बीसौं शताब्दीका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनबारे संसार परिचित छ । उनी को हुन्, उनले के गरे भनेर अहिले कसैलाई भनिरहनु पर्दैन । आइन्स्टाइन एक भौतिक विशेषज्ञ थिए । उनको जन्म १४ मार्च १८७९ मा जर्मनीको वुटेमवर्गस्थित एक यहुदी परिवारमा भएको थियो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्वान्त र द्रव्यमान उर्जा समीकरण E=mc2 को पत्ता लगाएको भनेर प्रख्यात छन् । उनले सापेक्षतावादको सिद्धान्त (Theory of Relativity), कणहरुको ब्राउनियन गति (Brownian Motion of Particle), एकीकृत भौतिक सिद्वान्त (Unified Field Theory) लगायत आविष्कार गरेर मानव जगतलाई गुण लगाएका छन् । उनलाई सन् १९२१ मा प्रकाश विद्युत प्रभावको खोज तथा अन्सुन्धानमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । यो त भयो वैज्ञानिक आइन्स्टाइनको संक्षिप्त परिचय । तर यी महान् वैज्ञानिकबारे सायद तपाईले नसुनेका केही रमाइला तथ्य र रोचक प्रसंग छन् । आउनुहोस् ती के के हुन् ? यसबारे जानौं ।
१. राष्ट्रपति हुन नमानेका वैज्ञानिक:
सन् १९५२ मा इजरायलका प्रथम राष्ट्रपति चाहम वाइजम्यानको मृत्युपछि त्यहाँका प्रधानमन्त्री डेभिड वेन गुडियनले वैज्ञानिक आइन्स्टाइनलाई इजरायलको राष्ट्रपति बनिदिन अनुरोधसहित प्रस्ताव राखेका थिए । तर वैज्ञानिक आइन्स्टाइनले ‘आफू विज्ञानका लागि जन्मिएको र राजनीतिका लागि नजन्मिएको’ भन्दै राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरिदिएका थिए ।
२. विश्वयुद्धबारे आइन्स्टाइनको घोषणा:
एक पटक एक पत्रकारले आइन्स्टाइनलाई विश्वयुद्धबारे जिज्ञाशा राखेका थिए । पत्रकारको जिज्ञाशाको उत्तर दिंदै आइन्स्टाइनले भनेका थिए, ‘तेस्रो विश्वयुद्धको बारेमा त म केही भन्न सक्दिन, तर चौथो विश्वयुद्ध भने ढुंगा र भालाबाट लडिने छ ।’ चौथो विश्वयुद्ध हुनेवेला मानव संसारले निर्माण गरेको वैभव समाप्त भैसकेको हुने भएकाले मानिसहरु ढुंगा र भालाबाट लड्ने उनको वैज्ञानिक ठम्याइ थियो ।
३. स्वेच्छिक मृत्यु रोजेका वैज्ञानिक:
आइन्स्टाइनले आफ्नै इच्छाले मृत्यु रोजेका थिए । जब उनी बिरामी भएर अस्पातल भर्ना भए, उनलाई चिकित्सकले शल्यक्रिया गरेर निको बनाउने भनेका थिए । तर आइन्स्टाइनले शल्यक्रिया गरेर मानिसको सहारामा बाँच्नुभन्दा मृत्यु नै रोजे । चिकित्सकलाई उनले भनेका थिए, ‘मानव जीवनका लागि गर्न सकिने योगदान गरिसके, चाहिने जिन्दगी पनि बाँचिसके, मेरो शल्यक्रिया नगर्नुस् ।’
४. बीस वर्षसम्म उनको दिमागलाई जीवित राखियो:
जब अस्पतालमा आइन्स्टाइनको मृत्यु भयो, उनको मृत्युपछि चिकित्सक थोमस हार्वेले परिवारको अनुमतिबिनै उनको गिदी (दिमाग) निकालेका थिए । त्यसो गरे वापत चिकित्सक हार्वेलाई अस्पतालको जागीरबाट निकालिएको थियो । अनुसन्धानका लागि त्यसो गरेको भनेर चिकित्सकले धेरै स्पष्टिकरण त दिए, तर पनि अस्पतालबाट चिकित्सकलाई निकालियो । तर आइन्स्टाइनको दिमागलाई २० वर्षसम्म सुरक्षित राखेर अनुसन्धान गरियो । अनुसन्धानबाट पत्ता लग्यो कि आइन्स्टाइनको दिमागमा अरु सामान्य मानिसको भन्दा बढी कोशिका (Cell) हरू थिए ।
