समय सँगसँगै पर्यटकको रुची चाहना र स्वाद परिवर्तन हुँदै गएको छ । बनावटी रमझम वा कृत्रिम स्वागत वा मेकनाइज्डरुपमा विकसित स्वाद वा आधुनिक लवाइभन्दा छुट्टै पर्यटक आफै सहभागी भई आफैले अनुभव गर्न सक्ने स्थानीय खानाको स्वाद, खाना बनाउने दृश्य, सांस्कृतिक चालचलनको मज्जा र आफ्नो अनुभवलाई स्मरणीय बनाउने उद्देश्य लिएर आउने पर्यटकको चाहनालाई एक्सपिरियन्स्ड (अनुभवमूखी) पर्यटन भनिन्छ । पर्यटन उद्योग वा व्यवसाय पर्यटकको इच्छानुसार हुने र हुनु पर्ने भएकाले वर्तमान पर्यटन व्यवसाय अनुभवमुखी पर्यटनतर्फ मोडिएको छ ।
इण्डोनेशियाको बाली पारिवारिक भ्रमणमा गएका बखत गाइडले हामीलाई लुवाक कफी उत्पादन गार्डेनमा पुर्याए । बगैचा बगैचा नभएर जंगल जस्तै थियो । खोल्सा खाल्सी होचा होचा पहाडका थुम्कामा हरिया रुखहरुको दश्य सुन्दर थियो । कफी लटरम्म फलेको थियो । हामीलाई कफी टिप्न लगाए । छोराछोरी र हामी दुईले रमाउँदै कफी टिप्यौं । कफी लगेर बिरालोजस्तो जनावर लुवाकलाई खानका लागि दिन लगाए । हामीले दिएको कफी लुवाकले मज्जासँग खायो । हामी केहीबेर यताउता हेर्न चाल्यौं । हामीलाई भिन्न भिन्न दस स्वादका कफी दस दसवटा कपमा राखेर ट्रे दिए । हामीले रमाउँदै कफी स्वाद लिई लिई पियौं । झण्डै एकघण्टापछि लुवाकले गोब्य्रायो, कफीको गेडा । त्यहाँको मानिसले हामीलाई गेडा पखाल्ने भनेर सोधेको थियो हामीले नाइ भन्यौं । त्यसपछि धोएको गेडा भुट्न हाँडीमा हामी आफैले हाल्यौं । रोष्ट भएपछि उनीहरुले हामीलाई गेडा पिस्न सिकाए । हामी चारै जनाले पालैपालो पिस्यौं । हामीले धुलो बनाएको कफी प्याकिङ पर्यौं र आफैले किन्यौ । कति राम्रो अनुभव र कति राम्रो बिक्रिकला ? यो नै एक्सपिरियन्स्ड पर्यटनको सटिक उदाहरण हो ।
पर्यटक मेकानिकल दैनिक जीवन पद्धतिबाट फरक खालको स्थानीय प्राकृतिक सुन्दरता र स्थानीय जीवनशैली र जीवन प्रक्रियाको अनुभव लिन भोका देखिन्छन् । पर्यटक नेपाली खाना खान रुचाउने विगतको प्रवृत्तिबाट अब उनीहरु नेपाली खाना आफै बनाएर खान उत्सुक हने, गुन्द्री मान्द्रो डोका, थुन्से, घुम, चकटी, ढकी बुनेको, गुन्द्रुक बनाएको, मस्यौरा, तितौरा पारेको, भक्का बनाएको, जाँतोमा दाल, पीठो पिनेको ढिकीमा धान चिउरा कुटेको हेर्न मात्र होइन सो कार्यमा आफै सहभागी हुने रमाउने इच्छा राख्द्छन् । गोरुगाडा चढन, हलो जोत्न, धान कोदो रोप्न, मकै गोड्न चाहन्छन् । तरकारीबारीमा तरकारी फल्दै र पाक्दै गरेको आफैले अनुभव गर्न चाहने पर्यटन प्रवृत्ति बढ्दै गएको छ । यस प्रकारको अनुभवमुखी अर्थात् (एक्सपिरियन्स्ड टुरिज्म) मोटिभमा घुम्न आउने पर्यटकलाई आर्कषण गर्न विश्व समुदायसँग प्रतिस्पर्धा गर्न हामी तयार हुनुपर्ने भै सकेको छ ।
