्रधानमन्त्री हुन लायकका सबै मानिसले अनशन देखिसकेका छन् ।
देखेका मात्रै होइन सत्ता बाहिर हुँदा उनका माग र अनशनमा एक्यवद्धता जनाउने तिनै नेता सत्तामा हुँदा भने कहिल्यै ती मागहरु भने पुरा गरेका छैनन् । नेताहरुको यस्तै दुईजिब्रे कुरा र दोधारे व्यवहार भोग्दै गर्दा उनी भन्छन् राजनीतिकर्मी, जनप्रतिनिधि, सांसद र नेताहरु सर्वसाधारण जनताको लागि नीति नियम बनाउनमा भन्दा बढी माफिया, दलालहरुबाट संचालित हुन्छन् । हुन पनि जनता साधारण उपचार नपाएर मरिरहँदा उनीहरु आफू बिरामी पर्दा भने विदेशका महंगा अस्पतालहरुमा उपचार गरेर देशको ढुकुटी रित्याउने गर्छन् । यस्ता नेताहरुलाई देख्दा र भोग्दा कसले भन्न सक्छ ? यिनीहरु हाम्रा प्रतिनिधि हुन् भनेर ।
सत्ता बाहिर हुँदा उनको आन्दोलन र अनशनमा एक्यवद्धता प्रकट गर्ने तर सत्तामा हुँदा उनका मागलाई देखेको नदेख्यै, सुनेको नसुन्यै गर्ने यी नेताहरुमध्ये उनले थालेको अनशनको ५औं पटकमा केपी ओली प्रधानमन्त्री रहेका छन् भने उनले थालेको चौथो अनशनमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । खिलराज रेग्मी उनको अनशन चलिरहँदा मन्त्रिपरिषदका अध्यक्ष रहेका थिए भने डा.बाबुराम भट्टराई केसीको दोश्रो अनशनका बेला प्रधानमन्त्री थिए । उनको तेश्रो अनशनताका शुसिल कोइराला प्रधानमन्त्री थिए भने उनको दोश्रोचोटीको अनशनको बेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । जनताको स्वास्थ्य र समग्र स्वाथ्य प्रणालीमा नै सुधार खोजेका त्यसका लागि अनशन जस्तो जोखिमयुक्त आन्दोलनमा होमिइरहने डा.केसीलाई यी र यस्ता कार्यहरुमा सबैले साथ दिनुपर्दछ ।