५. आजसम्मको सबैभन्दा महङ्गो चिठ्ठी:
आफ्नो मृत्यु हुनुभन्दा ठीक १ वर्ष पहिले सन् १९५४ जनवरी ३ का दिन आइन्स्टाइनले आफ्ना मित्र जर्मन दार्शनिक एरिक गडकाइनलाई एक पत्र लेखेका थिए । जुन पत्र २९ लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्रि भएको थियो । एरिक गडकाइनले आइन्स्टाइनलाई एक धार्मिक पुस्तक दिएका थिए । सो पुस्तक पढेर आइस्टाइनले प्रतिउत्तर स्वरुप उनलाई सो पत्र पठाएका थिए । उनलाई लेखेको पत्रमा आइन्स्टाइनले बाइबल बारे लेखेका थिए । बाइबल कुनै धर्मशास्त्र नभएर प्राचीन कहानीहरुको संग्रह मात्रै भएको कुरा सो पत्रमा आइस्टाइनले उल्लेख गरेका थिए ।
६. फोटो खिचेको र वक्तव्य दिएको पैसा लिन्थे उनी:
कसैले आइस्टाइनको तस्वीर लिन चाह्यो भने उनी पैसा लिएर मात्रै तस्वीर लिन दिन्थे । कतै वत्तव्य दिनु परे पनि उनी पैसा लिन्थे । त्यसरी लिएर जम्मा भएको पैसा उनी दुखी गरिबहरुलाई दान गर्थे ।
७. बिना प्रयोगशालाका वैज्ञानिक:
अरु सबै वैज्ञानिकको आफ्नै प्रयोगशाला रहेको भेटिन्छ । तर वैज्ञानिक आइन्स्टाइनका देखिने कुनै त्यस्ता प्रयोगशाला थिएनन् । एकपल्ट एक अर्का वैज्ञानिकले आइन्स्टाइनलाई तपाईको प्रयोगशाला हेरौं न भनेर साध्नेबेला आइन्स्टाइनले आफ्नै दिमागमा इशारा गरेछन् । अर्का वैज्ञानिकले कुरा नबुझेर फेरि सोधेछन्, ‘तपाईको प्रयोगशाला र उपकरण हेरौं न त ।’ अनि आइस्टाइनले आफ्नो पाइलट कलम देखाउँदै त्यै कलमले टाउकोमा ठटाएर भनेछन् मेरा प्रयोगशाला र उपकरण यिनै हुन् । अर्थात् कलम उनको उपकरण र दिमाग प्रयोगशाला थिए ।
८. सफलताको रहस्य:
एक दिन आइन्स्टाइनका एक विद्यार्थीले आफ्ना गुरुलाई सोधेछन्, ‘हजुरको सफलताको रहस्य के हो गुरु भनेर ।’ आइस्टाइनको उत्तर थियो, ‘लगन, लगन र फेरि पनि लगन ।’
९. अद्वितीय प्रतिभाका खानी:
अल्वर्ट आइन्स्टाइन यति प्रतिभाशाली थिए कि मानिस भन्ने गर्छन् उनीजस्तो प्रतिभा पृथ्वीमा फेरि जन्मिएको छैन । अमेरिकाको ‘टाइम’ पत्रिकाले सन् १९९९ मा उनलाई बीसौं शताव्दीका सबैभन्दा महान् व्यक्ति भनेर घोषणा गरेको थियो । कतिसम्म भने उनको जन्मदिन मार्च १४ लाई विश्वले जिनियस (प्रतिभा ) दिवस भनेर मनाउने गर्छ ।
१०. आइन्स्टाइनको अन्तिम वाक्य:
१८ अप्रिल १९५५ का दिन अस्पतालमा आइन्स्टाइनले अन्तिम सास फेरे । आइन्स्टाइनले अन्तिम सास फेर्नेबेला उनले केही वाक्य भनेका थिए । तर उनले के भने भनेर रहस्यमै सिमित रह्यो । उनले अन्तिम सास फेर्नुभन्दा पहिले जर्मन भाषामा केही भनेका थिए । तर दुर्भाग्य ! त्यहाँ त्यतिबेला उनको अगाडि जर्मन भाषा नबुझ्ने मानिस मात्रै थिए ।
११. आइन्स्टाइनको चर्चित तस्वीर:
