• मंसिर ११ २०८१, मंगलवार

कतै आत्मघाती त हुने होइनन् प्रचण्डले चालेका बाध्यात्मक कदमहरु

चैत्र २४ २०७७, मंगलवार

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीको कार्वाहीका नाममा आफ्नै पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गर्न पुगेका छन् । प्रचण्डले ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कारवाही गरेका हुन् । उक्त कारवाहीको जानकारी संसद सचिवालयलाई दिइ पनि सकेका छन् । यसैगरी लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य द्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पनि पदमुक्त गरेका छन्।

एमाले र माओवादी आआफ्ना पार्टीमा फर्कने गरी सर्वोच्चले आदेश दिएपछि उत्पन्न जटिल परिस्थितिमा माओवादी केन्द्रका केही नेताहरु एमाले पार्टीमा बस्ने गरी उतै रहन गए । यसले माओवादी केन्द्रमा एक ठूलो धक्काको महसुस गरायो । यसले माओवादी केन्द्रभित्र निकै ठूलो छलफल र बहस पनि ल्यायो, त्यसको परिणामस्वरुप ‘एमाले पार्टीको राजनीतिक गतिविधिमा संलग्न भएको’ भनी माओवादी केन्द्रको साधरण सदस्य र संसदको सदस्य पनि नरहने गरी उनीहरुलाई कार्वाही गरियो ।

कार्वाही दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको सीमा र दायरालाई लिएर गरिए पनि यो भनेकोजस्तो सरल भने हुनजाने देखिदैन । हेर्दा व्यक्तिगत रुपमा हाल मन्त्री रहेकालाई घाटा परेको देखिए पनि राजनीतिक प्रभावका हिसाबले माओवादी केन्द्रलाई ठूलो असर पुग्ने देखिन्छ ।

राजनीतिक कुरा प्राविधिक होइनन् । यी नितान्त कानुनी वा विधानगत मात्र पनि हुन सक्दैनन् । यी त सामाजिक राजनीतिक विषयहरु हुन् । यिनको दीर्घकालीन असर रहन्छ । यसले नेकपा एमालेलाई खासै असर पर्दैन पनि, तर माओवादी केन्द्रलाई आउँदो निर्वाचनमा ठूलो असर पुर्याउने छ । त्यसैले राजनीतिक विश्लेषकहरुको गम्भीर टिप्पणी रहेको छ– आखिर प्रचण्ड बाध्यात्मक कार्वाहीको प्रक्रियामा हाम फाल्न बाध्य भए ।

प्रदेश सरकारमा ओलीजीले पेलेका पेल्यै छन् । प्रचण्ड निकै खुम्चदै र साँगुरिदै गैरहेका छन् । उनको प्रतिवाद गर्ने ठाउँसम्म पनि बाँकी छैन । न त उनी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अवस्थामा छन् न त ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान नै । यसको टुंगो लाग्न नसकिरहेको अवस्थामा प्रचण्ड बढी आवेगमा आएर यस्तो काम गर्दा कतै यस्ता कदम उनका लागि आत्मघाती त साबित हुने होइनन् ? कुरो आफैमा निकै सोचनीय छ । यस्तो अवस्थामा अलिक लचक भएर काम गर्दा उनकै लागि राम्रो हुने थियो कि ?