काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले भारतमा बन्ने मोबाइल खरिद नगर्न आग्रह गरेका हुन् ।
नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । ‘भारतमा फोरजीका लागि ८०० मेगाहर्जको फ्रक्वेन्सी नै प्रयोग हुँदैन,’ प्रबन्ध निर्देशक अधिकारीले भने, ‘यसैले भारतमा बन्ने मोबाइलमा हाम्रो ८०० मेगाहर्जमा आधारित नेटवर्कको सपोर्ट हुँदैन । यस्तो अवस्थामा भारतमा बनेका स्मार्टफोनमा हाम्रो फोरजी नचल्ने अवस्था छ ।’
भारत बाहेक चीन, भियतनाम लगायत अन्य देशमा बनेका मोबाइल सेटमा भने यस किसिमको समस्या नरहेको बताउदै अधिकारीले भने, ‘मोबाइल किन्दा ८०० मेगाहर्ज फ्रिक्वेन्सीको सपोर्ट रहेको वा नरहेको कुरा ख्याल गर्नुपर्ने हुन्छ । सबैभन्दा सजिलो कुरा भनेको भारतमा बन्ने मोबाइल नै नकिन्नु हो ।’