संसारको आँखामा अल्वर्ट आइन्स्टाइन भन्ने बित्तिकै त्यही लामो जोब्रो तानेको तस्बीर आइहाल्छ । तर यो तस्वीरको वास्तविकता सबैलाई थाह नहुन सक्छ । उनको ७२औं जन्मदिनमा सन् १९५१ मार्च १४ का दिन यो तस्वीर खिचिएको थियो । दिनभरि धेरै फोटो पत्रकाले उनलाई मुस्कुराउन लगाउँदै तस्वीर लिँदै गरेका थिए । अन्तिममा एकजना क्यामरामेनले फेरि उनी मुस्कुराएको तस्वीर लिन चाहे । अब यही यसरी मुस्कुराएको मात्रै पोज बाँकी छ, यसरी कस्तो होला भनेर उनले ‘आँ’ गरेर पूरै जिब्रो बाहिर निकाले । फोटो खिचियो । समय क्रममा उनको त्यही तस्वीर नै चर्चित बन्यो । उनको त्यो तस्वीर डेढ करोड रुपैयाँमा विक्री भएको थियो । त्यो फोटोमा आइन्स्टाइनले आफ्नो हस्ताक्षर समेत गरेका छन् ।
१२. आइन्स्टाइन दुखी भए:
आइन्स्टाइन आफैले परमाणु बम त बनाएनन् । तर उनको सूत्रबाट परमाणु बम बनेको थियो । पछि परमाणु बम मानवतालाई सिध्याउन प्रयोग भएकोमा उनी साह्रै चिन्तित थिए ।
१३. सरसफाई नगर्ने मानिस:
वैज्ञानिक अल्वर्ट आइन्स्टाइन सरसफाइमा र फेसनमा रुची राख्दैनथे । कतिसम्म भने उनी कपाल कोर्न र काट्न समेत रुचाउदैनथे । उनी जहाँ जाँदा पनि कपडा राम्रो लगाउदैनथे । कपडा राम्रै भएपनि उनी मिलाएर लगाउदैनथे । उनी मोजा कहिल्यै लगाउदैनथे । तर कालान्तरमा उनको त्यही नकोरिएको कपालको बान्की नै उनको वौद्विकताको पहिचान बनेको छ ।
१४. बोल्न नसक्ने बालक:
बालक आइन्स्टाइन जन्मेको ४ वर्षसम्म बोल्न सकेका थिएनन् । ४ वर्षपछि तातो झोल खाँदा मात्रै मुख पोलेर उनले ‘धेरै तातो’ भन्ने शब्द पहिलो पटक बोलेका थिए । छोराको मुख तातोले पोलेकोमा दुखी हुनुभन्दा त्यतिबेला उनका आमाबुवा छोराको बोली फुटेकोमा धेरै खुसी भएका थिए । पहिलो शब्द त बुझियो, तर अन्तिम शब्द उनको नबुझिएको कुरा अगाडि नै भनिसकियो ।
१५. पढाइमा कमजोर आइन्स्टाइन:
४ वर्षसम्म बोल्न नसक्ने बालक छिट्टै विद्यालय जाने कुरा पनि भएन । ७ वर्षपछि मात्रै अल्वर्ट आइन्स्टाइन विद्यालय जान थालेका हुन् । त्यसमा पनि उनी विद्यालय जान खासै रुची नै गर्दैनथे । विद्यालयमा पढाइमा उनी एकदम मन्दबुद्धिका थिए । उनका शिक्षकहरु उनलाई जिन्दगीमा केही गर्न नसक्ने केटाको रुपमा चित्रित गर्थे । झन् गणितका शिक्षकले त उनलाई ‘अल्छी कुकुर’को संज्ञा नै दिएका थिए ।
१६. जन्मदै फरक थिए:
१४ मार्च १८७९ मा उनी जब जन्मिए तब अस्पतालमा चिकित्सहरुले अरु जन्मने बालकहरुको भन्दा उनलाई केही असाधारण देखे । उनको टाउको अरु साधारण बच्चाहरुको भन्दा धेरै ठूलो थियो । चिकित्सकहरुले उनलाई मानसिक अपाङ्ग हुनसक्ने समेत बताएका थिए ।
१७. कयौं मानिसले उनका सिद्धान्त बुझ्दैनथे:
प्रायजसो विद्यार्थीले पनि उनका सिद्धान्त बुझ्दैनथे । उनकी श्रीमतीले पनि उनका सिद्धान्त बुझ्दैनथिन् । एकचोटी एउटा पत्रकारले उनकी श्रीमतीलाई तपाईका श्रीमानले आविस्कार गरेका सिद्धान्तहरुप्रति तपाईलाई कत्तिको विश्वास छ ? भनेर सोधेका थिए । उनकी श्रीमतीले भनेकी थिइन्, ‘म मेरा श्रीमानले आविस्कार गरेका सिद्धान्तबारे केही जान्दिन, तर मलाई मेरो श्रीमानप्रति भने फूर्ण विश्वास छ ।’