मानिस पृथ्वीको सबैभन्दा सचेत र सर्वश्रेष्ठ प्राणी हो । सचेत हुनुको कारण धेरै कुरा थाह पाउँदै आएको छ यसले । सर्वश्रेष्ठ हुनुको कारण सबैलाई कज्याउँदै गएको छ यसले । मानिस–मानिसमा हार र जीतको मानसिकता छ । त्यसैले मानिसको विकास कालदेखि नै युद्धको विरासत छ यसमा ।
आज मानिस अन्तरीक्षमा पुगेको छ । मंगल ग्रहसम्म पुग्दैछ । पृथ्वीको प्राणीबाट अन्तरीक्ष प्राणी हुन आँट र प्रयास गरिरेको छ । पृथ्वीको एक मामुली मानिस विज्ञान र प्रविधिको पखेटा हालेर अन्तरीक्ष विचरण गरिरहेको छ । तर त्यति नै बेला यसले आफ्नै मानव जातिलाई ‘देखिस्’ भनिरहेको छ । मनोवैज्ञानिक र खुल्ला रुपमा हाँक दिइरहेको छ ।
एक भिन्न राष्ट्रको आवरणमा मानिस एकअर्काविरुद्ध निकै इष्र्यालु देखिएको छ । कसले कोमाथि विजय हासिल गर्ने भन्ने उसको ध्येय बनेको छ । शायद जंगली हिंस्रक प्राणी र प्रकृतिमाथि विजय हासिल गर्दै जाँदा मानिस स्वयम् आफू नै हिंस्रक र उत्पीडक बन्दै गएको छ । उसमा ‘राज्य’ र ‘राज’को मनोवैज्ञानिक विरासत छ । विश्वलाई चुनौती दिइरहेको अमेरिकीलाई रसिया र चीनले औलो ठड्याउँदा जापान र भारतले पनि यी तीनवटालाई पछ्याउँदै लखेट्न थालेका छन् । अहिले त प्रविधि चिन्न पाइन्छ, साधन किन्न पाइन्छ । साउदी अरबले किनेरै भए पनि ‘जापान मेड’ अन्तरीक्ष यान आफ्नो नाममा मंगल ग्रहको कक्षमा सफलतापूर्वक पठाइसकेको छ ।
गत वर्ष मार्च अन्तिममा सातामा सफलतापूर्वक रकेट प्रक्षेपण गरेपछि भारतले आफूलाई संसारको चौथो अन्तरीक्ष महाशक्तिको लहरमा उभ्याउन सफल भएको छ । अबको विश्व युद्ध अन्तरीक्ष युद्ध हुनसक्ने अडकलबाजी भैरहेका बेला यसले उक्त कुरालाई थप बल पुर्याएको छ ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जो बाइडन निर्वाचित भएपछि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा जस्तो प्रचारात्मक उछिनपाछिन त देखिएको छैन, तर अमेरिकी राष्ट्रिय नीति अनुसार चीन र रुस उसको टार्जेटमा रहिरहेका छन् । हाल यो युद्ध चन्द्रमा स्पेस स्टेशन निर्माणदेखि मंगल ग्रहमा यान तथा रोभरहरु अवतरणमा केन्द्रित हुन गएको छ ।
हेर्दा निकै वैज्ञानिक, रोमाञ्चकारी, नौलो, आश्चर्य र विकसितजस्तो देखिए पनि यो प्रतिस्पर्धामा देश विकास र जनसेवामा लगानी गरिनु पर्ने बजेटको ठूलो हिस्सा कटौती गरिएको छ । जनताको मुख मारिएको छ । विदेशी ऋणकर्जको ओइरो पारिएको छ । पृथ्वीका स्रोतसाधनको आवश्यकताभन्दा बढी खर्च गरिएको छ ।
मानव जातिको सम्पत्तिका रुपमा पृथ्वीमा हालसम्म आर्जन गरिएका बेतारका साध, तरंगबाहक औजार र प्रविधिले मानिसको यो आकांक्षा परिपूर्ति गरिदिन थालेको देखिए पनि यसले अर्कोतिर पृथ्वीमा अनावश्यक क्षति भने पुर्याइरहेको छ । यो आफैमा रचनात्मक मात्र होइन, ध्वंसात्मक र विभेद तथा उत्पीडनको सहयोगी पनि सिद्ध हुन गैरहेको छ ।
विज्ञान तथा प्रविधिको विकाससँगै सुरुभएको अन्तरीक्ष कब्जाको लडाइँ रोचक मात्र होइन, महङ्गो साबित हुन थालिसकेको छ । अन्तरीक्ष के हो र कति टाढा छ भन्ने भन्दा पनि अन्तरीक्ष कसको हो र किन कब्जाको होड चलिरहेको छ भन्ने कुराले प्राथमिकता पाइसकेको छ । अब अन्तरीक्षमा को पुग्यो होइन, को पुगेर के गरिरहेको छ भन्ने कुरा सर्वसाधरण जनताको पनि चासोको विषय बन्न थालेको छ ।
सर्वसाधरणका हातले बेतारको तार रेडियो चलाउनु, बेतारका तरंग मोबाइलको प्रयोग गर्नु, आँखाले टेलिभिजन हेर्नु, आकाशमा फाइटर उडेको देख्नु र विकसित प्रविधिको सामान्यीकरण हुनु विज्ञान तथा प्रविधिमैत्री जनचेतनाको विकास हो । तथापि यसमा पहुँच हुने देश र देशका शासकले संसारका संपूर्ण मानव जातिमाथि आफ्नो श्रेष्ठता र वर्चस्व कायम गर्ने अस्त्रका रुपमा यसलाई प्रयोग गरिरहेका छन् ।
यो पनि अब विश्व व्यापारका रुपमा अघि बढिसकेको छ । प्राविधिक विकास पनि व्यापार र विनिमयका साधन बन्न थालेका छन् । यो अवस्थामा विश्वका शक्तिशाली देश र त्यहाँका शासक वर्ग विज्ञान र प्रविधिको प्रयोग वा उपयोग आफ्नो हित र पक्षमा गर्न मरेर लागि परिरहेको छन् । यसले अन्तरीक्ष युद्ध निम्त्याउने खतरा बढेर गएको छ ।
अन्तरीक्षमा प्रवेश र शक्तिका हिसाबले संयुक्त राज्य अमेरिका, चीन, रसिया, युरोप, भारत र जापानलाई महाशक्तिका रुपमा लिइन्छ । पछिल्लो समयमा अमेरिकी अन्तरीक्ष वर्चस्व र एकाधिकार खोसिदै जान थालेको छ । विश्व विज्ञान प्रविधिको प्रतिस्पर्धामा गैसकेको छ । अमेरिकालाई चनौती दिने थुप्रै भइसकेका छन् । यसैले पनि होला, जल, थल, वायुसँगै अब अन्तरीक्ष युद्ध पनि थपिन आइपुगेको छ ।