शिक्षा सबैका लागि महत्वपूर्ण छ । हाम्रो सुन्दर देश नेपालमा सर्वप्रथम ऋषिकूल भन्दा गुरुकूल शिक्षा प्रणाली उन्नत खालको थियो । तर मध्यकालीन शासकवर्गहरुको उदयसँगै शिक्षा पनि शासक वर्गकै पक्षपोषण गर्ने खालको बनाएका थिए । त्यतिबेला नेपाल अहिलेको जस्तो वैदेशिक ऋणको भुमरीमा थिएन । शासक वर्गहरु पनि धार्मिक विद्धान थिए भने राज्यमा गुरु एवं विद्धानहरुको आदर र सम्मान हुन्थ्यो । नेपाल जब शिक्षाको आधुनिक युगमा प्रवेश गर्यो त्यतिबेला देखि नेपालमा औपचारिक शिक्षा दिन विद्यालय स्थापना गर्ने लहर चल्यो । तरपनि शासक वर्ग र निजका सन्तान दरसन्तानको लागि मात्र शिक्षा सहज थियो । सर्वसाधारण जनता एवम् सीमान्तकृत गरिब वर्गको लागि शिक्षा उपलब्ध थिएन वा वैश्य र सुद्रहरुले पढ्ने अधिकार थिएन ।
नेपालमा प्रचीनकालदेखि हालसम्म थुप्रै परिवर्तन भए पनि सामुदायिक विद्यालयको विविध व्यवस्थापनमा अपेक्षित रुपमा सकारात्मक परिवर्तन भएको पाइँदैन । ज्ञान, सीप र आचरणसहितको शिक्षामा लगानी गरेका मुलुकहरुको आर्थिक अवस्था मजबुत देखिन्छ । विकसित मुलुकहरु जस्तै जापान, कोरिया, सिंगापुर, अमेरिका र यूरोपीयन मुलुकहरुले गुणात्मक एवं बजारको मागअनुसार शिक्षा र सिकाइलाई एकैसाथ लगेका हुनाले आज ती देशमा शिक्षा क्षेत्रबाट उत्पादित जनशक्तिहरु धेरै गुणात्मकता पाइन्छ ।
देशको शिक्षालाई सन्तुलित रुपमा ज्ञान, सीप र आचरण सहित बनाउनुका साथै उनीहरुले एक्काइसौं शताब्दीको शिक्षाको प्रारुपअनुरूपका आधारभूत विषय, सूचना प्रविधिसहितको प्राविधिक विषय, सिर्जनात्मक तथा र जीवनोपयोगी सीप एवं सञ्चार जस्ता विषयहरु समग्र शिक्षातर्फ अघि बढेन । शिक्षाको काम र उद्धेश्य प्रतिष्पर्धी क्षमतासहित कार्य गर्न सक्ने जनशक्ति उत्पादन गर्नु नै हो तर नेपालमा त्यसो हुन सकेको छैन । शिक्षा मार्फत् पूर्ण क्षमतावान जनशक्ति उत्पादन गरी समग्र देश विकासमा मानव शक्ति परिचालन गर्ने भनेर दृढ अठोटका साथ अघि बढनु पर्ने देखिन्छ तर त्यो हुन सकेको छैन ।
एक्काइसौं शताब्दीको शिक्षामा सूचना र डिजिटल प्रविधिको महत्व थप उजागर गर्न सरकारले धेरै काम गर्न बाँकी नै छ । त्यसका लागि प्राविधिक शिक्षालाई प्राथमिकता मा राख्नु पर्दछ, किन की अबको युग विज्ञान र प्रविधि प्रयोग गरेर धन कमाउने युग हो । हिजो जस्तो न्यूनस्तरको प्रविधि र जनशक्ति प्रयोग गरेर जसरी उत्पादन गरिन्थ्यो अब त्यसको मात्रा बढाएर लैजानु पर्दछ । यतिमात्रै होइन विज्ञान र प्रविधिको प्रयोग गरेर मजदूर किसान तथा उत्पीडित वर्गले गलत शासन प्रणालीका विरुद्ध संगठित हुने उपाय पनि अपनाउनु पर्दछ ।
शिक्षा राष्ट्रको प्रत्यक नागरिकको मौलिक हक अधिकार हो । मौलिक हक हो मात्र भनेर शान्त मनले बस्ने अवस्था छैन ।
