कृषि कर्मका हिसाबले निकै रसिलो र भरिलो रहेको म्याग्दी जिल्ला अब यहाँका कृषकमा आएको कृषि जागरणका हिसाबले व्यावसायिकतातिर मोडिन थालेको छ । यसले किसानलाई लोभ्याउन र चित्तहरण गर्न सक्यो भने अबका दिनमा म्याग्दीको कृषि ‘नमूना कृषि’मा रुपान्तरण हुन समय लाग्ने छैन ।
यसका उदाहरणहरु गाउँमा वैयक्तिक रुपमा किसानले गर्दै आएका कृषि कर्म, लगन, प्रतिफलले पनि दिन थालिसके पछिको अवस्थामा गाउँगाउँमा देखिन थालिसकेका छन् । माटोको प्रकृति, हावापानी, सिंचाइ तथा मलजल प्रयोगको तरिकाका साथै उचित बीऊ छनौटले यसमा गुणात्मकता प्रदान गर्दै गैरहेका छन् ।
आलु खेती :
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्याल आलु खेतीबाट निकै प्रशन्न छिन् । यो वर्षको आलुखेतीबाट उनले सोचेको भन्दा धेरै कमाइ गरिन् । आलु बिक्री गरेर मात्रै रु. दुई लाख कमाइन् । त्यो भन्दा पनि बढी कमाइ हुने आँकलन पछि आएर मात्र गरिन् । त्यति बेला आलुको बीउ महङ्गो थियो । थोरै किनेर हिउँदे आलु लगाइन् । तर खेती निकै राम्रो भयो । रोपेको जति फल्यो, राम्रै भयो । थोरै रोपेर पनि राम्रो आम्दानी भएकोमा उनको दुःखेसो छैन ।
सडक निर्माणको प्रभाव :
खेती पनि सप्रियो, पैसा पनि घरमै आयो । सधैँजस्तो आलु बेच्न बजार लानु परेन । ग्राहक घरमै टुप्लुक्क आएर आलुको भाउ तोके, कुरो मिल्यो, लगे । थोरै आलु रोपेर पनि मूल्य राम्रो परेकाले छन्त्याल मनमनै दंग परेकी छिन् । सन्तुष्ट छिन् ।
यो समय आलु खन्ने समय हो । हिउँदे आलु भित्र्याउने समय हो । म्याग्दीको उपल्लो भेगमा त अहिले धमाधम हिउँदे आलु खनेर बजार पुर्याउने समय हो । यो वर्ष आलुको बीउको मूल्य निकै आकाशियो । तर पनि खेती यसकै, जसोतसो नगरी भएन । धन्न, बिक्रि मूल्य पनि त्यत्तिकै बढ्यो । मेहनत र मूल्य उठ्यो ।
राम्चे पनि कम छैन :
म्याग्दीस्थित राम्चेकी लीलमाया पुन पनि यो वर्षको कमाइबाट खुशी छिन् । उनलाई थोरै आलु रोपेकोमा छन्त्याललाई जस्तै कुनै पछुतो छैन । महङ्गो बीउ भयो, आलु थोरै रोपियो । तर मेहनत उठ्यो । घरमा खाने पनि प्रशस्तै भयो, खर्चका लागि केही पैसा पनि । घरायसी आम्दानीको स्रोत हुन थाल्यो आलु खेती । थोरै आलु रोपे पनि आम्दानी केही त भयो ।
आलु तरकारीमा आत्मनिर्भर म्याग्दी :
दुई वर्ष पहिलेसम्म आयातित तरकारीको भरपर्नु पर्ने म्याग्दी अब भने जिल्लाकै प्रांगारिक तरकारीमा रमाउन थालेको छ । जिल्ला यसै पनि तरकारीमा आत्मनिर्भर बन्दै जान थालेको छ । धन्य कोरोना भाइरस ! यसैका कारण भारतीय तरकारी नेपाल छिर्न पाएन । त्यसपछि गाउँगाउँमा तरकारी व्यापारी छिर्न थाले ।
जिल्लामा पाँच करोड आम्दानी :
म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष रु. पाँच करोडभन्दा आम्दानी भएको छ । कृषक दंग छन् । जिल्लामा पैसा भित्रिएको छ । जिल्लाको पैसा जिल्लामा नै रहेको छ । त्यसो त तरकारीसँगै म्याग्देली किसान च्याउ खेती, भैँसीपालन र बाख्रापालनप्रति आकर्षित हुँदै गएका छन् ।