एक्सपिरियन्स्ड टुरिज्म पर्यटन क्षेत्रमा आएको एउटा नवीन प्रवृत्ति हो । पहिले झै अब पर्यटकहरु टेवलमा बसेर लुरुलुरु खान, बाटोमा लुखुरलुखुर हिँड्न र कोठामा बसेर टीभी हेर्न घर छोडेर हिँड्दैनन् वा अर्को देश आउँदैनन् । सँधै सबै पर्यटकलाई सगरमाथा र माछापुच्छ्रेले आर्कषण नगर्न सक्छन् । यस यथार्थलाई पर्यटन क्षेत्रका नीति निर्माता, व्यवसायी र सरोकारवाला सबैले बुझनु पर्ने भएको छ । हाम्रो पर्यटन व्यवसाय एक्सपिरियन्स्ड टुरिज्म मोटिभमा आउने पर्यटकलाई आर्कषण गर्न त्यसप्रकारका सुविधा उपलब्ध गराउन तयार बन्नु पर्दछ । कसरी पर्यटकलाई आफ्नो जीवन पद्धतिमा सहभागी र क्रियाशील बनाउन सकिन्छ भन्ने तर्फ पनि केन्द्रित हुनु पर्दछ । यस सन्दर्भमा केही रणनीतिक तथ्यहरु यहाँ छलफलको लागि उठाइएको छ ।
नीतिगत दृष्टिकोण परिवर्तन पहिलो रणनीति हुनुपर्दछ । पर्यटन नीतिले परंपरागत मार्गबाट अलग भई पर्यटकको उमेर, चाहना र नवीन अनुभवलाई समेटनु पर्ने देखिएको छ । हाम्रो देश विशाल जनसंख्या भएका दुई छिमेकी देश भारत र चीनको बीचमा रहेको तथ्यलाई केन्द्रमा राखी पर्यटन नीति निर्देशित हुन उचित देखिन्छ । अर्जेन्टिना र न्युजिल्याण्डबाट भन्दा चीन र भारतका पर्यटक नै तुलनात्मकरुपमा हाम्रो देशमा धेरै आउने संभावना रहेकाले सो अनुरुप नै हाम्रा पयटकीय गतिविधि हुनु पर्दछ । सोहीअनुरुप व्यक्तिगत सुरक्षाको प्रत्याभूति दिनु पर्दछ ।
आजसम्म हाम्रो देशमा भारतबाट धार्मिक पर्यटक मात्र आएका छन् । हामीले भारतीय युवालाई नेपाल भ्रमण गर्न प्रेरित गर्न चासो दिएका छैनौ वा ध्यान नपुगेको हो यसमा सुधार हुनु पर्दछ । चीनको सीने चरित्र अभिनेत्री सु क्वीनले पोखरामा प्याराग्लाइडिङ गरेपछि चाइनिज युवाहरुमा पोखरा तीर्थस्थलजस्तै बनेको छ, ओइरिएकाछन् ।
समाज, संस्कृति, खेतिपाती गराई, परंपरागत वस्तु उत्पादनलाई पर्यटन सेवा उन्मुख बनाउन पर्यटन विकास नीतिलाई अन्य विकास नीतिमा आबद्ध गरी नीतिबीच सहयोगात्मक सम्बन्ध स्थापित गर्न पनि जरुरी छ । यस पृष्ठभूमिमा हाम्रो पर्यटन नीतिको पुनरावलोकन आवश्यक बनेको देखिन्छ । पर्यटन व्यवसायको संरचना परिवर्तन दास्रो रणनीति हुन्छ । अनुभवमुखी पर्यटन प्रवर्दनलाई समग्र पर्यटन व्यवसायसँग आबद्ध गर्न आवश्यक भएकाले सबै पर्यटन व्यवसायको पुनःसंरचना गर्नु पर्ने हुन्छ । पर्यटक ठुलल्ठुला होटलमा बस्नुको सट्टा होमस्टे रोज्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । त्यो प्रवृत्ति पैसा जोगाउनभन्दा स्थानीयता सिक्न र बुझ्न हो । यसकारण, होमस्टेदेखि ठुल्ठुला होटलमा समेत नेपाली खाना, मःमः, मस्यौरा, आदि बनाउने, भिन्न भिन्न जातजातिका ड्रेस लगाएर पर्यटकलाई डान्स गर्न प्रेरित गर्ने जस्ता पयोजनको लागि संरचना निर्माण परिवर्तन गर्नु पर्दछ ।
पर्यटकलाई नेपाली खुकुरी, डाँफे चरी, नेपालको झण्डा ढिकी, जाँतो, ठेकी मदानी, ढकी, प्यारुङ्गो बनाउन सिकाउने, बाजा बजाउन सिकाउने, उनीहरुलाई सहभागी बनाउने र बनेको वस्तु उनीहरुलाई नै बेच्ने जस्ता कार्यक्रम रमाइलोसँग प्रस्तुत गर्नु पर्दछ । साथै, बारीमा फलेको तरकारी टिप्न लैजाने पकाउन लगाउने, हरियो मकै भाचेर पोल्न उसिन्न सहभागी गराउने, गहुँ झार्न, धान झार्न, दाइँमा परालमा गुडुल्किन सहभागी गराउन प्रेरित गर्न र त्यसको लागत उठाउन पनि सरल हुन्छ । धार्मिक स्वीकृतिको आधारमा हाम्रा जात्रामेला, पुजाआजा, चालचलनमा सहभागी गराउनु पनि सकिन्छ । गाउँमा हलो जोत्ने, धान, मकै रोप्ने, जाँतोमा कोदो फपरको पीठो पिस्ने, ढीकीमा