राज्यले शिक्षालाई मौलिक हककारुपमा स्वीकारेपछि त्यसलाई निशुल्करुपमा जनतालाई उपलब्ध गराउनु पनि पर्दछ । नत्र जनताले विद्रोह गर्नुपर्दछ । विद्रोह भनेको अधिकारका लागि आन्दोलित हुने कुरा हो । रत आन्दोलनहरु नराम्रा हुँदैनन् । उदाहरणका लागि फिन्ल्याण्ड क्युवा र फ्रान्स जस्तै अन्य धेरै देशहरुमा प्राथमिक तहदेखि उच्चतहसम्म प्राविधिक शिक्षा प्रदान निशुल्क प्रदान गरिएको छ । ती सबै प्रगतिहरु आन्दोलनबाटै प्राप्त भएका हुन् । किनकि त्यहाँको सरकारले मानेको छ कि राष्ट्रको अर्थ व्यवस्थामा एक शिक्षित व्यक्तिको समग्र विकासका लागि महत्वपूर्ण भुमिका हुन्छ ।
त्यसैले शिक्षा निश्चित रुपमा आफ्नो हक, अधिकार, कर्तव्य र जिम्मेवार व्यक्तिगतका साथै आर्थिक समृद्धिको एउटा शक्तिशाली शस्त्र हो । त्यसैले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा योग्य दक्ष र शिक्षक पेशा मा प्रतिवद्ध शिक्षकको आपूर्ति गर्नुपर्दछ । साथै शैक्षिक विकास निर्माणका योजना परिचालन गर्ने राज्य सरकारको पहिलो लक्ष्य हुनुपर्दछ । नेपाली शिक्षा प्रणाली र नीति अपूर्ण छ । र केही सकारात्मक रुपमा निर्णय भएका कुराहरु पनि मन खुलेर लागु गरिएको छैन । हाम्रो पुरानो शिक्षा नीतिमा धेरै त्रुटी छन् । अब पुरानो शिक्षा नीतिलाई सच्याउँदै प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मका पाठ्यक्रममा नया संविधानको नयाँ व्यवस्था अनुसारको पाठ्क्रम तयार गरी लागु गर्नुपर्दछ । हालको घोकन्ते विद्यालाई व्यवहारीक विद्यामा परिणत गर्नुपर्दछ ।
जसबाट विद्यार्थीले ज्ञान पनि सिकोस् र सिप पनि सिकोस र त्यही सिपबाट उसले आत्मनिर्भर बन्न सकोस् । जसबाट ऊ आत्मनिर्भर बन्न मात्रै होइन संसारमा नयाँ आविष्कार र दर्शन पनि दिन सकोस् । यसरी अबको शिक्षाले विद्यार्थीमा समानताको आभास दिलाउनु पर्दछ । यसका साथै नेपाली समाजमा समानताका लागि कुरिति, कुसंस्कार, छुवाछत विभेद र अन्धविश्वास जस्ता कलङ्कलाई हटाउने एउटा माध्यम शिक्षा पनि बन्नुपर्दछ । दार्शनिक र वैज्ञानिक बन्ने तर मानिसलाई पजभेद पनि गर्ने गर्नु हुँदैन । समानतामूलक र विभेदमुक्त समाज बनाउन ज्ञानदिने शिक्षाले नै विभेद मुक्त नेपाल र परिवर्तनकारी समाज निर्माण गर्नसक्छ ।
गुणस्तरीय शिक्षा हासिल गर्नका लागि नयाँ पुस्ताले विज्ञान र प्रविधिमा जोड दिनुपर्दछ भने राज्यले पनि विद्यार्थीको मनोविज्ञानलाई चिनेर त्यसै अनसारको सामग्री पढाउनु पर्दछ । त्यसका लागि पाठ्यपुस्तक र पाठ्यसामग्रीमा पनि परिवर्तन ल्याउनु पर्दछ । यो धर्तीमा सूर्य सबैका लागि बराबर छ । घाम आफ्नो उज्यालो कसैलाई थोरै कसैलाई धेरै दिंदैन बराबर दिन्छ । पानीले सबैलाई उस्तैगरी रुझाउँछ । आगोले सबैलाई उस्तैगरी पोल्छ । हावाले पनि सबैलाई अक्सिजन बराबर दिन्छ त्यसैगरी नेपाली समाजमा हामी मान्छेमान्छे बीचमा अधिकारको प्रयोगमा किन विभेद खडा गरिएको छ ? एकले अर्कोलाई होच्याउने जातको पर्खाल किन खडा गरिएको छ ? यसको जवाफ अहिलेको पुस्ताले खाज्नै पर्छ ।
