• मंसिर ११ २०८१, मंगलवार

रारामा आन्तरिक पर्यटकको घुइँचो : रारा स्टे निर्माणको माग

चैत्र २२ २०७७, आईतवार

काठमाडौं । मुगु जिल्लामा पर्ने रमणीय रारा दह भ्रमणका लागि आउने मानिसको घुइँचो अहिले थामिनसक्नु गरी बढिरहेको छ । फागुन महिनासम्म त्यति चहलपहल नदेखिए पनि चैत्र लाग्दै गर्दा क्रमशः बाक्लिन थालेको मानिसको आवागमन अहिले थामिनसक्नु भएको हो । पहिलेका वर्षहरुमा पातलो उपस्थिति देखिने स्थानीय पर्यटकको भीड यस वर्षको अन्तिममा आएर निकै भिडभाडमा परिणत भएको छ ।

पर्यटकको रोजाइमा रारा दह :

विदेशी पर्यटक कहिलेकाँहिं देखिए पनि स्वदेशी पर्यटकको दिनप्रतिदिनको आगमनले रारा दह स्वदेशी पर्यटकको रोजाइमा परिसकेको भान हुन्छ । यदि यसलाई निरन्तरता दिने र आएका स्वदेशी पर्यटक सन्तुष्ट बनाएर फर्काउने हो भने यसलाई स्वदेशी पर्यटनको गन्तव्यमा विकास गर्न सकिने संभावना बढेर गएको छ ।

नेपालको पर्यटकीय प्रदेश कर्णालीको पनि पर्यटकीय जिल्लामा रहेको मुगुस्थित रारा ताल मुलुुककै पर्यटनको आकर्षणका रुपमा गणनामा आउने ताल हो । रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हेर्दा यसको भविष्य उज्ज्वल देखिन्छ ।

रारा स्टेको माग :

स्वदेशी पर्यटकको आगमनमा बृद्धि भएसँगै राराको वरिपरि रहेका होटेल तथा रेष्टुराँहरुले पर्यटक धान्न सकिरहेका छैनन् । यहाँ बसाइको अभाव हुन थालेको छ । तर पनि हवाइ र सडकमार्गबाट रारा आउने पर्यटकको संख्यामा भने लगातार बृद्धि भैरहेको छ । सिंगो रारा क्षेत्र नै आन्तरिक पर्यटकले भरिभराउ हुन थालेपछि रारा राष्ट्रिय निकुञ्जका अधिकारी यसको आगामी दिनमा व्यवस्थापन कसरी हुने हो भन्ने कुरामा चिन्तित हुन थालेका छन् ।

रारा दहको नजिक रहेका मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको बासस्थानको व्यवस्थापनबारे सोचिनु पर्ने छलफल चलिरहेको छ । यसभन्दा पहिले रारा तालकै वरिपरि होटल तथा रेष्टुराँहरु खोल्न अनुमति दिने संकेतसहित सरकारले निर्णय लिएपछि यसको स्थानीय जनताबाट चर्को आलोचना भएको थियो ।

स्वदेशी पर्यटकलाई पनि सेवा पुर्याउनै धौ :

हाल रारा भ्रमणका लागि राजधानी सहर काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगरलगायतका स्थानबाट स्वदेशी पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ । मुगु बाहिरबाट रारा घुम्नका लागि जुन उत्साह र उमंग बोकेर मानिसहरु जाने गरेका छन्, त्यसमा बासस्थानको अभावले गहिरो गरी ठेस पुर्याउने गरिरहेको छ ।

रारा वरिपरि दुई पर्यटकीय होटलसहित घरवास सञ्चालन गरिए पनि त्यहाँ पुगेका पर्यटक राख्न सकिने ठाउँको अभाव छ । त्यहाँ पुगेका पर्यटकको गुनासो छ- त्यहाँ बस्नका लागि राम्रा होटेल छैनन् । तर रारा घुम्न आउने पर्यटकको संख्या बढेपछि होटल संचालक, घोडा व्यवसायी र डुङ्गा चालकलाई भने भ्याइनभ्याइ हुने गरेको छ । घोडामार्फत् पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको छ ।

चैत्रमा पर्यटक संख्या ह्वात्तै बढ्यो :

चैत लागेसँगै गर्मी पनि बढ्दै जान्छ । रारा वरिपरिका क्षेत्र रमणीय र मधुर लाग्न थाल्छन् । यसै अवसर पारेर सामान्यतः रारामा स्थानीय मानिसको पनि घुमघाम बढ्न थाल्छ । तर यस वर्षभने चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटकको संख्या अकल्पनीय रुपमा बढ्न थालेको छ । चालु आर्थिक वर्षको आठ महिनामा चार हजार चार सय नौ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा तालको अवलोकन तथा भ्रमण गरेको रेकर्ड त्यहाँको रारा निकुन्जले राखेको छ ।

कोरोना भयरहित देखिन्छ आन्तरिक पर्यटन :

अहिले कोरोना संक्रमण फैलिएको एक वर्ष पुगेको छ । कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन निकै कम भएको छ । तर पनि आन्तरिक पर्यटन भने फस्टाउँदो अवस्थामा छ । नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकको बाक्लै उपस्थिति भैरहेको छ । दैनिक १५० भन्दा बढि आन्तरिक पर्यटक रारा घुम्न आउँदा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७८० रुपैया राजश्व संकलन गरिसकेको छ ।

रारा पुग्ने सडक र हवाइ मार्ग :

पछिल्लो समयमा रारा पुग्नका लागि नाग्म-गमगढी सडक फराकिलो र ग्राभेल बनाइएको छ । रारा पुग्न गाडीमार्फत् सकिने भएपछि त्यहाँ आउने पर्यटकको संख्या स्वाभाविक रुपमा बृद्धि हुन गएको हो । हवाइजहाजले पनि मुगुमा नियमित दुई-तीन उडान भर्ने भएकाले त्यहाँ भित्रने पर्यटकको संख्यामा बढ्न थालेको हो । पछिल्लो समय मोटरसाइकलको यात्रा पनि निकै बाक्लो हुँदै गएको छ । गाडी रिर्जभ गरेर काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउनेको लहर पनि कम छैन । हवाईमार्गबाट आउने पर्यटकको चाप ताल्चा विमानस्थलमा पुग्दा सहजै अनुमान गर्न सकिन्छ ।