चिउरा कुटने, रोदीमा नाँच्ने, लाखे नचाउने, गाईभैसी दुहुने, मोही पार्ने, ताडीको रुखबाट ताडी भर्न लगाउने, जाँड बनाउने र बनाएको प्रक्रिया देखाउन उनीहरुलाई सँगसँगै राख्ने र खुसी बनाउने गर्न सकिन्छ । यसबाट पर्यटकहरु हाम्रा घरघर पुग्ने र पर्यटकको आगमनबाट आम्दानी बढ्ने भएको कारण घरगाउँ सफा बनाउने प्रेरणा मिल्छ । हाम्रा संस्कृतिको जगेर्ना हुन्छ भने पर्यटकको बसाइ लम्ब्याउन पनि मद्दत मिल्छ ।
हाम्रा बिर्सेका प्राचीन प्रचलन र संस्कृतिको महत्व दिन दिनै बढ्दै गएको छ । हरेक देशले आफ्नो इतिहासलाई संरक्षण र प्रबद्र्धन गरेर पर्यटक तान्ने चुम्बक बनाएका छन् । हामी हाम्रो ऐतिहासिक सम्पदा र प्राकृतिक वन वातावरण जोगाउन पछि परेका छौं । हरेक गाउँ वा जिल्लाको विशेषता देखाउन, इतिहासका कथा, लोक कथा जोगाउन र सुनाउन सकेका छैनौ । इतिहास र संस्कृति हाम्रो सभ्यताका चिनारी हुन् । हाम्रा आफना प्रचलन, संस्कृति, सम्पदा, इतिहास र साहित्यको खोजी खोजी संरक्षण र सम्वर्दन गर्न सरकार, नागरिक र सरोकारवाला सक्रिय बन्नु पर्दछ ।
पर्यटनकर्मीका लागि तालिम तेस्रो रणनीति हुन्छ । पर्यटकको स्वागत सीप र कला पर्यटक आर्कषणको एक महत्वपूर्ण पक्ष हो । आफुसँग भएको वस्तुसेवाको बारेमा पर्यटकलाई बताउन बुझाउन सक्ने, रमाइरमाई हाँसीहाँसी उनीहरुको स्वागत गर्ने क्षमता र कला अर्को आवश्यक सीप हो । पर्यटकहले बोल्ने भाषाको केही न केही जानकारी हुनु अर्को महत्वपूर्ण पाटो हो । तापनि कम्प्युटर वा लेख्य सामाग्रीको प्रयोगले सञ्चारको लागि भाषा अपरिहार्य देखिदैन । आजकल पर्यटकहरु भाषा अनभिज्ञताको स्थितिमा स्थानीयसँग कनिकुथी सञ्चार गर्न झन् आर्कषित भएको पाइन्छ ।
यसकारण एक्सपिरियन्स्ड गर्न चाहने पर्यटकलाई आर्कषित गर्न सभ्यता र सरसफाई नै महत्वपूर्ण विषय बनेको देखिन्छ ।
मालदिप्सले पर्यटन क्षेत्रलाई देशको आर्थिक विकासको मेरुदण्ड बनाएको छ । तर हामी त्यो अवस्थामा पुगेका छैनौं । आर्थिक सर्भेक्षणअनुसार आर्थिक वर्ष २०७६-०७७ मा हाम्रो देशको कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान केवल एक दशमलव चार प्रतिशत मात्र रहेको छ । हामीले पनि पर्यटनलाई आर्थिक विकासको आधारस्तम्भ बनाउनु पर्दछ । पर्यटन क्षेत्रलाई सारभूतरुपमा विकास गर्न पर्यटकको चाहनालाई मध्यनजर राख्दै पर्यटन व्यवसायको उत्परिवर्तन गर्न जरुरी भएको छ ।
विश्वभर पर्यटकले आफै सहभागी भएर आनन्द लिन सक्ने पर्यटन सेवाको विकास गरेर अनुभवमुखी पर्यटनलाई आर्कषण र प्रबद्र्र्धन गर्न प्रतिस्पर्धा बढेको यर्थाथलाई आत्मसात् गर्दै भ्याक्सिन्ड पर्यटकलाई भित्र्याउन एकातिर स्वास्थ्य सुरक्षाका न्युनतम कुरा सरसफाई र सावधानी तथा आवश्यक स्वास्थ्य सेवासुविधा उपलब्ध गराउन आवश्यक हुन्छ भने अर्कोतिर पर्यटकले आफैले अनुभव गर्न सक्ने पर्यटकीय वातावरण बनाउन सोहीअनुरुप पर्यटकीय संरचना निर्माण, कृषि उत्पादन र संस्कृतिको विकास गर्नुपर्दछ । साथै, सम्पूर्ण नेपाली समाजलाई एक्सपिरियन्स्ड टुरिज्मको विकास र बिस्तारमा योगदान दिन प्रेरित गर्ने गरी नीति र कार्यक्रमले बोल्न सक्नु पर्दछ ।