• मंसिर ११ २०८१, मंगलवार

विश्वमा अद्वितीय छ कार्ल मार्क्सद्वारा प्रतिपादित मार्क्सवाद

चैत्र २४ २०७७, मंगलवार

उन्नाइसौं शताब्दीमा जर्मनीमा जन्मिका कार्ल मार्क्स (जन्म १८१८-मृत्यु १८८३) आफैमा दार्शनिक थिए । उनमा अर्थशास्त्र, साहित्य तथा पत्रकारिताको पनि अथाह ज्ञान थियो । यी सबै कुराहरुको मजबुद जगमा निर्माण भएको उनको चेतना मूलतः राजनीतिक रुपमा क्रान्तिकारी थियो । उनको यो सर्वश्रेष्ठ सोचले मानव समाजमा आमूल परिवर्तनका लागि मार्गनिर्देशनको काम गर्यो ।

उनले मानव समाजको खोजी र त्यसमा ल्याउन सकिने परिवर्तनमा सिंगो जीवन अर्पण गरे । अध्ययनको असीम गहिराइमा पसेपछि नअघाउँदासम्म बाहिर ननिस्कने उनले अविराम अध्ययन, अनुसन्धान, संश्लेषणका माध्यमबाट पुँजीवादपछि समाजवादी तथा साम्यवादी व्यवस्था स्थापना हुने ठोकुवा गरे । अग्रगामी रुपान्तरणका लागि अघि बढ्ने मार्गदर्शक सिद्धान्तको आलोकमा वर्गसंघर्षको बाटो देखाए ।

वर्गसंघर्षको बाटो हुँदै समाज रुपान्तरणमा अघि बढ्ने दर्शन संश्लेषणमा माक्र्सको पहिलो सफलता भनेको पुँजीवादी व्यवस्थाको चिरफार हो । यो उनको महत्वपूर्ण कृति ‘दास क्यापिटल’मा उल्लेख छ । यसअन्तर्गत उनले मजदुरहरुको शोषणबारे गहिरो अध्ययन गरे । यो राजनीतिक अर्थशास्त्रसँग बढी सम्बन्धित छ । उनको संश्लेषणमा उत्पादन पुँजीपति वर्गको हातमा छ । उत्पादन प्रक्रिया उनीहरु सञ्चालन गर्दछन्, पुँजीपति वर्गको स्वार्थअनुसार । त्यहाँ उत्पादक शक्तिका रुपमा मजदुर रहेको छ, जसले अरुका लागि काम गरिदिन्छ । यो प्रक्रियामा ऊ आफै ठगिएको छ । यहीनेरबाट श्रम शोषण हुन गएको छ ।

मार्क्स को दोस्रो महत्वपूर्ण सफलता भनेको ऐतिहासिक भौतिकवादको व्याख्या हो । यो भनेको मानव समाजको समग्र इतिहासको वस्तुवादी व्याख्या हो । यस अन्तर्गत मानव समाजको सिलसिलेवार वस्तुगत चरणहरुको व्याख्या छ- आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युग । उनले सबैभन्दा धेरै समय पुँजीवादी युगको अध्ययनमा लगाएका छन् । यो भनेको वर्तमानको व्याख्यामात्र होइन, त्यसमा ल्याइनु पर्ने बदलाव हो ।

तेस्रो महत्वपूर्ण सफलता भनेको भनेको समाज परिवर्तनको उपाय, विधि र प्रक्रिया हो । त्यो भनेको वर्गसंघर्षको खोज हो । यसका बारेमा अध्ययन गरेर मार्क्स समाजको चरित्र वर्गीय हुने र समकालीन समाजमा हुने विपरीत वर्गका बीचमा निरन्तर संघर्ष चलिरहने निचोडमा पुगे । उनको व्याख्यामा आदिम साम्यवादमा कुनै पनि वर्गीय अन्तरविरोध देखिदैन । तर दासयुगमा आएर दास र मालिकका बीचमा वर्गसंघर्ष चल्न थाल्यो । समाज सामन्ती युगमा रुपान्तरण भयो । त्यहाँ भूमिपति र भूदासका बीचमा वर्ग संघर्ष चल्यो ।

त्यसले समाजलाई त्यही अवस्थामा रहन नदिई पुँजीवादी युगमा रुपान्तरण गर्यो । पुँजीवाद स्थापना भयो । पुँजीवाद हामी बाँचेको वर्तमान हो । यस युगमा हुने पुँजीपति र मजदुर वर्ग बीचको वर्गसंघर्षले समाजलाई समाजवादी चरणमा पुर्याउने छ । वर्ग, वर्गीय उत्पीडन, वर्गीय समाजको अन्त्यसँगै राज्यको पनि विलापीकरण भई साम्यवाद आउँछ र वर्गसंघर्ष हराएर जान्छ भनेका छन् ।

चौथो सफलता भनेको कम्युनिष्ट घोषणा पत्र हो । यो नै  मार्क्सका सबै खोजहरुको संश्लेषण हो । यसमा माक्र्सले खोजअध्ययन, अनुसन्धान गरेका र लेखेका सबै कृतिहरुको सार छ । यो वर्गसंघर्षको संश्लेषित दस्तावेज हो । यो मार्क्स-एङगेल्सको अथक प्रयासको परिणति पनि हो । यो हालसम्म मानवले निर्माण गरेको सर्वोत्कृष्ठ पाण्डुलिपी पनि हो ।  मार्क्सले निन्दा गरेका वर्ग दुश्मनहरुले पनि यसको सह्राना गरिरहेका छन् ।

पाँचौ सफलता भनेको माक्र्स आफै पहिलो अन्तर्राष्ट्रियको नेतृत्वकर्ता थिए । उनले पहिलो इन्टरनेश्नललाई साम्यवाद प्रचारको साधन बनाएका थिए । उनको विचारमा दोस्रो इन्टरनेश्नल संगठन निर्माणको र तेस्रो इन्टरनेश्नल संघर्षको नेतृत्वकर्ताको भूमिकामा हुनु पर्दथ्यो । उनी त्यतिबेला अराजकतावादी मिखाइल बाकुनिनविरुद्ध वैचारिक लडाइँ लडेका थिए ।

छैठौं खोज भनेको माक्र्स आफैमा आधुनिक समाज शास्त्रका जन्मदाता हुन् । समाज विज्ञान आफैमा एक जटिल कुरा हो । यो अन्य विज्ञान जस्तो विशुद्ध, विशिष्ट र आंशिक पनि हुँदैन । यसको व्याख्या समग्रमा हुनुपर्छ । बरु यो समाज विज्ञानले अन्य सबै विज्ञानहरुको अगुवाई, अभिभावकत्व र नेतृत्व गर्दछ ।