नेपालमा पछिल्लोचरणमा राजनीति व्यवस्थाको नयाँ बहस गर्नेहरुले समाजवादको बहसलाई नयाँ तरिकाले उठाएका छन् । उनीहरुको भनाई के छ भने, जसरी सूर्यको किरण प्रचुर छ, हावा जतिभने पनि छ, यसलाई उपयोग गर्न जति पनि सकिन्छ र यो प्रयोग गर्नबाट कसैले पनि रोक्न सक्दैन । हो यसैगरी मानिसलाई आवश्यक पर्ने वस्तुहरु पर्याप्त मात्रामा उत्पादन गर्ने र सबैले उपभोग गर्न पाउने अवस्था नै समाजवाद हो ।’
हो यी र यस्ता कारण, प्रमाण र उद्धेश्यहरु सहित संस्कृति र विकृति छुट्याएर नयाँ तरिकाले जनतालाई प्रशिक्षण दिनुपर्दछ । यही गर्न र हुन नसकेका कारण आज देशको हालत यस्तो भएको हो । यसैगरी स्पष्ट बाटो र विज्ञानसम्मत काम गर्न नसकेका कारण नसकेको कारण समाज अझै परिवर्तन हुन नसकेको हो । जात प्रथा सुरुमा प्रथा वा चलनकोरुपमा समाजमा उदाएको र पछि राज्यले नै कानून बनाएर लागु गरेपछि यस्तो अवस्था आएको हो । त्यसकारण यसको असरका बारेमा र यसको खास कारण खोजेर हल गर्न सक्ने विचारको विकास गर्नु नै आजको आवश्यकता हो । राज्यको कमीकमजोरी तथा विभेदमुक्त उच्च शिक्षा र उचित जनचेतनाको कमीले आज जातीय विभेद र सामाजिक उत्पीडनका समस्याहरु समाजमा ज्यूका त्यूँ छन् । हाम्रो समाज शिक्षित त भयो उच्च परिवर्तनकारी र वैज्ञानिक भएन बरु रुढिग्रस्त भयो । किनकी शिक्षा प्रणाली र विद्यालयमा पढाइने पढाइ र तथा पाठ्क्रमहरु नै विभेद मुक्त छैनन् । जातको आधारमा श्रेष्ठता चिन्ने नेपाली समाजमा जातीय विभेद विरुद्धको लेख, लेखन गरिएन र व्याख्या गरिएन । अदालतले न्याय दिँदा पनि समाज भने अन्याय कै वकालत गरिरहेको पाइन्छ ।
तसर्थ शैक्षिक सुधारमा समानताका लागि र हिमाल, पहाड र तराईका सबै समुदायका बालबालिकाको पठनपाठनमा आगामी आर्थिक वर्षको शैक्षिकसत्रदेखि नयाँ नीति र नियमावली निर्देशिका अनुसार सम्पूर्ण नेपाली विद्यार्थी भाइबहिनीहरुको उज्ज्वल भविष्यका लागि नेपाल सरकार राज्य सरकार र स्थानीय सरकारले प्राथमिक तहदेखि उच्च माद्यामिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क, व्यवहारीक र सिपमूलक हुनु पर्दछ । यसमा राज्य स्तरीय शिक्षा मन्त्रालयको विशेष ध्यानाकर्षण होस् । गुणस्तरीय प्राविधिक शिक्षा नै मानव विकासको लागि मुलभूत आवश्यकता हो ।
लेखकः प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रिय सदस्य हुन् ।